फेरि ‘वाकयुद्ध’मै उत्रिए ओली दाहाल

विदुर खबर २०८२ मंसिर ४ गते ८:२९

नुवाकोट । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच एकताभन्दा धेरै संघर्ष हुँदै आएको छ ।

Advertisement

दुई नेताबीच निरन्तर ‘वाकयुद्ध’ चल्दै आएको छ । एउटै पार्टी र सरकारमा रहेको बेला पनि नमिलेका यी दुई नेता यतिबेला एकअर्कालाई ‘राजनीतिक दुश्मन’ को रुपमा हेर्दै आएका छन् ।

दाहालले तत्कालीन प्रधानमन्त्री ओलीको अहंकारका कारण जेन–जी आन्दोलन भएको र ठूलो मानवीय क्षति भएको भन्दै त्यसको जिम्मेवारी उनैले लिनुपर्ने बताउँदै आएका छन् । ओलीले ‘सत्ताका लागि जोसँग पनि सम्झौता गर्ने’ भन्दै दाहाल सत्ताभोगी भएकाले मुलुकमा राजनीतिक अस्थिरता भएको आरोप लगाउँदै आएका छन् ।

Advertisement

ओलीले जेन–जी आन्दोलनको अर्को दिन भदौ २४ मा सरकारी संरचना र निजी आवासमा आगजनी, तोडफोड गर्न दाहालले माओवादी पूर्व ‘छापामार’ खटाएको बताएका थिए । यी दुई नेताबीच आरोप प्रत्यारोपको श्रृंखला जारी छ । बुधबार ओलीले नवगठित नेपाली कम्युनिस्ट पार्टीलाई ‘वृद्धाश्रम’ को संज्ञा दिए । उनी अझ अघि बढेर एमालेको पृष्ठभूमि भएका नेताहरुले दाहाललाई घेरेको उल्लेख गर्दै एक दिन दाहालको नेतृत्व खोस्ने दाबी गरे ।

‘नेकपा एमाले प्रचण्ड जस्तो संकटग्रस्त पार्टी होइन । कहीं काम गर्न नसकेपछि कताबाट कता गए, कताबाट कता गए । पार्टी पनि चलेन, केही पनि भएन भनेपछि बुढाबुढी ल्याएर वृद्धाश्रम खोलेको जस्तै, टुँडिखेलमा भात बाँड्थे नि एकपल्ट बाबुराम भट्टराईहरूले, त्यस्तै गरेर भात बाँड्ने ठाउँ बनाउने यो त्यस्तो पार्टी होइन’ ओलीले बुधबार उपत्यकाका स्थानीय जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै भने, ‘यो देशका लागि लड्ने पार्टी हो, यो वृद्धाश्रम होइन । त्यसकारण एकताका नाममा काम नगर्नेखालका मान्छेहरू, अहंकारले भरिएका मान्छेहरू थुपारेर । अब देख्छन् प्रचण्डले, अब देख्छन् । एक ढंगले भन्ने भने म त एकदम खुसी छु ।’

Advertisement

उनले नेकपामा दाहालपछि वरीयतामा आफ्नै पूर्व साथीहरुले माओवादी सिध्याउने बाटोमा अघि बढेको बताए । ‘दोस्रो नम्बर मेरै साथी, तेस्रो नम्बर मेरै साथी, चौथो नम्बर मेरै साथी, छ नम्बर मेरै साथी । अब देख्छन् प्रचण्डले मेरा साथी कस्ता छन् । मेरा साथीले त प्रचण्डलाई घेरिसके । माओवादी पार्टी विघटन गराइसके । काम गरेका छन् । माओवादी पार्टी सिध्याइदिए,’ उनले भने, ‘अब प्रचण्डहरू माओवादी पार्टीका होइनन् । हाम्रा साथीहरूले गरेकै छन् र अझै गर्छन् । शुभकामना छ, हाम्रा साथीहरु जो गएका छन्, सफल होउन् र राम्रो होस् । दोस्रो, तेस्रो मात्र होइन, पहिलो, दोस्रो होउन् । मेरो शुभकामना छ । अलिअलि साथ म पनि दिन्छु ।’

दाहाले कात्तिक २६ मा एमाले पूर्व उपाध्यक्ष भीम रावललाई नेकपामा भित्र्याउँदा ओलीलाई हावा कुरा गर्ने नेता भएको आरोप लगाएका थिए । नेपाली कम्युनिस्ट पार्टीमा १२ वटा राजनीतिक दलहरू समाहित भइसकेको दाहालको भनाइ छ । ‘१२ वटा समूह एक ठाउँमा आइसक्यौं,’ उनले भनेका थिए, ‘केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन् ।’

एमालेको नेतृत्वमा ओली रहेसम्म एकता नहुने दाहालले भन्दै आएका छन् । ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन । तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ,’ उनले असोज २९ मा धादिङमा कार्यकर्तासँग भनेका थिए ।

२०८१ असारमा कांग्रेस एमाले गठबन्धन बनेपछि ओली प्रधानमन्त्री भएपछि दाहाल आक्रामक रुपमा प्रस्तुत भएका थिए । त्यसअघि दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री भएका थिए । कांग्रेस एमाले गठबन्धन सरकारका प्रधानमन्त्री ओलीविरुद्ध सदन र सडकबाट संघर्ष गर्ने त्यतिबेला प्रमुख प्रतिपक्ष माओवादी केन्द्र थियो । दाहालले ‘बिचौलिया’ को ओली सरकार भएको आरोप मात्र लगाएनन्, भ्रष्टाचारविरुद्ध काम गरेकाले आफ्नो सरकार ढलेको दाबी समेत गरेका थिए ।

माओवादी सशस्त्र युद्धको कटु आलोचक थिए केपी ओली । माओवादी शान्ति प्रक्रियामा आएपछि आलोचना गर्न छाडेनन् । २०६४ को संविधानसभामा पहिलो पार्टी भए पनि माओवादीका मुद्दाको विरोधमा रहे । उनले संविधान निर्माणका क्रममा माओवादीले अघि सारेको संघीयता मोडल, राजनीतिलाई ठाडै अस्विकार गरेका थिए । माओवादीले पनि ओलीलाई आफ्नो प्रमुख विरोधी नेताको रुपमा ठान्दै आएको थियो ।

जेन–जी आन्दोलनअघि पनि तत्कालीन प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्ष दलका नेता दाहाल सदन र सडकमा आमनेसामने थिए । दाहालले कांग्रेससितको गठबन्धन तोडेर २०८० फागुनमा एमाले अध्यक्ष ओलीसँग पुनः सहकार्य थालेका थिए । तर त्यो गठबन्धन पाँच महिना पनि टिकेन । २०८१ असारमा कांग्रेस एमालेबीच गठबन्धन बनेपछि त्यो सहकार्य टुट्यो । दुवै नेता एकअर्काविरुद्ध सडक, सदन, सभामा उत्रिए । त्यो क्रम हाल पनि जारी छ ।

एमाले अध्यक्ष केपी ओली र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालको स्वार्थका कारण ०७४ को निर्वाचनमा गठबन्धन गरे । चुनावमा अत्यधिक बहुमत ल्याएपछि ३ जेठ ०७५ मा पार्टी एकता नै गरेका थिए । एमाले र माओवादीबीच एकता भई बनेको नेकपामा दुई नेताको शक्ति संघर्षमा उत्कर्षमा पुग्यो । त्यसपछि दाहालले ०७७ फागुनमा एमाले ओली दाहालको सम्बन्ध विच्छेद भयो ।

विगत फर्केर हेर्दा दाहालले १७ पटकसम्म प्रधानमन्त्रीमा बहुमत पुर्‍याउन नसक्दा क्रमभंग गरेर ०६७ मा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गरेका थिए ।

०६७ माघमा संसद्मा प्रधानमन्त्रीको दौड छाडेर उनले तत्कालीन एमाले अध्यक्ष खनाललाई प्रधानमन्त्री बनाएका थिए । उनले त्यसबेला आफ्नै बलबुताले सरकार बनाएको दाबी गरेका थिए । खनालाई प्रधानमन्त्री बनाएकोमा ओलीलाई मन परेको थिएन । त्यो सरकारको उनी बिरोधीको रुपमा रहेका थिए ।

तत्कालीन कांग्रेस सभापति सुशील कोइराला सरकार बाहिरै बसेको माओवादीले ०७२ असोजमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनायो । ओली र दाहालको सहकार्य सुरु भएको त्यही बेला हो । शक्ति संघर्ष चर्किँदै जाँदा ओलीसँग असमझदारी भएपछि दाहालले जेठ ०७३ ओली सरकार ढालेका थिए । त्यसपछि दाहाल कांग्रेससँग सहकार्य गर्न पुगे । ०७३ साउनमा कांग्रेससित सहकार्य गरी दाहाल आफैं दोस्रोचोटी प्रधानमन्त्री बने । १० जेठ ०७४ मा राजीनामा दिएर बाटो खुला गरेपछि देउवा प्रधानमन्त्री बने ।

०७४ मंसिरमा आम चुनावको मुखमा वापमन्थी एकता भन्दै उनले एमालेसँग चुनावी गठबन्धन गरे । ०७५ जेठमा पार्टी एकता गरी नेकपा बनाए । तीन वर्ष नपुग्दै ओलीसाग शक्ति संघर्ष चर्कियो । २०७७ फागुनमा सर्वोच्चले नेकपा सम्बन्धी विवादको रिटमा फैसला गर्दै एमाले–माओवादी अलग गरिदिएपछि ओली र दाहाल आ–आफ्नो बाटो लागेका थिए ।

दाहाल ०६५ साउनमा सबभन्दा ठूलो दलको नेताका रूपमा प्रधानमन्त्री भएका तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई कारबाही गर्न खोज्दा नौ महिनामै सरकारबाट बाहिरिए । ०६६ वैशाखमा प्रधानमन्त्रीबाट अकस्मात् राजीनामा गरेपछि दाहालले धेरै बाइरोडको बाटोजस्तै दायाँबायाँको राजनीति गरिसकेका छन् । त्यो राजनीति अहिले पनि जारी छ । ओली–दाहालको वाकयुद्ध पनि चलिरहेको छ ।

कान्तिपुर दैनिकबाट ।

प्रतिक्रिया