पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा

विदुर खबर २०७७ माघ १४ गते ९:४१

नुवाकोट । राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरिरहेको चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल आजदेखि सुरु हुँदैछ ।पहिलो सेमिफाइनलमा आज दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लब भिड्दैछन् । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा  हुनेछ ।

Advertisement

एपीएफ समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुग्दा पुलिस समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो ।समूह ‘ए’ मा अर्को विभागीय क्लब त्रिभुवन आर्मीसँग खेल्नुअघि नै लगातार तीन खेल जित्दै अन्तिम चारमा स्थान पक्का गरेको एपीएफले आर्मीलाई पराजित गर्दै समूह विजेता बन्यो ।त्यसअघि एपीएफले कर्णाली प्रदेश प्रदेश १ र गण्डकी प्रदेशलाई पराजित गरेको थियो । समूह ‘ए’ मा चारमध्ये चारवटा खेल जित्दै एपीएफले ८ अंक जोड्दै अपराजित रह्यो ।

उता साविक विजेता पुलिसले पहिलो खेलमै बागमतीसँग हार व्यहोर्दै प्रतियोगिता सुरुवात गरेको थियो । त्यसैले पुलिसले सेमिफाइनल पुग्न समूहको अन्तिम खेलसम्म कुर्नुपर्‍यो र प्रदेश २ लाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

Advertisement

पुलिसले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलाई समेत हरायो । समूह ‘बी’ मा पुलिसले चारमध्ये ३ खेल जित्दै ६ अंक जोड्यो ।

अपेक्षाअनुसार नै सेमिफाइनल पुगेका चारमध्ये तीन टिम विभागीय नै छन् । त्यसैले सेमिफाइनल खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । दुवै टिममा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीको बाहुल्य छ ।

Advertisement

शरद भेषावकरको कप्तानीमा रहेको एपीएफ टिममा भेट्रान बसन्त रेग्मी, सुवास खकुरेल, आसिफ शेख, सन्दिप जोरा, भुवन कार्की, अभिनाश बोहरा, कमल सिंह ऐरी र किशोर महतो छन् । किशोरसँगै रित गौतम र सूर्य तामाङ यसै संस्करणदेखि एपीएफका अनुबन्ध भएका हुन् । यू-१९ कप्तान रितले दुई खेलमा मौका पाए पनि रनको खाता खोल्न सकेका छैनन् ।

राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित आरिफ शेख, ललित राजवंशी, रासिद खान, अनिल शाह, पवन सर्राफ, सागर ढकाल, सुनिल धमला, राष्ट्रिय टिमका पूर्व खेलाडी मन्जित श्रेष्ठ पुलिसबाट खेलिरहेका छन् । पुलिसले समूह चरणमा ११ खेलाडीलाई मात्र खेलाएको छ । पुलिसको बेन्चमा रहेका योगेन्द्र सिंह कार्की, प्रेम तामाङ र दिलिप नाथले अहिलेसम्म खेल्ने अवसर पाएका छैनन् ।

प्रधानमन्त्री कपमा अर्को पनि एउटा संयोग रहेको छ । दुई विभागीय टोली पुलिस र एपीएफ अहिलेसम्म सेमिफाइनलमै भेट भएका छन् । पहिलो संस्करणमा पुलिसले एपीएफलाई हराएको थियो भने दोस्रो संस्करणमा एपीएफले पुलिसलाई हराएको थियो । यस्तै तेस्रो संस्करणमा पुलिसले एपीएफलाई फेरि हराएको थियो । चौथो संस्करणमा पनि यसले निरन्तरता पाएको छ । अब यस पटक कसले सेमिफाइनल जित्छ त्यो भने हेर्न बाँकी छ ।

विगतलाई हेर्दा फाइनल पुग्ने दुई टिममध्ये आर्मी भने सधैँ फाइनल पुगेको छ । तर एपीएफ र पुलिसबीच हुने सेमिफाइनल जित्नेले पछिल्लो दुई संस्करणमा उपाधि जितेको थियो । पहिलो संस्करणमा भने वर्षाले खेल बाधक बन्दा आर्मी र पुलिस संयुक्त रुपमा विजेता बनेका थिए ।सर्वाधिक रन बनाउनेमा पुलिसका सुनिल धमला दोस्रो स्थानमा छन् । उनले उनले एक शतक र एक अर्धशतकसहित १८७ रन बनाए । धमलाले लुम्बिनीविरुद्ध १०४ रन बनाएका थिए ।

समूह चरणमा ३ खेल मात्र खेलेका एपीएफका आसिफ शेखले दुई अर्धशतकसहित १४४ रन बनाएका छन् र सर्वाधिक रन बनाउनेमा छैटौं स्थानमा छन् ।यस्तै बलिङतर्फ समूह चरणमा ३ खेल मात्र खेल्दै ८ विकेट लिएका एपीएफका अभिनाश बोहरा सर्वाधिक विकेट लिनेमा तेस्रो स्थानमा छन् । उनले एक खेलमा ५ विकेट लिएका थिए । अभिनाशभन्दा धेरै विकेट लिनेमा आर्मीका शहाब आलम र बागमतीका रामनरेश गिरी अघि छन् । दुवैले समान ९ विकेट लिएका छन् । शहाबले ३ खेल मात्र खेलेका छन् ।

यस्तै सेमिफाइनल खेल्न लागेका दुई टिम एपीएफका कमल सिंह ऐरी र पुलिसका सागर ढकालले समान ७ विकेट लिएका छन् ।

प्रतिक्रिया