रसुवागढी नाका : चर्चा धेरै, पूर्वाधार न्यून

विदुर खबर २०७६ माघ १२ गते ८:५३

रसुवा। भूकम्पअघिसम्म रसुवागढी नाकाको खासै चर्चा थिएन । नाकाबन्दी र भूकम्पले जब तातोपानी नाका बन्द भयो, चीन–नेपालको सबैभन्दा पुरानो नाका रसुवागढी एकाएक चर्चामा आयो । त्यसबेला देशभरका नाका ठप्प हुँदा रसुवागढी नाकामात्र सञ्चालनमा रहेको थियो । चीन सरकारले अनुदानमा दिएको तेल रसुवागढी हुँदै नेपाल भित्रिएपछि यो नाकाले थप चर्चा पाएको हो ।

पछिल्लो समय चीनको रेल केरुङ, रसुवागढी हुँदै काठमाडौं पुग्ने कुराले पनि नाकाको चर्चा चुलिएको छ । संकटको समयमा नेपाललाई राहत दिएको रसुवागढी नाकाले जति धेरै चर्चा पाए पनि सीमाको भौतिक अवस्था ज्यादै नाजुक छ । चीनसँग व्यापार हुने पुरानो नाका भएकाले गढीमा ०१३ सालमै भन्सार कार्यालय स्थापना भएको थियो । त्यसबेला नाकासम्म यातायात पुगेको थिएन । नाकाबाट नुन, भेडाच्यांग्रा, जिम्बु, ऊन, जिन्स र मखमलको रोल कपडालगायतका सामान आयात हुन्थे । व्यापारीले केरुङदेखि नै भरियालाई सामान बोकाएर ल्याउँथे । सडकले नजोडिँदासम्म नाकामा खासै चहलपहल थिएन । चीनले स्याफ्रुबेंसी–रसुवागढी सडक निर्माण गरेपछि यो नाका यातायात सञ्जालले जोडिएको हो । यातायात पुगेपछि चहलपहल बढ्दै गयो ।
Advertisement

०७१ मंसिर १५ देखि उक्त नाका विधिवत् रूपमा सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भए । ०७२ मंसिरदेखि रसुवागढी पुन: सञ्चालनमा आयो । चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ । नाकालाई ०७४ भदौ १४ गते चीन सरकारले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी र सवारीसाधनकोको चाप बढ्दै गएको छ । टिमुरे गाउँ सहर बन्ने क्रममा छ । अहिले रसुवागढी नाकाबाट अर्बौं मूल्य बराबरका सामान आयात भइरहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए । भूकम्पका कारण पाँच वर्षअघि तातोपानी नाका बन्द भएपछि यो नाका व्यस्त बनेको हो । भूकम्पले चीनतर्फको भूभागमा पनि ठूलो क्षति पुर्‍याएको थियो । चीनले नाकामा भौतिक पूर्वाधारको विकास गरिसकेको छ । नेपालतर्फको सीमामा भने भौतिक पूर्वाधारले पूर्णता पाउन सकेको छैन । भूकम्पपछि चीनतर्फका संरचना निर्माण भइसके तर हाम्रोतर्फ सरकारबाट कुनै पहल नभएको व्यापारी धर्म पौडेलले बताए ।

चीन सरकारले तिब्बतको सिगात्से हुँदै केरुङसम्म रेल ल्याउने योजना अघि बढाइरहेको छ । सन् २०२२–२३ सम्म चीनको हिमाली उपत्यका केरुङमा रेल आइपुग्ने उसको दाबी छ । केरुङसम्म रेल आउने भएपछि अहिले त्यहाँ तीव्र रूपमा भौतिक पूर्वाधार निर्माण गरिरहेको छ । पछिल्लो समय रसुवागढी नाकालाई चीनको संघीय सरकारले दक्षिण एशिया प्रवेश गर्ने मूलद्वार मानेको छ । अहिले केरुङमा सरकारी कार्यालय थपिँदै छन् । सामान गोदाम गर्नका लागि ठूलाठूला बन्दरगाह निर्माण भइरहेका छन् । केरुङमा निकै अग्ला आधुनिक घर निर्माण भएका छन् । सुविधा सम्पन्न होटल थपिएका स्थानीय मञ्जु थापामगरले बताइन् । व्यापार व्यवसायको कारण केरुङमा दिनदिनै चहलपहल बढ्दै गएको छ । नेपाली सीमाको भौतिक अवस्था भने नाजुक बन्दै गएको छ ।

Advertisement

नाका पुगेपछि दुई फरक दृश्य देखिन्छन् । चिनियाँ भूभागमा आधुनिक भवन, दुई लेनको चिल्लो कालोपत्रे सडक, अध्यागमन र भन्सारका आधुनिक उपकरण जडित भवन छन् भने नेपाली भूभागको संरचना भने ठिक विपरीत छ । नेपालपट्टि सडकमा पानी पर्दा पहिरो र घाम लाग्दा धुलोले सताउने अवस्था छ । ठूलो हावा चल्दा माथिबाट ढुंगा खस्छन् । सवारी जाँच्ने एक्सरे, मेटल डिटेक्टरलगायत आधुनिक मेसिन नहुँदा जाँचमा समस्या भएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालले बताए । ‘अस्थायी टहरामा बसेर सुरक्षा जाँच गर्नुपर्ने अवस्था छ,’ नेपालले भने, ‘अन्य उपकरण पनि छैनन् ।’ भन्सारका कर्मचारी सीमाभन्दा डेढ किमि टाढा टिमुरेको सडकमा उभिएर काम गर्न बाध्य छन् ।

राजधानीबाट रसुवागढी पुग्ने सडक जीर्ण रहेको व्यापारी धर्म पौडेलले बताए । ‘नेपालतर्फको सडक जीर्ण भएका कारण नाकाबाट फुट्ने सामान आयात हुन सकेको छैन,’ उनले भने । नाका पुग्ने सडकमा खाल्टाखुल्टी र पहिरोको जोखिम छ । सडक राम्रो हुने हो भने रसुवागढी नाकाबाट अहिलेको भन्दा दुई गुना बढी सामान ल्याउन सकिने व्यापारीहरू बताउँछन् ।

Advertisement

जिल्लाबाहिरका व्यापारीलाई ‘वान डे पास’ नहुँदा झनै समस्या रहेको छ । अन्तर्राष्ट्रिय मान्यताअनुसार सीमामा अध्यागमन, भन्सार, क्वारेन्टाइन, बैंकलगायतका कार्यालय एकै थलोमा हुनु अनिवार्य छ । तर, सीमामा ती कार्यालय छरिएर रहेकाले व्यापारीलाई जाँचपासमा कठिनाइ छ । अध्यागमन र भन्सार कार्यालय डेढ किमि टाढा (राजधानीतर्फ) टिमुरेमा छन् । नेपालतर्फ सीमामा एकीकृत भवन निर्माणाधीन अवस्थामा छ । भूकम्पले क्षति गरेको नेपाल–चीन जोड्ने मितेरी पुल चीन सरकारले बनाइसकेर सञ्चालनमा आएको छ । स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड पनि चीन सरकारले नै स्तरोन्नति गर्न सुरु गरेको छ । टिमुरेमा बन्ने सुक्खा बन्दरगाह चीनकै सहयोगमा निर्माणकार्य भइरहेको छ । रसुवागढी नाकाबाट केरुङसम्मको दुरी २४ किमि छ ।

बढ्यो आयात

भूकम्पपछि रसुवागढी नाका हुँदै बर्सेनि सामान आयात हुने क्रम बढ्दै गएको छ । आर्थिक वर्ष ०७५/७६ मा चीनबाट करिब २ खर्ब मूल्य बराबरको सामान आयात भएको छ । त्यसमध्ये २० प्रतिशत रसुवागढीबाट भित्रिएको भन्सार विभागको तथ्यांक छ । यो नाकाबाट मुख्य गरी ५ वटा मालवस्तु पैठारी भइरहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए । ‘पैठारी हुने मुख्य मालवस्तुमा तयारी कपडा, स्याउ, जुत्ता र चप्पल, झोला र चस्मा र फ्रेम रहेका छन्,’ उनले भने । चालु आर्थिक वर्षको पुससम्म २५ अर्ब ५६ करोड ३ लाख ३७ हजार मूल्य बराबरको सामान आयात भएको छ । निर्याततर्फ भने ७३ करोड ३४ लाख ४८ हजार मूल्य बराबरका सामान छन् ।

रसुवागढी नाकाबाट आयातभन्दा निर्यात निकै कम रहेको छ । कार्यालयले ६ महिनामा ७ अर्ब ३३ करोड ८८ लाख राजस्व संकलन गरिसकेको छ । भन्सार विभागले चालु वर्षका लागि रसुवा भन्सार कार्यालयलाई ९ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिएको छ ।

प्रतिक्रिया