रसुवागढी हुँदै आउने पर्यटकको संख्या घट्यो

विदुर खबर २०७७ पुष १७ गते १७:४३

रसुवा । रसुवागढी नाकाबाट सन् २०२० मा अहिलेसम्मकै कम पर्यटक आएका छन् ।

Advertisement

विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण नाकाबाट आवतजावत गर्न नपाउँदा सन् २०२० मा कम पर्यटक आएका हुन् । अध्यागमन कार्यालय रसुवाका अनुसार सन् २०२० मा पाँच सय ३२ जना पर्यटक मात्र आएका छन् । जनवरी महिनामा पाँच सय २६ र फेब्रुअरी महिनामा ६ जना मात्र पर्यटक आएका छन् । नाकाबाट दुई सय दुई जना पर्यटक चीनतर्फ गएका छन् । जनवरी महिनामा एक सय ८० र फेबु्रअरी महिनामा २२ जना पर्यटक उता गएका हुन् ।

कार्यालय प्रमुख एकनारायण भण्डारीका अनुसार माघ महिनामा ल्होसार पर्व परेको र त्यसको केही समयपछि कोरोना भाइरस देखिएपछि नाकाबाट पर्यटक आउने तथा जाने क्रम रोकिएको हो । फेब्रुअरीपछि पर्यटकको आवागमन पूर्ण रोकिएको उहाँले बताउनुभयो ।

Advertisement

सन् २०१९ मा नाका सञ्चालन भएयताकै सबैभन्दा बढी पर्यटक आएका थिए । सन् २०१९ मा नाकाबाट ३१ हजार एक सय ३५ पर्यटक नेपाल भित्रिएका थिए । रसुवागढी नाका सन् २०१५ देखि औपचारिक रूपमा सञ्चालनमा आएको थियो । रसुवागढी नाका हुँदै आएका पर्यटक सिधै काठमाण्डौ, पोखरा तथा लुम्बिनी जाने गरेका छन् । २०१५ मा चिनियाँ पर्यटकमात्र आएका थिए । २०१६ मा चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो देशका पर्यटक आउन थालेको कार्यालयले जनाएको छ ।

सन् २०१५ मा १० हजार ६ सय ४९, सन् २०१६ मा १७ हजार ८२, सन् २०१७ मा १९ हजार चार सय ७८, सन् २०१८ मा २९ हजार एक सय ५४ पर्यटक नेपाल आएका कार्यालयको तथ्याङ्क छ ।  सन् २०१५ अप्रिलदेखि नाकाबाट पर्यटक आउने क्रम सुरु भएको थियो । त्यो महिना दुई सय ९१ पर्यटक आएका थिए । पछिल्लो समय स्थलमार्ग प्रयोग गरेर आउने पर्यटक बढी थिए ।

Advertisement

प्रतिक्रिया