रसुवामा व्यावसायिक कालिजपालन सुरु

रसुवा । रसुवामा पहिलोपटक कालिजको व्यावसायिक पालन सुरु गरिएको छ ।
उत्तरगया गाउँपालिका ४ चौरखर्कस्थित चौरखर्क कृषि फर्मले जिल्लामा पहिलोपटक व्यावसायिक रूपमा कालिजपालन सुरु गरेको हो । नेकपा रसुवाका नेतासमेत रहेका फर्मका सञ्चालक माधव लामिछानेले राजनीतिसँगै आफ्नो व्यक्तिगत लगानीमा कालिजपालन सुरु गरेका हुन् । बनेपाको नासिका एन्ड वाइल क्याटल प्रोडक्टबाट कालिजका चल्ला ल्याएर व्यावसायिक रूपमा कालिजपालन सुरु गरिएको उनको भनाइ छ ।
पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश ३ को ५० प्रतिशत अनुदानसहित ५० प्रतिशतभन्दा बढी व्यक्तिगत लगानीमा व्यवसाय सुरु गरेको उनको भनाइ छ । ‘कालिजको व्यावसायिक रूपमै पालन गर्नका लागि भनेर राष्ट्रिय वाणिज्य बैंकबाट १० लाख रुपैयाँ लोन लिएर सुरु गरेको छु,’ उनले भने, ‘सबै गरी २५ लाखको लागतमा यो व्यवसाय सुरु गरेको छु ।’ करिब तीन रोपनी जग्गामा व्यावसायिक रूपमा कालिजको पालन सुरु गरिएको उनले बताए । ‘अहिले कालिजको सानो चल्ला छ, तारबार लगाएर राखेका छौँ, दुई महिनापछि जंगलमा छोड्छौँ,’ उनले भने, ‘डेढ रोपनीमा जग्गामा जंगल बनाएका छौँ, त्यसमा तार जाली लगाएर सुरक्षित बनाइएको छ, संरचना सबै बनिसकेको छैन, केही बनिसकेको छ भने केही बन्दै छ, कालिजको फाम निर्माण भइसकेको छ, घाँसका लागि व्यवस्थापनको काम भइरहेको छ ।’
अहिले कालिजको स–साना चल्ला रहेकाले सुरुमा बचाउन समस्या रहेको उनले बताए ।
प्रतिक्रिया