जाडोसँगै कोरोना कठोर बन्दै

विदुर खबर २०७७ कार्तिक १७ गते ८:५३

नुवाकोट । नेपालमा कोरोनाका कारण करिब एक हजारले ज्यान गुमाएका बेला विश्वमा १२ लाखभन्दा बढी नागरिक यसकै कारण कालको मुखमा पुगेका छन् । विश्वमा चिसो बढेसँगै कोभिडले उग्र रुप लिने संकेत देखाइसकेको छ । एकातिर मान्छे लापर्बाह बन्दै छ भने अर्कातिर संक्रमणको संख्या पनि वृद्धि भइरहेको छ ।

Advertisement

यसले शक्तिशालीदेखि गरिब नागरिकसम्मको कठालो समाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री बोरिस जोहन्सनदेखि विश्वका थुप्रै धनाढ्य, बुद्धिजीवी, लोकप्रिय व्यक्तिहरुलाई यसले गाँजेको थुप्रै उदाहरण दोहोरिसकेका छन् ।विश्वभरिका नाम चलेका औषधी उत्पादक कम्पनीदेखि यस भाइरसको शुरुआत भएको मुलुक चीनसमेत यसविरुद्धको खोप विकासका लागि दिनरात कसरत गर्दै छन् । मै हुँ भन्ने विकसित, शक्तिशाली तथा धनी मुलुक र वैज्ञानिकहरुसमेत यसको स्थायी उपचार कहिलेसम्ममा विश्वबजारमा आइपुग्ने हो भनेर निश्चित भविष्यवाणी गर्न सकेका छैनन् ।

विकास कार्यका त कुरै छोडौं, मानिसहरुको नियमित दिनचर्यालगायत विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षण संस्थाको स्थिति पनि अस्तव्यस्त रहेको छ । युरोपमा अहिले कोरोना भाइरसको दोस्रो चरणको संक्रमण बढिरहेको छ । यसलाई मध्यनजर राख्दै धेरै दिनदेखि फ्रान्सले रात्रिकालीन कफ्र्यु लगाउँदै आएको छ । त्यसैको अनुसरण गर्दै बेल्जियमले सोमबारदेखि लागू हुने गरी आगामी डिसेम्बरको मध्यसम्मका लागि अत्यावश्यक सामग्री बिक्री नहुने पसलहरु र अन्य वैयक्तिक सेवाप्रदायक व्यवसायहरु बन्द हुने गरी लकडाउन जारी गरेको छ । साथै अब त्यहँँ कुनै पनि सार्वजनिक स्थानमा चार जनाभन्दा बढी व्यक्ति जम्मा हुन पाउने छैनन् ।

Advertisement

सुपर मार्केटहरुले एकपटक एकजना गरी अत्यावश्यक दैनिक उपभोग्य र घरायसी सामान मात्र बिक्री गर्न पाउनेछन् । शरद्कालीन विद्यालय बिदाको म्याद पनि आगामी नोभेम्बर १५ सम्मका लागि लम्ब्याइएको छ । यसैगरी बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको खतरालाई ध्यानमा राख्दै देशमा लकडाउन लगाउने फैसला गरेका छन् । लकडाउन नोभेम्बर ५ बाट शुरु हुने भएको छ ।

प्रतिक्रिया