‘ए’ डिभिजन लिग फुटबलको उपाधि मछिन्द्रलाई

विदुर खबर २०७६ फागुन ३ गते १६:३३

काठमाडौं । मछिन्द्र फुटबल क्लबले पहिलो पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।

Advertisement

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले  लिगमा ऐतिहासिक उपाधि जितेको हो । विस २०६० सालमा पहिलो पटक ‘ए’ डिभिजन लिगमा उक्लिएको मछिन्द्रले १६ वर्षपछि लिगको उपाधि जितेको हो । उपाधिसँगै मछिन्द्रले ५० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले ३५ लाखमा चित्त बुझाएको छ ।

फाइनल सरह रहेको अन्तिम खेलमा मछिन्द्रको जितमा आत्मघाती गोल निर्णायक बन्यो । निकै रोमान्चक बनेको खेलको ३३ औं मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका थिए ।रञ्‍जित धिमालको फ्रिकिक हेडबाट क्लियर गर्ने क्रममा आर्मीका विकासले आफ्नै पोस्टमा गोल गरेका थिए । त्यहीँ विकासको आत्मघाती गोलले आर्मी भने पहिलो पटक लिगको उपाधि जित्नबाट बन्चित बन्यो ।

Advertisement

खेलमा मछिन्द्रका आन्द्रेस निया म्यान अफ दि म्याच चुनिए ।जितसँगै मछिन्द्रले १३ खेलमा ३१ अंक जोड्दै उपाधि जितेको हो । गत सिजन खराब प्रदर्शनको कारण १ अंक सुरुवातबाटै घटेको मछिन्द्रले १३ खेलमा १० जित, २ बराबरी र १ हारको नतिजा निकाल्यो । उपाधि जित्ने क्रममा मछिन्द्रले आर्मीलाई २ अंकले पछि पार्यो ।अन्तिम खेलमा चुकेको आर्मीले २९ अंक जोड्यो । आर्मीले ९ जित, २ बराबरी र २ हारको सामना गर्यो ।

यस्तै लिगमा २८ अंक जोडेको मनाङ मर्स्याङ्दी क्लब तेस्रो, २६ अंक जोडेको थ्री स्टार चौंथो र २० अंक जोडेको नेपाल पुलिस क्लब पाँचौं स्थानमा रह्यो ।१९ अंक जोडेर जावलाखेल युथ क्लब छैटौं स्थानमा रहन सफल भयो । अब शीर्ष ६ टोलीले आगामी बैशाखमा हुने राष्ट्रिय लिग खेल्नेछ ।यस सिजन ४ अंक जोडेको सरस्वती युथ क्लब ‘बी’ डिभिजनमा घटुवा भएको छ ।

Advertisement

 

प्रतिक्रिया