इन्डोनेसिया भूकम्प : मृत्यु हुनेको संख्या ९८ पुग्यो, हजारौँ घर ध्वस्त

विदुर खबर २०७५ साउन २२ गते १४:३२

मताराम– इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ पुगेको छ। सयौं मानिस घाइते तथा घरबारविहिन भएका छन्।

सरकारी अधिकारीहरुले भूकम्पका कारण विचल्लीमा परेका झण्डै २ हजार पर्यटकहरूलाई पनि उद्धार गरी फिर्ता गरिएको जनाएका छन्।

भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त भएका छन् भने चौतर्फी असर परेको र मानिसहरु त्रसित अवस्थामा रहेको समाचारमा जनाइएको छ।

इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार बेलुका ६ दशमलब ९ म्याग्निच्युडको भूकम्प गएको हो।

अमेरिकी जियोलोजिकल सर्भेले भने ७ म्याग्निीच्युडको भूकम्प गएको बताएको थियो। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १० दशमलब ५ किलोमिटर मुनि रहेको थियो।

इन्डोनेसियाको मौसम विज्ञान विभागले समुद्री सतहको अध्ययनपछि सुनामीको खतरा नरहेको जनाएको छ।

त्रसित मानिस रातारात अग्ला सुरक्षित स्थानहरुमा पुगेका थिए। बाली र लोम्बोकको विमानस्थल पूर्ववत रुपमै आइतबार रातिदेखि सञ्चालनमा रहेका छन्।

भूकम्प आएको आधा घण्टा विमानस्थलमा पनि विद्युत कटौती भएकोले अन्यौल छाएको थियो। भूकम्पबाट प्रभावितहरूलाई राहत तथा उद्धारका कामहरु पनि भइरहेको छ।

यही क्षेत्रमा गत साता आएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्पले १६ जनाको मृत्यु हुनुका साथै घरहरु भत्किएका थिए।

प्रशान्त क्षेत्रीय बेसिनमा अवस्थित इन्डोनेसिया ज्वालामुखी र फल्ट लाइनका कारण भूकम्पको उच्च जोखिममा रहेको छ।

२००४ डिसेम्बरमा इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर गएको ९ दशमलब १ म्याग्निच्युडको भूकम्पले शक्तिशाली सुनामी आएको थियो। जसका कारण एक दर्जन तटीय मुलुकका २ लाख ३० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो। रासस/एएफपी

प्रतिक्रिया