सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !

विदुर खबर २०८२ कार्तिक २७ गते १६:१०

नुवाकोट । ‘उहाँको अजेन्डा भनेको चुनाव मात्र हो, हाम्रो एजेन्डा देशलाई न्याय हो। परिवर्तन हो’, बिहीबार बिहानै आफूलाई जेन–जी नेता दाबी गर्दै आएका हामी नेपालका संस्थापक सुदन गुरुङले यसरी गृहमन्त्री ओमप्रकाश अर्याल र सरकारविरुद्ध आक्रोश पोखे।

Advertisement

उनले अगाडि थपे,‘हामी फेस परिवर्तनको लागि मात्र लडेको होइन, व्यवस्था परिवर्तनका लागि लडेको हो। यो व्यवस्थामा चुनावमा जान सकिन्छ होला त?’

देशलाई फागुन २१ गतेको निर्वाचनमा होम्याउने कोसिस भइरहेका बेला सुदनले दिएको यो अभिव्यक्तिलाई सामान्य मान्न सकिन्न। भदौ २३ को जेन–जी आन्दोलन र २४ गतेको विध्वंसपछि भदौ २७ गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा ‘६ महिनामा निर्वाचन प्रयोजन’का लागि अन्तरिम सरकार बन्दा सुदन प्रमुख ‘स्टेकहोल्डर’का रूपमा देखा परेका थिए।

Advertisement

उनी जेन–जी आन्दोलनअघि धेरैका लागि अपरिचित अनुहार थिए। भदौ २७ गते कार्की प्रधानमन्त्री नियुक्त हुँदा उनी एकाएक राष्ट्रपति कार्यालयमा देखिए। त्यसअघि विदेशी सञ्चारमाध्यममा उनी ‘आन्दोलनको नेता’का रूपमा छाइसकेका थिए। विशेष गरी भारतीय र पश्चिमा सञ्चारमाध्यमले उनलाई शीर्ष स्थान दिइरहेका थिए।

प्रधानमन्त्री कार्कीले आफ्नो नियुक्ति लगत्तै आन्दोलनरत पक्ष जेन–जी नेताको रूपमा राष्ट्रपति कार्यालय पुगेका सुदनलगायतको टोलीसँगै हात उचालेर खुसी पनि साँटासाँट गरेकी थिइन्। त्यसै क्रममा सुदनले प्रधानमन्त्री कार्कीको खुट्टा ढोगेर पनि चर्चा कमाएका थिए।

Advertisement

त्यसपछिका सार्वजनिक अभिव्यक्तिमा सुदनले आफ्नै जोडबलमा कार्की प्रधानमन्त्री र उनको नेतृत्वमा सरकार बनेको दाबी गर्दै आएका छन्।

जेन–जी आन्दोलनपछि विकसित घटनाक्रम सामान्य बनाउन नेपाली सेनाको जंगी अड्डा र राष्ट्रपति कार्यालयमा भएका प्रयासहरूमा उनका मर्यादित/अमर्यादित गतिविधि पनि राजनीतिक वृत्तमा चर्चाका विषय बनेकै छन्।

उसो त प्रधानमन्त्रीमा कार्की नियुक्त भएको केही दिनमै मध्यरातमा बालुवाटारस्थित सरकारी निवासबाहिर पुगेर सुदनले राजीनामा माग्दै नाराबाजी पनि गरेका थिए।

सुदन गुरुङलाई ‘सुरक्षा चुनौती’ : एकपछि अर्को आक्रमक अभिव्यक्तिले चर्चाको केन्द्रमा छन् सुदन
त्यसपछिका सरकारका सबैजसो गतिविधिमा सुदनको प्रत्यक्ष/अप्रत्यक्ष संलग्नता रहँदै आएको सुनिन्छ।

कतिसम्म भने सरकारी निकायका महत्त्वपूर्ण बैठकमै प्रवेश गरेर सरकारका अधिकारीहरूलाई ‘निर्देशन’ दिनेसम्मका गतिविधिमा उनी संलग्न देखिएका छन्। सँगै आफूले भनेअनुसार काम नगर्नेलाई ‘ठेगान’ लगाउने चेतावनी नै दिँदै हिँडेका सुनिन्छन्। उनका यस्ता गतिविधिको आलोचना पनि भइरहेकै छ।

यस कारण भड्किए

असोज २० गते बिहानैदेखि सुदनलगायत जेन–जी अभियन्ताहरूले सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध ‘एरेस्ट क्याम्पेन’ चलाएका थिए।

भदौ २३ को घटनामा जेन–जीको हत्या गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै उनीहरूले दबाब सिर्जना गर्न त्यो क्याम्पेन चलाएका थिए।
उसो त ओली र लेखकलाई तत्कालै पक्राउ गर्नुपर्नेमा प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याल पनि थिए। कतिपयले प्रधानमन्त्री र गृहमन्त्रीकै इशारामा जेन–जी अभियन्ताले ‘एरेस्ट केपी÷लेखक क्याम्पेन’ चलाएको पनि दाबी गर्छन्।

दिउँसो प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालकै अनुमतिमा सुदनको समूह ओली र लेखकविरुद्ध किटानी जाहेरी लिएर जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेको थियो। विश्वस्त स्रोतको दाबीअनुसार प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा त्यो काम भएको थियो।

तर, प्रहरीले त्यो दिन जाहेरी लिनै मानेन। प्रहरीले भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनेको र त्यो विषय आयोगको क्षेत्राधिकारभित्र पर्ने भन्दै जाहेरी लिन अस्वीकार गरेको थियो।

त्यसपछि गृहमन्त्री अर्यालले नेपाल प्रहरीका तत्कालीन प्रहरी महानिरीक्षक(आइजिपी) चन्द्र कुवेर खापुङलाई दबाब नै दिए। लिखितै दिएको दबाब पनि आइजिपी खापुङले अस्वीकार गरे।

त्यसपछि सोही दिन प्रधानमन्त्री कार्कीको उपस्थितिमा बालुवाटारमा गृहमन्त्री अर्यालसहित सबै सुरक्षा निकायका प्रमुखसहितको बैठक बस्यो। रातभर बसेको बैठकमा सुरक्षा निकायका अधिकारीहरूले तत्काल ओली र लेखकलाई पक्राउ त परको कुरा जाहेरी पनि दर्ता गर्न नहुने सुझाव दिए। आइजिपी खापुङले त ओली र लेखकविरुद्ध जाहेरी दर्ता भए भदौ २४ गतेको विध्वंसलाई लिएर भोलि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, सुदन गुरुङलगायतका अन्य व्यक्तिविरुद्ध जाहेरी आए के गर्ने? भनेर समेत प्रश्न गरेका थिए। बालेन पनि सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेका पात्र थिए।

त्यसपछि प्रधानमन्त्री कार्की ‘ब्याक’ भएकी थिइन्, भने गृहमन्त्री अर्याल शस्त्रविहीन बन्न पुगेका थिए।

सोही बैठकको समीक्षाअनुसार दोस्रो दिन असोज २१ गते सुदनको समूह फेरि ओली र लेखकविरुद्ध जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुग्यो, परिसरले जाहेरी बुझेर जाँचबुझ आयोग पठाइदियो। सँगै नेकपा एमालेनिकट अनेरास्ववियुले पनि बालेन र सुदनविरुद्ध जाहेरी दियो, उक्त जाहेरी पनि प्रहरीले जाँचबुझ आयोगमै पठाइदियो। त्यसपछि एमालेका संघसंगठनले देशभरिबाटै बालेन र सुदनविरुद्ध जाहेरी दिए। कतिपय ठाउँमा प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालविरुद्ध नै हिंसालाई भड्काएको आरोप लगाउँदै उजुरी परेको छ।

उता जाँचबुझ आयोगले फौजदारी प्रकृतिका मुद्दा अनुसन्धान गर्न प्रहरीले आयोगको प्रतिवेदन कुर्न नपर्ने पहिले नै वक्तव्य दिएको थियो। प्रहरीले पठाएका जाहेरी पनि सोही ब्यहोरा लेखेर प्रहरीकहाँ नै फिर्ता पठाइदियो। त्यसपछि प्रहरीले ती सबै जाहेरीलाई ‘तामेली’ राखेर थन्काएको छ।

त्यसै क्रममा नागरिक स्तरमा निर्वाचनका लागि बनेको सरकार ‘निर्वाचन भन्दा मुठभेडतर्फ लागेको’ आरोप विकसित हुन थालेको थियो। त्यसले सरकारलाई दबाब सिर्जना भयो। बल्ल प्रधानमन्त्री कार्कीले केही निर्वाचनकेन्द्रीत माहौल बनाउन प्रयास गरिरहेकी छन्। गृहमन्त्री अर्याल पनि पछिल्लो समय संयमित र सन्तुलित सुनिँदै आएका छन्।

प्रतिक्रिया