इन्टर मिलानको लगातार दोस्रो जित

विदुर खबर २०७८ भदौ १२ गते ६:५२

एजेन्सी । इटालियन सिरिज ‘ए’ मा साविक विजेता इन्टर मिलानले लगातार दोस्रो जित हात पारेकाे छ ।

Advertisement

शुक्रबार राति भएको खेलमा घरेलु टोली हेलास भेरोनालाई ३-१ गोल अन्तरले हराउँदै इन्टरले लगातार दोस्रो जित निकालेको हो ।

इन्टरको जितमा तीन वटै गोल कोपा अमेरिकी विजेता अर्जेन्टिनाका स्टार खेलाडीले गरेका थिए । जोआक्विन कोरियाले दुई गोल गर्दा लौटारो मार्टिनेजले एक गोल गरेका थिए । पराजित भेरोनाको लागि इभान इलिकले एक सान्त्वना गोल गरे ।

Advertisement

खेलमा अग्रता भने घरेलु टोली भेरोनाले बनाएको थियो । उसका इभानले १५ मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा अग्रता जोगाएको भेरोना दोस्रो हाफमा भने निरीह रह्यो ।

लौटारो मार्टिनेजले ४७ मिनेटमा गोल गर्दै खेल बराबरीको स्थितिमा ल्याए । खेलको ८३ र थपिएको ४ मिनेटमा गोल गर्दै परिवर्तित खेलाडी कोरियाले टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए ।

Advertisement

जित सङै २ खेलबाट ६ अंक बनाएको इन्टर शिर्षस्थानमा रहेको छ । यता भेरोना भने २ खेलबाट बिना अंक १८ औं स्थानमा छ ।

इटालियन सिरि ए मा शनिबार ४ खेल रहे।

प्रतिक्रिया