भारतीय पूर्वक्रिकेटर भन्छन्- सन्दीप नयाँ टिमबाट IPL खेल्न सक्छन्

विदुर खबर २०७८ जेठ १४ गते १३:०८

नुवाकोट ।  १५औँ सिजनको आईपीएलमा १० टिमले खेल्ने सम्भावना बढी छ । थप दुई टिम जोडिएसँगै आईपीएलमा टिमको संख्या १० पुग्नेछ ।

Advertisement

आईपीएल २०२२ मा टिम संख्या थपिएसँगै धेरै खेलाडीले मौका पनि पाउने छन् । आईपीएल २०२१ का लागि भएको ‘मिनि अक्सन’मा राम्रो लयमा रहेका खेलाडी पनि बिकेनन् । यद्यपि, आउँदो सिजनमा भने टिमको संख्या बढ्ने भएपछि ‘मेगा अक्सन’को आयोजना गरिनेछ । थपिने टिममा अहमदाबाद लगभग पक्का भइसकेको छ ।

१४औँ सिजनका लागि भएको अक्सनमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई कुनै पनि टिमले अनुबन्ध गरेनन् । ४० लाख भारु आधार मूल्य राखेका उनीमाथि टिमको चासो रहेन ।

Advertisement

यद्यपि, आउँदो सिजनमा भने सन्दीपलाई टिमले अनुबन्ध गर्ने सम्भावना बढी छ । आईपीएलमा एकै पटक दुई टिम थपिने भएपछि उनको फेरि आईपीएल खेल्ने सम्भावना बढेको हो ।

भारतीय टिमका पूर्वखेलाडी तथा वर्तमान समयमा केमेन्टेटरको भूमिका निर्वाह गरिरहेका आकाश चोपडाले पनि आउँदो सिजनमा सन्दीपको सम्भावना रहेको बताएका छन् । आफ्नो युट्युब च्यानलमा अपलोड गरेको एक भिडियोमा उनले सन्दीपबारे चर्चा गरेका छन् ।

Advertisement

‘आउँदो सिजनका लागि हुने अक्सनबाट कुनै एक टिमले सन्दीपलाई अनुबन्ध गर्ने सम्भावना बढी छ । उनले यसअघि दिल्लीबाट पनि आईपीएल खेलिसकेका छन्,’ आकाशले भनेका छन्, ‘आउँदो सिजनको आईपीएलमा टिम संख्या थपिए १० लेगस्पिनर त भारतीय हुँदैनन् । विदेशी लेगस्पिनरमा राशिद खान, एडम जम्पा र सन्दीप लामिछाने नै हुन् । त्यसकारण सन्दीपलाई आगामी सिजनको अक्सनबाट कुनै टिमले किन्न सक्छन् । फेरि एक पटक उनको भाग्य चम्किँन सक्छ ।’

आकाशले थप ९ खेलाडी पनि नयाँ टिमबाट खेल्न सक्ने आँकलन गरेका छन् । उनले कुलदीप यादवलाई पहिलो नम्बरमा राखेका छन् ।

कोलकाता नाइट राइडर्स (केकेआर)ले बेन्चमा मात्र सीमित राखेकाले उनले आउँदो सिजनमा नयाँ टिमबाट खेल्न सक्ने आकाशको अनुमान छ ।

साथै, उनले सन्दीपबाहेक क्रिस लिन (मुम्बई इण्डियन्स), लकी फर्गुसन (केकेआर), मिचेल सान्टनर (सीएसके), अजिंक्य रहाणे (डिसी), श्रेयस गोपाल (आरआर), कुलदीप यादव (केकेआर), टिम सेफर्ट (केकेआर), जेसन रोय (एसआरएच)ले आईपीएल २०२२ मा नयाँ टिमबाट खेल्न सक्ने बताए ।

त्यस्तै, आकाशले यदि नयाँ टिम थपिए कुनै एक टोलीले इंग्ल्याण्डका टेष्ट कप्तान जो रुटलाई कप्तान बनाउन सक्नेसमेत भविष्यवाणी गरे ।

‘म मान्छु रुट इंग्ल्याण्डको टी-२० टिमको नियमित सदस्य होइनन्, तर उनी राम्रो खेलाडी हुन् । आउँदो सिजनमा रुटलाई कुनै एक टिमले कप्तान बनाउन सक्छ,’ आकाशले भनेका छन् ।

प्रतिक्रिया