दुईघण्टामा बादललाई दुई झड्का
नुवाकोट । नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई बिहीबार दोहोरो झट्का लागेको छ ।
सर्वोच्च अदालतको आदेशमा गृहमन्त्रीबाट पदमुक्त भएको दुई घण्टापछि राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उनी पराजित भए । बादललाई एमालेकै माधवकुमार नेपाल समूहका उम्मेदवार डा. खिमलाल देवकोटाले पराजित गरेका हुन् ।
देवकोटाले ५०८८ र बादलले ४०१४ मतभार पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पनि समर्थन जनाएको थियो । बादललाई भने एमालेका अध्यक्ष केपी शर्मा ओली समूह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मतदान गरेका थिए ।
राष्ट्रियसभा उपनिर्वाचनको नतिजा भने पूर्वअनुमानित नै थियो । किनभने यो उपनिर्वाचनमा एमाले विभाजित बनेको थियो । माधव नेपाल निकट देवकोटाले उम्मेदवारी दिंदा माओवादी सांसद प्रस्तावक र कांग्रेस सांसद समर्थक बसेका थिए । यो नतिजाबारे बादल पनि जानकार थिए । त्यसैले सुरुमा उनी उम्मेदवार बन्न राजी भएनन् । तर उम्मेदवारी दर्ता गर्ने दिन (२४ वैशाख) हेलिकप्टरमा हेटौंडा पुगेका थिए ।
यस बीचमा नेता नेपालको मत लिन केही कसरत पनि भए । मंगलबार मात्रै बादल नेता नेपाललाई मनाउन कोटेश्वर पुगेका थिए । तर एमालेभित्र सहमति जुट्न नसकेपछि एमालेकै उम्मेद्वार देवकोटासँग सूर्य चिन्ह सहित मैदानमा उत्रिएका बादल पराजित भए ।
एमालेको सबै मत पाएका थिए भने बादल निर्वाचित हुने थिए । किनकि वागमती प्रदेशसभा र स्थानीय तहमा एमालेको वर्चश्व छ । ११० सदस्यीय प्रदेश सदस्य मध्ये ५६ र ११९ स्थानीय तहमा ११३ पदाधिकारी एमाले छन् । यो भनेको ५०८२ मत हो । तर राप्रपाको मत आउँदा पनि बादलले ४०१४ मत मात्रै पाए । यसको प्रष्ट अर्थ हो– नेता नेपाल समूहको मत बादलले पाएनन् ।
देवकोटाले भने नेपाल समूह, कांग्रेस र माओवादीको मत पाए । २२ प्रदेश सदस्य र स्थानीय तहमा ६८ पदाधिकारी रहेको कांग्रेससँग २२८० र २३ सांसद र ३३ स्थानीय तहमा पदाधिकारी रहेको माओवादीसँग १६९८ मत छ । यो जोड्दा तीन हजार ९७८ मत पुग्छ । १३२ सिट रहेको नेपाल मजदूर किसान पार्टी (नेमकिपा) ले आफ्नै उम्मेदवार उठाएको थियो भने साझा विवेकशील तटस्थ बसे ।
अर्थात् एमालेकै उम्मेदवार देवकोटासँग पराजित भएसँगै बादल राष्ट्रियसभा सदस्य बन्न सकेनन् । जबकि २०७५ असार ५ गते राष्ट्रियसभा सदस्यको कार्यकालबारे टुंगो लगाउन गोला प्रथा हुँदा बादलले ६ वर्ष नै राष्ट्रियसभा सदस्य रहने गोला तानेका थिए ।
तर साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजन, सर्वोच्च अदालतको फैसला र स्वयं उनले लिएको निर्णयका कारण गएको ५ वैशाखबाट बादल पदमुक्त भएका थिए । नेकपाको विभाजनमा ओलीतिर उभिएका बादललाई २३ फागुनमा सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र व्युँतिएपछि स्वाभाविक रुपमा माओवादी केन्द्रको नेता बनेका थिए । तर बादल माओवादीतिर फर्किएनन्, बरू पद गुमाउन तयार भए ।
माओवादी केन्द्रले सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो । बादल भने गृहमन्त्री सहित एमालेमै बसे । अतः उपनिर्वाचनको अवस्था आइलाग्यो र मतदानमा पराजित पनि भए ।
तर बिहीबार भने बादलले त्यही गृहमन्त्री पद पनि गुमाउनु परेको छ । राष्ट्रियसभा निर्वाचनको परिणाम आउनु (साँझ ५ः२२ बजे) भन्दा ठीक दुई घण्टा अगाडि सर्वोच्च अदालतले बादललाई गृहमन्त्रीका रुपमा काम नगराउने अन्तरिम आदेश दिएको थियो । यदि, उपनिर्वाचनमा उनले जितेका थिए भने फेरि गृहमन्त्रीमै बहाली हुने बाटो खुल्ने थियो ।
राष्ट्रियसभा सदस्यमा पराजय र गृहमन्त्रीबाट पदमुक्त भएका बादलको हैसियत अब एमाले नेता मात्रै रहेको छ ।
बादलले राजनीतिक जीवनको गौरवसँग जोडिएको माओवादी पार्टी, राष्ट्रियसभा सदस्य पद र गृहमन्त्री गुमाएका छन् । जबकि माओवादी उम्मेदवारका रुपमा १४ माघ २०७४ मा वागमती प्रदेशबाट ३३९६ मत सहित बादल सहजै निर्वाचित भएका थिए । यसको एक महिनामै माओवादी केन्द्रको नेतृत्व गर्दै (१५ फागुन २०७४ मा) बादल गृहमन्त्री बने ।
बादल माओवादी केन्द्रका शीर्ष नेता भएकैले पार्टीको नेतृत्व गर्दै सरकारमा जाने अवसर पाएका थिए । हुन पनि उनी ६ जेठ २०७३ मा मात्रै नेकपा माओवादी केन्द्रमा फर्किएका हुन् । २०३७ देखि भूमिगत राजनीतिमा होमिएका र दशवर्षे माओवादी युद्धका एक योजनाकार मानिने बादल २०६९ पछि पुष्पकमल दाहाल प्रचण्डसँग अलग भएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरमा ‘परिवर्तनका लागि युवा नेतृत्व’ विषयक २ दिने प्रशिक्षण सम्पन्न
रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल





प्रतिक्रिया