रसुवागढी जलविद्युतमा समस्या, समय र लागत बढ्ने

विदुर खबर २०७८ जेठ ९ गते २१:०८

रसुवा । भारतीय र नेपाली ठेकेदार कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको समय र लागत दुबै बढ्ने भएको छ ।

Advertisement

सो आयोजनाको प्रसारण लाइन र उपकरण जडान कार्यमा ढिलाइ भएको छ । विद्युतगृहमा उपकरण जडान गर्ने जिम्मा पाएको इन्डियन कम्पनी भोइथ भारत एवं टिमुरेदेखि थाम्बुचेतसम्म १० किमी दूरीको प्रसारण लाइन निर्माण गर्ने मुडभरी एन्ड जेभी कम्पनी लिमिटेडले तोकिएको तालिकाअनुरूप काम नगर्दा विद्युत् आयोजनाको संरचना बनाउने कार्यमा ढिलाइ भएको हो ।

कोरोना सक्रमितको संख्या तीव्ररूपमा फैलिरहेको दर्शाउँदै भोइथ कम्पनीका दक्ष जनशक्ति भारतबाट नआएका कारण १११ मेगावाट क्षमताको विद्युत् गृहका उपकरण जडान कार्यमा ढिलाइ भएको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ ।

Advertisement

ठेकेदार कम्पनीले विद्युत् उत्पादनमा आवश्यक उपकरण आयोजनास्थलमा पुर्याइसकेको छ । वर्तमान अवस्थामा ती सामानको जडान कार्य ५० प्रतिशत प्रगति हासिल गर्नुपर्ने समयावधि पुग्दासमेत काममा शून्यता छाएको प्राविधिकले बताएका छन् । एक वर्षदेखि ६ जना उसका कर्मचारी सामान कुरुवाका रूपमा पालेपहरा दिने काम मात्र गरिबसेका छन् ।

गत वर्षदेखि नै उपकरण जडानमा आलटाल हुँदै आएको छ । कोभिड–१९ को मापदण्ड पालना गर्दै काम नगराउने उक्त कम्पनी माथि आयोजनाले सम्झौताअनुरूप कारवाही गर्ने तयारी गरेको छ ।

Advertisement

उपकरण जडानका लागि एक वर्षभन्दा बढीको समयावधि लाग्ने र उत्पादन गराउने समयसीमा नजिकिँदै गएको अवस्थामा कार्यतालिकाअनुसार तोकिएका काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्ने तयारी भएको हो ।

रसुवागढी जलविद्युत् आयोजनाबाट आगामी २०७९ असार महिनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । राष्ट्रिय प्राथमिकताअन्तर्गतको विद्युत् आयोजना भएका कारण निर्धारित समयमै सम्पन्न गराउन कोभिड–१९विरुद्वको स्वास्थ्य मापदण्ड अपनाई काम अगाडि बढिरहेको छ ।

जमिन अभावका कारण टिमुरे पारी भीरको फेद भोटेकोशी खोला बगरमा प्रिफेव मोडेलबाट बनाइएका कर्मचारी आवास तथा कार्यालयमा बाढी तथा पहिरोको असर, हिउँदको समयमा बेजोडले आइरहने हावाहुरी, धुलो, धुवाँसमेत लाई कुनै प्रवाह नगरी अहोरात्र काम गरिरहेको प्राविधिक बताउँछन् ।

आयोजनाको सम्पूर्ण संरचना भूमिगत रहेको छ । रसुवागढीस्थित भोटेकोशी खोलाको बाँध एवं विद्युत् गृहमा पानी लाने चार हजार १८५ मिटर लामो सुरुङ भने एक–डेढ वर्षअगाडि नै निर्माण सम्पन्न भएको छ । यसैगरी रसुवाढीमा उत्पादित बिजुली राष्ट्रिय प्रसारणको चिलिमेस्थित थाम्बुचेतको हवसम्म पुर्याउने १० किमी दूरीको प्रसारण लाइन निर्माणको कामसमेत ढिलासुस्ती भएको छ ।

निर्माणको जिम्मा पाएको मुड्वरी एन्ड जेभी ठेकेदार कम्पनीले गत वैशाख १५ गतेभित्र निर्माणस्थलमा पुर्याई सक्नुपर्ने सामग्रीसमेत अहिलेसम्म ढुवानी गरेको छैन । आयोजनाका अनुसार निर्माण सामग्री ढुवानी गरी ल्याउने वातावरणसहित उक्त ठेकेदार कम्पनीलाई अनुमति प्रदान गरिए पनि ढुवानीमा आलटाल भइरहेको छ ।

निर्माण गर्नुपर्ने ३२ टावरमध्ये १८ मा सिमेन्ट कक्रिट गरिए पनि अझै १४ वटा खाल्टो खनेर छोडिएको छ । आयोजनाले दिएको कार्यतालिकाअनुरूप ठेकेदार कम्पनीले काम नगर्दा नजिकिँदै गरेको वर्षाले भूक्षय निम्त्याउने खतरा बढ्न थालेको छ ।

केही कामदार आफूले कार्यस्थलमा राखेको र सामान तयारी भए पनि कोभिड–१९ को सङ्क्रमणका कारण ढुवानी गरी ल्याउन समस्या परेको जनाउँदै मुड्वरी एन्ड जेभीका प्रबन्ध निर्देशक अजय मुड्वरीले टावरको काम आगामी भदौ÷असोजसम्ममा सम्पन्न हुने बताए ।

नजिकिँदै गएको बर्खायामलाई दृष्टिगत राखी टावर राख्नका लागि खनिएका गहिरा खाल्टा कार्यतालिकाबमोजिम तुरुन्तै सिमेन्ट कङ्क्रिट गर्न आयोजनाको आग्रह भइरहेको आयोजना प्रमुख छवि गैरले बताए ।

यस्तै आयोजनाको सर्जट्याङ्कबाहेक अन्य संरचना निर्माण गर्ने काम लगभग पूरा भइसकेको छ । कोभिड–१९ को सङ्क्रमण रोक्ने स्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालना गर्दै सिभिलतर्फको काम तीव्ररूपमा अगाडि बढिरहेको छ ।

निर्माण कार्यमा संलग्न चिनियाँ कम्पनी सिडब्लुईले २०० नेपाली र ६० चिनियाँ कामदारका साथ द्रुतरूपमा काम अगाडि बढाइरहेको प्राविधिकले जनाएका छन् । १३ अर्ब ६४ करोडको लागतमा ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१३ बाट शुरु गरिएको निर्माण कार्य विगतका समयमा भएको पेट्रोलियम पदार्थको अभाव, समयसमयको सडक अवरुद्व, भूकम्पको असर जस्ता विविध कारणले सम्पन्न गर्न ढिलाइ भएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया