बजेट प्रतिस्थापन गर्ने तयारीमा अर्थमन्त्री शर्मा

विदुर खबर २०७८ साउन ७ गते १०:०१

नुवाकोट । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशबाट ल्याएको बजेटलाई नव-नियुक्त अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन गर्ने तयारी गरेका छन्।

Advertisement

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वअर्थमन्त्री पौडेलले आफ्नो गृह जिल्लामा खन्याएको रकम कटौती गर्ने तयारी गरेका छन्।

गत जेठ १५ गते तत्कालिन अर्थमन्त्री पौडेलले तत्कालिन प्रधानमन्त्री ओलीलाई खुशी पार्न उनको गृह जिल्ला झापाको खासगरी दमकमा मनग्य रकम विनियोजन गरेका थिए। त्यसैगरी, तत्कालिन अर्थमन्त्री पौडेलले ‘आफ्नै हात जगन्नाथ’ भन्दै आफ्नो गृह जिल्ला रुपन्देहीमा पनि बढी बजेट विनियोजन गरेका थिए।

Advertisement

तत्कालीन प्रधानमन्त्री ओलीको गृह जिल्लामा अध्यादेशबाट ल्याएको चालु आर्थिक वर्षको बजेटमार्फत ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी, तत्कालीन अर्थमन्त्री पौडेलले पनि आफ्नो गृह जिल्लामा ६ अर्ब ८२ करोड ९० लाख रुपैयाँ विनियोजन गरेका छन्।

तत्कालीन अर्थमन्त्री पौडेलले चुनावलाई लक्षित गरी बजेट ल्याउँदा तत्कालीन प्रधानमन्त्री ओली र ‘आफ्नै हात जगन्नाथ’ गरेको पाइएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले उक्त क्षेत्रमा गएको बजेट कटौती गर्ने तयारी गरेको हो। पूर्वप्रधानमन्त्री र पूर्वअर्थमन्त्रीका जिल्लामा गएको रकमलाई भौगोलिक रुपमा विकट र विकासमा पछाडि परेका क्षेत्रमा विनियोजन गर्ने तयारी अर्थमन्त्रालयले गरेको छ।

Advertisement

पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको थियो। उक्त रकममध्ये अधिकांश रकम पहुँचवाला व्यक्तिको गृह जिल्लामा विनियोजन गरेको थियो। त्यस्तै, एमालेका नेता तथा सांसद महेश बस्नेत, गोकुल बास्कोटालगायतका गृह जिल्लामा बढी रकम विनियोजन गरिएको छ। त्यस्तो रकम कटौती प्रतिस्थापन बजेटमा गर्ने तयारी अर्थमन्त्री शर्माले गरेका छन्।

पूर्वअर्थसचिव रामेश्वर खनालले पहुँचवाला व्यक्तिको गृह जिल्लामा गएको रकम कटौती गरेर अन्य क्षेत्रमा पठाउन सकिने बताए। ‘पूर्व अर्थमन्त्री विष्णु पौडेलले आफ्नो क्षेत्रमा लगेको रकम र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्षेत्र दमकतिर लगेको कार्यक्रम कटौती गर्न सकिन्छ,’ उनले भने, ‘त्यसरी कटौती गर्दा पनि जुन आयोजनाको तयारी वा अध्ययन भएको छैन त्यस्ता आयोजनामा विनियोजन गरेको रकम अन्यत्र लैजान वा कटौती गर्न सकिन्छ।’

पूर्वअर्थसचिव खनालले राजश्व र करका दरमा भने परिवर्तन गर्न सकिने सम्भावना नभएको पनि बताए। ‘कर र राजश्व गत जेठ १५ गते ४ बजेदेखि नै लागु भए,’ उनले भने, ‘अहिले त्यसमा परिवर्तन गर्न सकिने सम्भावना हुँदैन।’

चालु आर्थिक वर्षको बजेटलाई धेरै प्रतिस्थापन गर्न नसकिने पनि पूर्वअर्थसचिव खनालले बताए। ‘दातृ निकायको सहयोगमा निर्माण हुन लागेका आयोजनामा घटाउन पनि मिलेन, बढाउन पनि काम गर्ने क्षमता छैन, यसमा परिवर्तन गर्ने सम्भावना नै छैन,’ उनले भने, ‘त्यसैगरी, रक्षा, गृह, परराष्ट्र मन्त्रालयमा नियमित कामका लागि प्रवन्ध गरेको तलब भत्ता काट्न सकिदैन, बढाउन पनि आवश्यक छैन।’

त्यस्तै, सरकारले भुक्तानी गर्ने ऋण र ब्याज घटाउन र बढाउन पनि नमिल्ने पूर्वअर्थसचिव खनालले बताए। ‘नेपाल सरकारका कर्मचारीको तलब भत्ता, पेन्सन, सामाजिक सुरक्षा भत्ता, त्यसपछि प्रदेश र नगरपालिकालाई गइसकेको अनुदान पनि कटौती गर्न सकिदैन,’ उनले भने, ‘विनियोजन गरिएको रकम कतिपय कार्यान्वयनमा गइसकेको छ।’ त्यसैले पूर्वअर्थमन्त्री पौडेलले ल्याएको बजेटमा भएका धेरै जसो कार्यक्रमहरु परिवर्तन गर्न सक्ने सम्भावना नभएको खनालको भनाइ छ।

श्वेतपत्र लेखनमा तल्लिन

नव-नियुक्त अर्थमन्त्री जनार्दन शर्मा यतिबेला श्वेतपत्र लेखनको गृहकार्यमा तल्लिन छन्। अर्थमन्त्रीका सहयोगीहरुले श्वेतपत्र लेखनमा सहयोग पुर्याइरहेका छन्।

नेपाल राष्ट्र बैंकका लामो समय कार्यकारी निर्देशकमा रहेर काम गरेका र पछि योजना आयोग उपाध्यक्ष भइसकेका डा. मीनबहादुर श्रेष्ठ र अर्थशास्त्री डा. सुरेन्द्र उप्रेतीलगायतको समूहले श्वेतपत्र लेखनको काम शुरु गरिसकेका छन्। अर्थमन्त्रीको प्रत्यक्ष निगरानीमा श्वेतपत्रको खेस्रा तयार पारिदैछ। त्यसलाई अन्तिम रुप दिएर १५ दिन भित्रै सार्वजनिक गर्ने तयारी भइरहेको अर्थमन्त्रालय स्रोतको भनाइ छ।

मुलुकको वर्तमान अर्थतन्त्रको यथार्थ तस्बीर देखाउने र आगामी दिनका लागि मार्गदर्शन हुने गरी अर्थमन्त्री शर्माले श्वेतपत्र जारी गर्दैछन्। पूर्वअर्थमन्त्री युवराज खतिवडाले श्वेतपत्र जारी गरेका थिए। तर, उनले आफू अनुकुल मुलुकको अर्थतन्त्रको आंकडा सार्वजनिक गरेको भन्दै आलोचना सहनु परेको थियो।

प्रतिक्रिया