रसुवाको टिमुरेमा इन्स्पेक्टरले हवल्दारसँग मिलेर आधा किलो सुन पचाए

विदुर खबर २०७७ असार ५ गते १७:५८

रसुवा । रसुवाको टिमुरेमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत रहँदा प्रहरी निरीक्षक खेमप्रसाद नेपालले ५ सय ३३ ग्राम सुन गायब बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट खुलेको छ ।

Advertisement

कार्यालयमा कार्यरत हवल्दार रामशरण रिमालसँग मिलेमतो गरेर सुन आपसमा बाँडेको निष्कर्षसहित अख्तियारले भ्रष्टाचारसम्बन्धी कसूरमा विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार २२ मंसिरमा १११ ग्राम र ११ पुस २०७६ मा रिमालले ना ६ ख ४९३२ नम्बरको कन्टेनरमा सवार यात्रुबाट ४२२ ग्राम सुन बरामद गरेका थिए । तर, सम्बन्धित निकायमा बुझाउनुपर्नेमा कसैलाई जानकारी नदिई अभियुक्तलाई पनि छाडेर विदामा बसेका थिए ।

त्यस क्रममा इन्स्पेक्टर नेपाल र रिमालबीच पटकपटक टेलिफोन सम्पर्क भएको देखिएको छ । रिमालले सुन बरामद गरेको थाहा भए पनि नेपालले उल्टै आउट विदामा छाडेको भेटिँदा नेपालको मिलेमतो पुष्टि भएको कोइराला बताउँछन् । आयोगका अनुसार टिमुरेका हवल्दार रामकाजी लामाले रिमालबाट घटनाबारे जानकारी पाए पनि कसैलाई रिपोर्ट गरेनन् । र, सुन लुकाउन रिमाललाई सहयोग गरेको भेटिएको छ ।

Advertisement

हवल्दार पुरुषोत्तम खत्रीले बरामद सुन लुकाएको देखिएको आयोगको भनाइ छ । उनले सुन लुकाए पश्चात पटकपटक रिमालसँग सम्पर्क गरेको देखिएको छ । आयोगले यसरी चार जनाको घटनामा संलग्नता पुष्टि भएको बताउँदै अदालतमा मुद्दा दायर गरेको हो । सबै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ विरुद्धको कसूर गरेको अभियोग छ भने विगो २६ लाख ५२ हजार रुपैयाँको दोब्बर जरिवाना र कैद सजायको पनि माग गरिएको छ ।

प्रतिक्रिया