केरुङबाट १२ दिनमा ४ सय ७१ जना नेपाल फर्किए

विदुर खबर २०७६ माघ २३ गते ६:५३

रसुवा । केरुङबाट १२ दिनमा ४ सय ७१ जना नेपालीहरु रसुवागढी नाका हुँदै नेपाल फर्किएका छन् ।

Advertisement

व्यवसाय तथा रोजगारीका लागि तिब्बतको केरुङमा रहेका नेपालीहरु फर्किएका हुन् । नाकामा हेल्थ डेक्स स्थापना गरेयता ४ सय ७१ जना नेपालीहरु रसुवागढी नाका हुँदै नेपाल फर्किएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।रसुवागढी नाकामा माघ १० गतेदेखि हेल्थ डेक्स स्थापना गरी नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकको चेकजाँच सुरु गरिएको थियो। केरुङमा अझै पनि ६६ जना नेपालीहरु रहेका प्रजिअ अधिकारीले बताए। उनीहरु नेपाल फर्कन चाहे त्यहाँका स्थानिय अधिकारीहरुसँग समन्वय गर्ने काम भइरहेको भण्डारीले बताए।

 

केरुङबाट सबैभन्दा बढि नेपाली माघ १८ गते फर्किएका छन्। त्यो दिन १ सय ६३ जना नेपाली फर्किएको हेल्थ डेक्सको रेकर्डमा देखिन्छ। गत सातादेखि चिनियाँ पक्षले केरुङ प्रवेश गर्ने पर्यटक तथा सवारी साधन आवत जावतमा रोक लागाएको छ। तर, केरुङमा रहेका नेपालीलाई भने स्वदेश फर्कन दिइएको छ। चिनियाँ पक्षले गत बुधबारदेखि १५ दिनसम्म लागि रसुवागढी नाकाबाट केरुङ प्रवेश गर्ने पर्यटक तथा सवारी आवत जावत गर्न रोक लगाएको हो।

रोक लगाएपछि नाकामा सवारी साधन चलेका छैनन् भने पर्यटकहरुको पनि आवत जावत नभएको शसस्त्र प्रहरी वल भन्सार तथा राजस्व सुरक्षा गुल्मले जानकारी दिएको छ। अहिले रसुवागढी नाकामा नाकामा दुवैतर्फका सुरक्षा अधिकारीहरु मात्र छन्। दुवैतर्फका सरकारी कार्यालयहरु भने खुल्ला छन्। नाकाबाट आवत जावत हुन छाडेपछि टिमुरे वजार पनि सुनसान छ।

नाकाको हेल्थ डेस्कमा टेम्पल थर्मोमिटर, ब्यक्तिगत सुरक्षा यन्त्र, केस रिपोर्टिङ फर्म्याट, ट्राभल हिस्टोरी, स्क्रिनिङ, स्याम्पल कलेक्सन फर सस्पेक्टेड र आईसोलेसन रूम(जिल्ला अस्पतालमा) ब्यवस्था गरिएको प्रजिअ भण्डारीले बताए। गोसाईकुण्ड गाउँपालिकाको समन्वयमा स्टाफ नर्सको ब्यवस्था गर्न पहल भइरहेको उनले बताए।
Advertisement

प्रतिक्रिया