ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन

विदुर खबर २०८३ असोज ३ गते १४:२३

नुवाकोट। भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित विदुर नगरपालिका–१,८ र ९ का स्थानीयवासीले राहत, पुनःस्थापना र पुल निर्माणको माग गर्दै प्रदर्शन गरेका छन्।

Advertisement

बाढीले क्षति पुर्‍याएको लामो समय बितिसक्दा पनि समस्या समाधानमा चासो नदेखाएको भन्दै ढुङ्गे, त्रिशूली तथा नदीपारिका बस्तीका बासिन्दा सडकमा उत्रिएका हुन्।

सामाजिक व्यक्ति रमेश श्रेष्ठको नेतृत्वमा भएको उक्त प्रदर्शनमा करिब ५० जना प्रभावितहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विदुर–१ स्थित त्रिशूली र गुम्बाडाँडा क्षेत्रमा ब्यानर तथा प्लेकार्डसहित प्रदर्शन गर्दै स्थानीय प्रशासन र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

Advertisement

प्रदर्शनकारीहरुले बाढीले पुरिएका तथा क्षति पुगेका घरहरूको तत्काल उत्खनन गरिनुपर्ने, विदुर–१ ढुङ्गे र त्रिशूली जोड्ने पुल तत्काल निर्माण गरी आवतजावत सहज बनाउनुपर्ने,बाढी प्रभावित परिवारका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने, राहत तथा पुनःस्थापनाका कार्यक्रमहरू चुस्त र प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने र जनताका समस्याप्रति सम्बन्धित निकाय जिम्मेवार र जवाफदेही बन्नुपर्ने माग राखेका छन् ।

प्रदर्शनको नेतृत्व गरिरहनुभएका रमेश श्रेष्ठले बाढीपछि नदीपारिका बस्तीका नागरिकले आवतजावत, आवास र दैनिक जीवनयापनमा ठूलो सास्ती खेप्नुपरेको बताए ।

Advertisement

“बाढीले क्षति पुर्‍याएका घरहरूको उत्खनन र ढुङ्गे–त्रिशूली जोड्ने पुल निर्माणमा अझै ढिलाइ गरिनु हुँदैन,” श्रेष्ठले भने, “नागरिकको दैनिक जीवनसँग जोडिएका समस्या समाधान गर्न सम्बन्धित निकाय तत्काल गम्भीर र जवाफदेही भएर लाग्नुपर्छ।”

स्थानीयले आफ्ना मागहरू चाँडो सम्बोधन नगरिए अझ सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्।

प्रतिक्रिया