रसुवामा स्वास्थ्य बिमा कार्यक्रम सुरु

विदुर खबर २०७७ मंसिर २९ गते १९:५०

रसुवा । रसुवामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ ।

Advertisement

परिवारमा आधारित वृहत साझेदारी कार्यक्रम अन्तर्गत रहेको स्वास्थ्य बिमाको  सुरुवात गरिएको हो । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका पेमा दोर्जे तामाङलाई परिचय पत्र दिएर कार्यक्रमको सुरुवात गरिएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ । कार्यक्रमको अवसरमा जेष्ठताको आधारमा ४ जना र गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङलाई परिचय पत्र वितरण गरिएको छ । बोर्डका अनुसार बिमितका लागि रसुवामा प्रथम बिन्दुको रूपमा रसुवा अस्पताल र जीवजीवे ग्रामीण अस्पताल तोकिएको छ । कार्यक्रमको शुभारम्भ गर्नुपूर्व बोर्डेले तीन दिने तालिम सञ्चालन गरेको थियो । कार्यक्रमको सदस्यता दर्ता चक्र अनुसार सेवा क्रियाशील हुने महिना निर्धारण गरिएको छ । बैशाख, जेठ र असारमा गर्नेको भदौ १, साउन, भदौ र असोजमा गर्नेको मंसिर १, कार्तिक, मंसिर र पुसमा गर्नेको फागुन १ र माघ, फागुन र चैतमा गर्नेको जेठ १ गतेदेखि सेवा क्रियाशील हुने छ ।

बिमा गर्नेले परिवारको सदस्यको आधारमा शुल्क तिर्नु पर्ने छ । पाँच जनासम्मको परिवारले वार्षिक ३ हजार ५ सय र ५ जना भन्दा बढी सदस्य भएका परिवारले प्रति सदस्य थप ७ सय रुपयाँ तिर्नुपर्छ । बिमा गराएपछि पाँच जनासम्मको परिवारले वार्षिक १ लाख र सो भन्दा बढी सदस्य भएका परिवारले २ लाखसम्मको स्वास्थ्य सेवा उपभोग गर्ने पाइने व्यवस्था गरिएको छ ।
नेपाली जनताको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्ने दीर्घकालीन लक्ष्य अनुसार कार्यक्रम विस्तार गरिएको हो । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित हुने छ ।

Advertisement

स्वास्थ्य बिमा कार्यक्रममा कस्मेटिङ सर्जरी, सहायक उपकरण यन्त्र, दाँतका महंगा उपचार सेवा, कृतिम गर्भाधान, लिंग परिवर्तन लगायतका सेवा समावेश नगरिएको बोर्डले जनाएको छ । दाँत उखेल्ने, संक्रमण नियन्त्रण, सामान्य फिलिङ बाहेकका सेवा पनि बिमामा समोवेश गरिएको छैन । बिमा गराएका परिवारले प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने छ ।

बोर्डका अनुसार रसुवा सहित ६२ जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको छ । आर्थिक वर्ष ०७२÷७३ देखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम अब १५ जिल्लामा विस्तार हुन बाँकी छ ।

Advertisement

प्रतिक्रिया