रसुवागढी नाकाबाट आयात सुरु

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट २३ दिनपछि चिनियाँ सामग्री आयात सुरु भएको छ।
चीनमा मनाइने वसन्त चाडको कारण माघ २९ गतेदेखि आयात ठप्प भएकोमा शुक्रबार बिहानदेखि आयात सुरु भएको हो। रसुवा भन्सार कार्यालयका अनुसार ७ वटा चिनियाँ गाडीले सामग्री ल्याएका छन्। नाकाबाट शुक्रबार मेसिन, फर्निचर, जुत्ताचप्पल लगायतका सामग्री भित्रिएको छ। यसअघि दैनिक ५ वटा गाडीमा सामग्री आयात हुँदै आएकोमा अहिले चिनियाँ पक्षले संख्या बढाएर सामग्री आयात गरेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए।
‘रसुवागढी नाकाबाट आउँदो दिनमा चिनियाँ सामग्रीको आयात बढ्ने छ’, उनले भने, ‘शुक्रबार दुई वटा थप गाडीमा सामग्री आयात भएको छ।’ सीमा जोडिएको क्षेत्रमा कोरोना नदेखिएको कारण पनि सामग्री आयात बढ्न आवश्यक रहेको उनले बताए।
चिनियाँ पक्षले मार्च १ बाट सामग्री आयात गर्ने तयारी गरेको थियो। तर आवश्यक तयारीका लागि केही समय लागेकाले केही ढिलो गरी सामग्री आयात भएको हो।
गएको जेठ अन्तिमबाट नाकामा कारोबार पुनः सुरु भएतापनि आयात बढ्न सकेको छैन। चिनियाँ पक्षले दैनिक पाँचवटा गाडीमा सामग्री ल्याएर नेपालतर्फ झारिदिने गरेका छन्।
प्रतिक्रिया