प्रधानमन्त्रि कप क्रिकेटको उपाधिको लागि आर्मी र एपिएफ भिड्ने

विदुर खबर २०७७ माघ १५ गते १९:५४

नुवाकोट । चौथो संस्करणको प्रधानमन्त्रि कप पुरुष एकदिवसिय क्रिकेटको उपाधिको लागि आर्मी र एपिएफ भिड्ने भएका छन् ।

Advertisement

साविक उपविजेता त्रिभुवन आर्मी क्लब चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई ९४ रनले पराजित गरेको हो । आर्मीले अब उपाधिका लागि अर्को विभागीय टोली एपीएफसँग खेल्नेछ । एपीएफले पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । आर्मी लगातार चौथो पटक फाइनल पुगेको हो । पहिलो संस्करणमा पुलिससँग उपाधि बाँडेको आर्मी त्यसपछि लगातार दुई पटक फाइनलमा पराजित भएको थियो ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले राजेश पुलामीको अर्धशतक मद्दतमा पूरै ५० ओभर खेल्दा १० विकेट गुमाएर २२९ रन बनाएको थियो । जवाफमा बागमतीले ४०.२ ओभर खेल्दै सबै विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक ४७ रन बनाए । लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको बागमतीले निरन्तर विकेट गुमाउँदा अलआउट भयो ।२३० रनको लक्ष्य पछ्याउ ब्याटिङ गरेको बागमतीको सुरुवात राम्रो हुन सकेन । बागमतीले पहिलो १० ओभरमा जम्मा २६ रन बनाउँदा सुरुवाती ५ विकेट गुमाएको थियो ।

Advertisement

टिमले रनको खाता नखोल्दै पहिलो ओभरको तेस्रो बलमा ओपनर आकाश थापा विक्रम सोबको बलमा हरि चौहानबाट क्याचआउट भए । अर्का ओपनर आदिल खान छैटौं ओभरको दोस्रो बलमा व्यक्तिगत १० रन बनाएर आउट भए । जितेन्द्र मुखियाको बलमा आदिल विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट भए । बागमतीको विकेत झर्ने क्रम रोकिएन । स्कोर १८ रन हुँदा बागमतीले थप ३ विकेट गुमायो । नयाँ बलर लिएर बलिङ गरेका आर्मीका विक्रम सोब र जितेन्द्र मुखियाले बागमतीको टप अर्डरलाई सस्तैमा पभेलियन फर्काए ।सातौं ओभरको दोस्रो बलमा पृथु बास्कोटा १ रन बनाएर विक्रम सोबको बलमा एलबीडब्ल्यु धरापमा परे ।

आठौं ओभरमा विभत्सु थापा ४ रन बनाएर आउट भए । उनी मुखियाको बलमा राजेश पुलामी मगरबाट क्याचआउट भए । आठौं ओभरको चौथो बलमा इशान पाण्डे खाता नखोली आउट हुँदा बागमतीले १८ रन जोड्दा ५ विकेट गुमायो । इशानलाई मुखियाले एलबीडब्ल्यु गरे । पाँचौ नम्बरमा ब्याटिङ गरेका कप्तान ज्ञानेन्द्रले विपिन आचार्यसंग मिलेर टिमको स्कोर अगाडि बढाउने प्रयास गरेका थिए । ज्ञानेन्द्र र विपिनले छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे । तर २२औं ओभरमा आर्मीका सुशन भारीले यो पार्टनरसिप तोडे ।विपिनले २३ रन बनाएर आउट भए । त्यसपछि २६औं ओभरको दोस्रो बलमा रामनरेश गिरी पनि भारीकै बलमा विकेटकिपर विनोद भण्डारीबाट स्टम्पिङ भए । रामनरेशले ६ रन बनाएर आउट भए ।

Advertisement

एक छेउबाट इनिङ्स सम्हालिरहेका कप्तान ज्ञानेन्द्र पनि २८औं ओभरमा आउट भए । ज्ञानेन्द्रलाई भारीले एलबीडब्ल्यु धरापमा पारे । ज्ञानेन्द्रले ६० बल खेल्दै ४ चौका मद्दतमा ४७ रन बनाए । ज्ञानेन्द्र आउट हुँदा बागमतीको स्कोर १०५-८ थियो । ३१औं ओभरको तेस्रो बलमा बागमतीका गौतम केसी विक्रम सोबको बलमा रोहित पौडेलबाट क्याचआउट भए । ४१औं ओभरको दोस्रो बलमा तिलक भण्डारी मुखियाको बलमा राजेश पुलामी मगरबाट क्याचआउट भए । नन्दन यादव २२ रनमा अविजित रहे ।

बागमतीलाई अलआउट गर्न आर्मीका विक्रम सोब, जितेन्द्र मुखिया र सुशन भारीले उत्कृष्ट बलिङ गरे । मुखियाले ४.२ ओभरमा १ मेडन राख्दै २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।यस्तै सोबले १० ओर बलिङ गर्दै ५ ओभर मेडन राखेर २५ रन मात्र खर्चेदै ३ विकेट लिए । यस्तै भारीले १० ओभरमा १ मेडन राख्दै ३६ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघिका आर्मीका लागि राजेश पुलामी मगरले सर्वाधिक ६५ रन बनाएका थिए । टप अर्डर कोल्याप्स हुँदा मिडर अर्डर र लोहर अर्डरले राम्रो ब्याटिङ गर्दै आर्मीको लागि सम्मानजनक स्कोर तयार पार्न सहयोग गरे । भिम शार्कीले ४० र विक्रम सोबले ३५ रन जोडे ।सातौं विकेटका लागि राजेश र विक्रमले ९२ रनको साझेदारी गरे । बागमतीका लागि गौतम केसीले सर्वाधिक ५ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको आर्मीको सुरुवात खराब रह्यो । ब्याटिङ अर्डरमा आर्मीले केही परिवर्तन गरेपनि तयसले काम गरेन । हरी चौहानलाई अनिल मण्डलसंग ओपनिङ गराएको बर्मीले चौथो ओभरमा २ विकेट गुमायो ।

बागमतीका गौतम केसीले चौथो ओभरको तेस्रो बलमा अनिल मण्डललाई बोल्ड गरे । यस्तै त्यही ओभरको पाँचौ बलमा तेस्रो नम्बरमा गौतमले ब्याटिङ गरेका रोहित पौडेलललाई बोल्ड गरे । रोहितले खाता खोल्न सकेनन् ।त्यसपछि आठौं ओभरको पहिलो बलमा हरि चौहान ३ रन बनाएर आउट भए । हरिलाई गौतमले विकेटकिपर आकाश थापाबाट क्याचआउट गराए ।१७-३ बाट आर्मीको इनिङ्स उकास्न भिम शार्की र लोकेश बमले चौथो विकेटका लागि अर्धशतकिय साझेदारी गरे । यी दुईले चौथो विकेटका लागि ५६ रनको साझेदारी गरे । बागमतीका नन्दन यादवले लोकेशलाई आउट गर्दै पार्टनरसिप ब्रेक गराएका थिए ।

१९औं ओभरको दोस्रो बलमा नन्दनको बलमा पृथुले सलिपमा उत्कृष्ट क्याच गर्दै लोकेशलाई आउट गराए । लोकेशले २३ रन बनाए । त्यसपछि भिमलाई साथ दिन राजेश पुलामी मगर क्रिज पुगे । एक छेउबाट टिमको इनिङ्स सम्हाल्ने प्रयास गरेका भिम पनि २२औं ओभरमा आउट भए । उनलाई २२औं ओभरको तेस्रो बलमा बागमतीका तिलक भण्डीले विकेटकिपर आकाश थापाबाट क्याचआउट गराए । ६१ बल खेलेका भिमले ५ चौका र १ छक्का मद्दतमा ४० रन जोडे । भिम आउट भएपछि आर्मी ८१-५ को अवस्थामा पुग्यो ।

कप्तान विनोद भण्डारी सातौं नम्बरमा ब्याटिङ गरेका थिए । २७औं ओभरको चौथो बलमा विनोद १० रन बनाएर आउट भए । बागमतीले विपिन आचार्यले आफ्नो पहिलो ओभरमै आर्मीका कप्तानलाई नन्दन यादवबाट क्याचआउट गराए । विनोदले १९ बल खेल्दै १० रन बनाए ।

१०६-६ को अवस्थामा रहेको आर्मीको इनिङ्स उकास्न राजेश पुलामी मगर र विक्रम सोबले अघि बढाए । यी दुईले सातौं विकेटका लागि ९२ रनको साझेदारी गरे । यस संस्करणमा सातौं विकेटको लागि यो सर्वाधिक रनको साझेदारी हो । प्रधानमन्त्री कपमाको पहिलो संस्करणमा पश्चिमाञ्चलबाट खेल्दै सौरभ खनाल र विधान श्रेष्ठले सातौं विकेटका लागि अविजित ९८ रनको साझेदारी गरेका थिए ।४६औं ओभरको तेस्रो बलमा बागमतीका रामनरेश गिरीले राजेश र विक्रम सोबको पार्टनरसिप तोडे । सोबले ५८ बल खेल्दै ३ चौका मद्दतमा ३५ रन बनाए । आर्मीको लागि सर्वाधिक रन बनाएका राजेश पुलामी अन्तिम ओभरको चौथो बलमा आउट भए । उनले ९१ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ६५ रन बनाए । छैटौं बलमा शहाब आलम शुन्यमा आउट भए । दुवै विकेट गौतम केसीले लिए ।

बलिङमा बागमतीका लागि गौतम केसीले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभर बलिङ गरदै १ मेडन राखेर ६१ रन खर्चिए । रामनरेश गिरी गिरी, नन्दन यादव, तिलक भण्डारी र विपनि आचार्यले १-१ विकेट लिए । एपीएफ र आर्मीबीच फाइनल खेल शनिवार हुनेछ । दोस्रो संस्करणको फाइनलमा एपीएफले आर्मीलाई पराजित गरेको थियो । विजेताले नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनलबाट बाहिरिने नेपाल पुलिस र बागमतीले समान ५० हजार पाउनेछन् । यस्तै बेस्ट प्लेअरले ५० हजार तथा बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले समान २५ हजार पाउनेछन् ।

प्रतिक्रिया