नेपाली बजार र सामाजिक सञ्जालमा तीजका गीत चम्कन थाले,फरक परिवेशमा तीजगीत

विदुर खबर २०७५ साउन २० गते १५:२०

मीना घोरसाइने 
काठमाडौँ, हरितालिका तीज आउन अझै एक महिना बाँकी भए पनि नेपाली बजार र सामाजिक सञ्जालमा तीजका गीत चम्कन थालेका छन् ।

Advertisement


कुनै दिन ‘पोइला जान पाम’ नामक तीजगीतबाट झनै चर्चामा रहनुभएका सांसद कोमल ओलीको ‘माननीयज्यू’ बोलको तीजगीत पनि अहिले चर्चामा छ । ओली र पशुपति शर्माको स्वरमा रहेको सो गीतले नेपालको वर्तमान राजनीतिमा रहेको समस्यालाई देखाउन खोजेको छ । गायिका ओली भन्नुहुन्छ, “यो विशुद्ध गीत मात्र होइन, हाम्रो राजनीतिक प्रतिबद्धता पनि हो,” उहाँ थप्नुहुन्छ, “संगीत मेरो लत हो, राजनीति सेवा ।” आफूले गीतमा भनेजस्तै देशका लागि पनि आफूले केही गर्न चाहेको उहाँले बताउनुभयो ।
लामो समयदेखि गायनमा निरन्तर ओली तीजका गीतलाई समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्छ भन्ने धारणा राख्नुहुन्छ । केही हप्ताअघि मात्र युट्युबमा राखिएको माननीयज्यू बोलको तीजगीतलाई अहिलेसम्म लगभग दश लाखले हेरिसकेका छन् ।
सो गीतका बारेमा धुन नेपाल लेख्छ, “नेपाली गीतसंगीतमा एकछत्र राज गर्न सफल आदरणीय दाइ पशुपति शर्माका यस्तै यस्तै गीतले नै समाज परिवर्तनमा टेवा पुगेको छ । पशुपति दाइलगायत कोमल ओली दिदीलाई पनि धेरै धेरै धन्यवाद, अनि बधाई तथा शुभकामना ।”
पहिले महिलाले मात्र तीजगीत गाउने प्रचलन रहेकामा अहिले पुरुषले पनि तीजका गीत गाउन थालेका छन् । तीजगीत मात्र नभई अन्य गीत सन्देशमूलक खालका हुनुपर्ने पुराना लोकगायक मच्छेश्वर सापकोटा बताउनुहुन्छ । “गीतहरु यस्ता हुनुपर्छ जसले समाजलाई परिवर्तन गरोस्,” सापकोटा भन्नुहुन्छ, “अहिले केही समाजलाई विकृत बनाउने खालका गीत पनि आएका छन्, तिनलाई सुन्दा दुःख लागे पनि केही सन्देशमूलक गीत सुन्दा भने खुशी नै लाग्छ ।” उमेर ढल्कँदै गए पनि आफूले गीतसंगीतलाई निरन्तरता दिँदै गएको उहाँले बताउनुभयो ।
पौराणिककालमा पार्वतीले महादेवलाई पति पाऊँ भनी तीजको व्रत बसेको र पार्वतीले महादेवलाई पतिका रुपमा पाएको पौराणिक कथानुसार अविवाहित महिलाहरु आफूले खाएको पति पाऊँ भनी व्रत बस्छन् भने विवाहिताहरु पतिको दीर्घायुको कामना गर्दै व्रत बस्छन् ।

आजभोलि तीजगीतलाई मनोरञ्जन र व्यावसायिक हिसाबले निकै महत्व दिइने गरेको छ । तीजका गीतमा अघिल्ला वर्षमा निकै छाडापन आएको थियो । यस वर्ष भने तीज गीतमा केही परिवर्तन आएको छ –
आज मलाई जानु थियो तीजको खान दर
यही बेलामा जानुपर्ने आमा लिन घर
उतै गाउँमा बस्थिन् बूढी किन ल्याउनुप¥यो शहर
तिम्रा भाइ छन् हुने खानी हामलाई केको कर ?
आमा बोलको यो तीजगीतलाई सन्तोष केसी र राधिका हमालले गाएका छन् । विशेष गरी समाजको यथार्थलाई यस गीतले चित्रण गर्न खोजेको छ । सासूबुहारीको झगडाको प्रसङ्गलाई लिएर यो गीतको सिर्जना गरेको देखिन्छ ।
विगतका वर्षमा भने तीजका समयमा प्रेमका गीतले बढी प्राथमिकता पाएका थिए । प्रेमलाई मात्र देखाउने तीजका गीतभन्दा यस वर्षको गीतमा भने विवाहपछि उत्पन्न हुने समस्यालाई दर्शाउन थालेको देखिन्छ । तीज आउनुभन्दा तीन महिनाअघिदेखि नै दर खाने प्रवृत्तिलाई समेत तीजका गीतले देखाउन थालेका छन् –
रातै पर्न लाग्यो दिदी तिमीलाई नै पर्खिँदा
रक्सी चाहिन्छ भन्छ्यौ अरे तीजमा गीत गाउँदा

Advertisement


भूमिका गिरी र ज्योति मगरले गाएको यस गीतमा लोकगीतमा देखिएको विकृतिलाई देखाइएको छ । युट्युबमा साढे पाँच लाखले हेरिसकेको यस गीतमा न छोटा छोटा लुगा लगाउने विसंगतिका बारेमा देखाइएको छ ।
यही भदौ २७ गते आउन लागेको तीजका लागि यस वर्ष सयौंँ गीत बनिसकेका छन् । पहिले तीजका गीतमा भएको विकृतिभन्दा अहिलेको वर्ष धेरै सुधार आएको देखिन्छ । तीजगीतमा भएको परिवर्तनले लोकगीतलाई समेत सकारात्मकतातर्फ लगेको देखिन्छ । नयाँ पुस्ताकी भए पनि शर्मिला थापा तीजगीत निकै रुचाउनुहुन्छ । तीज आफूलाई निकै मन पर्ने पर्व भएकाले तीजगीतको छुट्टै महत्व लाग्ने उहाँले बताउनुभयो । “तीजका गीत बजारमा आएपछि मात्र तीज आउन लागे जस्तो लाग्छ”, थापाले भन्नुभयो ।

प्रतिक्रिया