वागमती प्रदेश सरकार पुनर्गठन : जनजाति बाहुल्य प्रदेशमा जनजातिलाई नै उपेक्षा
नुवाकोट । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री नियुक्त गरेका छन् ।
आठ सदस्यीय मन्त्रिपरिषदमा दोलखाकी बस्नेत एक्ली महिला मन्त्री हुन् । तीन वर्षअघि गठित पौडेल नेतृत्वको सरकारमा पुरुष मन्त्री मात्रै थिए । लैङ्गिक हिसाबले बस्नेत पहिलो र एक्ली महिला मन्त्री बने पनि मन्त्रिपरिषद् पूरै असमावेशी छ । एमाले र माओवादी केन्द्र बीच भागबण्डा गरी २०७४ सालमा मन्त्रिपरिषद् गठन गर्दा नै समावेशी सिद्धान्त अवलम्बन गरिएको थिएन ।
तर, बुधबार मुख्यमन्त्री पौडेलले एमालेभित्र पनि अध्यक्ष केपी शर्मा ओली समूहका नेतालाई मात्रै मन्त्री बनाउँदा समावेशी बनाएनन् । ‘राजनीतिक परिवर्तनको भावना, संविधानको व्यवस्था र सामाजिक न्याय केही नहेरी देशलाई नै गुटले चलाउने मनोविज्ञान छ । समावेशी सरकारको के कुरा गर्नु ?’ वागमती प्रदेश सांसद लक्ष्मण लम्साल भन्छन् ।
मुख्यमन्त्री पौडेलले बस्नेतसँगै मुख्य सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानून, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण र रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गरेका छन् ।
मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि गत १० पुसमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले राजीनामा दिएका थिए ।
यसपछि रिक्त तीन मन्त्रालयमा चारजना मन्त्री नियुक्त गर्दा पनि मुख्यमन्त्री पौडेलले अन्य समुदायलाई सम्झेनन् । जबकि यो प्रदेशमा तामाङ र नेवार समुदायको बाहुल्य छ ।
मुख्यमन्त्री पौडेलको मन्त्रिपरिषद्मा जनजाति समुदायबाट चितवनका दावा दोर्जे लामा मात्रै मन्त्री छन् । उनी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री छन् । मुख्यमन्त्री पौडेलले पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्दा काठमाडौंका केशव स्थापितलाई भौतिक योजना तथा निर्माण मन्त्री नियुक्त गरेका थिए । तर, मुख्यमन्त्रीसँग मनमुटाव भएपछि स्थापितलाई बर्खास्त गरियो ।
उपेक्षामा बहुसंख्यक
अन्य प्रदेशभन्दा धेरै प्रदेशसभा सदस्य रहेको बागमतीमा ५४ जना सांसद आदिवासी जनजाति समुदायबाट निर्वाचित छन् । ११० सदस्यीय प्रदेशसभामा यो संख्या झण्डै पचास प्रतिशत हो । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमार्फत चेपाङ, माझी, तामाङ, नेवार, गुरुङ, घले र शेर्पा समुदायका सांसद प्रदेशसभामा छन् ।
२०६८ सालको जनगणना अनुसार यो प्रदेशमा तामाङको जनसंख्या मात्रै २०.५४ प्रतिशत छ । दोस्रोमा ब्राह्मणको जनसंख्या १८.३२ प्रतिशत छ । तेस्रोमा नेवार र क्षेत्री लगभग बराबर छन् । क्षेत्रीको जनसंख्या १७.१३ र नेवार समुदायको १७.०७ प्रतिशत छ । तर, मन्त्रिपरिषद्मा एक जना पनि नेवार मन्त्री छैनन् भने क्षेत्री समुदायबाट सरस्वती बस्नेतले प्रतिनिधित्व गर्छिन् ।
बाँकी ६ जना (मुख्यमन्त्री पौडेल, मन्त्रीहरू केशवराज पाण्डे, सुरेश नेपाल, कैलाश ढुंगेल, रामेश्वर फुयाल र राज्यमन्त्री रामकुमार अधिकारी) ब्राह्मण समुदायका हुन् । ‘हामीले प्रतिनिधित्व गर्ने भूगोल र जातीयतालाई सरकारले हेला गरेको छ । जनजातिको बाहुल्य रहेको प्रदेशमा जनजातिलाई उपेक्षा गर्नु कम्युनिष्टको आडमा सामन्ती खोल ओढ्नु हो,’ बागमती प्रदेश सांसद ओम ग्लान भन्छन् ।
बागमतीमा मगर (४.८७), विश्वकर्मा (२.५२) र गुरुङको (२.२२) प्रतिशत जनसंख्या छ । थारू, राई, दमाई, सार्की, चेपाङ समुदायको पनि उल्लेख्य जनसंख्या र सांसद संख्या भएपनि मुख्यमन्त्री पौडेलको रोजाइमा यी समुदायबाट कोही पनि परेनन् । कतिसम्म भने यो प्रदेशको नामकरण नै नेवाः ताम्सालिङ हुनुपर्ने आवाजसमेत कुनै बेला बलियो गरी उठेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया