वार्ताका लागि विप्लव समुह तयार

विदुर खबर २०७७ फागुन ९ गते ८:२५

नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले सरकारसँग वार्ताका लागि तयार रहेको बताएको छ । सरकारले वार्ताको आह्वान गरिरहेका बेला विप्लव समुहले वार्ताका लागि सकारात्मक रहेको बताएको हो ।

Advertisement

सरकारले प्रतिनिधिसभा विघटन भएपछि विप्लव समुहसँग वार्तामार्फत सहमति कायम गरेर प्रतिबन्ध हटाउने गृहकार्य थालेको छ । सरकारले यसअघि विप्लव समुहसँग वार्ता गर्न गठन गरेको टोलीप्रति विश्वास गरेको थिएन । सरकारले अनौपचारिकरूपमा विप्लव समुहसँग वार्ता गर्ने प्रक्रिया अगाडि बढेपछि विप्लव समुहका महासचिव नेत्रविक्रम चन्दले औपचारिकरूपमा विज्ञप्ति जारी गरेर वार्ता गर्न सकिने संकेत गर्नुभएको छ ।शनिबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले सरकारसँग संवाद र वार्ताका लागि पार्टी सकारात्मक रहेको बताउनुभएको हो । आफुहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रूपान्तरण एवं जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको पनि उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रूपान्तरण एवं जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल हो’, विज्ञप्तिमा भनिएको छ– ‘यसको प्रक्रियामा आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।’

विप्लव समुहले वार्ताका लागि तयार रहेको बताएपछि सरकारले पनि औपचारिक वार्ताका लागि प्रक्रिया अगाडि बढाउने बताएको छ । विप्लव समुहलाई वार्तामा ल्याउन भूमिका खेल्दै आउनुभएका खानेपानीमन्त्री मणि थापाले सरकारले विप्लव समुहसँग वार्ता नै चाहेको बताउनुभयो । उहाँले नेपाल समाचारपसँग भन्नुभयो– ‘सरकारले वार्ता नै चाहेको हो, अब सरकार औचापरिकरूपमा वार्ता प्रक्रिया अगाडि बढाउने गृहकार्य गर्छ ।’वार्ताका लागि तयार रहेको बताएको विप्लव समुहले प्रतिबन्ध घोषणा गरेपछि गिरफ्तार भएका आफ्ना नेता–कार्यकर्ताको रिहाइ पहिलो सर्त बनाउने भएको छ । ‘विप्लव समुहको प्रतिक्रिया आएसँगै सरकारले अब वार्ताको प्रक्रिया कसरी अगाडि बढाउँछ त्यो हेरेपछि थप प्रतिक्रिया दिन्छौं ।’ –विप्लव समुहका एक नेताले बताए ।दुई साताअघि जेलमा रहनुभएका प्रतिन्धित विप्लव समुहका नेता हेमन्तप्रकाश वलीलाई खानेपानीमन्त्री थापाले भेट्नुभएको थियो । उक्त भेटपछि सरकार र विप्लव समुहबीच वार्ताको तयारी अगाडि बढेको थियो । मन्त्री थापा र वलीबीच भेटवार्ता भएको दुई सातापछि विप्लव समुहले वार्ताका लागि सकारात्मक भएको औपचारिक जानकारी गराएको छ ।

Advertisement

सरकारले विप्लव समुहले हिंसात्मक गतिविधि गरेको भन्दै २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो । सरकारले विप्लव समुहलाई प्रतिबन्ध लगाएको दुई वर्ष पुगेको छ । दुई वर्षको अवधिमा देशका विभिन्न ठाउँबाट २ हजार ६४ जना नेता–कार्यकर्ता पक्राउ परेका छन् ।नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले पक्राउ परेका २ हजार ६४ जनामध्ये १९ सय ७४ जनालाई मुद्दा चलाइएको बताउनुभयो । उहाँका अनुसार यस अवधिमा १ सय ३६ जना पर्पक्षका लागि कारागार चलान भएका छन् ।

प्रतिक्रिया