रसुवामा बाँदर आतंक, आलुबाली सखाप

विदुर खबर २०७६ माघ १० गते १८:०२

रसुवा । खेतबारीमा लगाएका हिउँदे आलु बाँदरले नोक्सान गर्न थालेपछि दक्षिणी भेगका अधिकांश किसान रातदिन पहरा दिन थालेका छन् ।

Advertisement

स्थानीय समाजसेवी विष्णुप्रसाद देवकोटाका अनुसार दक्षिणी रसुवाको कालिका गाउँपालिका वडा नं ५ गैरीफाँट खेत, बडहरे, चित्ती, रूप्सेपानी भदौरे, धुसेनीलगायतका क्षेत्रमा रोपिएका हिउँदे आलुको बोटसमेत उखेलेर बाँदरले कलिला फल खान थालेपछि किसानले अह्रोरात्र पहरा दिन थालेका हुन् । आलु खान कम्तीमा २०० भन्दाबढीको सङ्ख्यामा बाँदरका हुल आउने र १०÷२० जनाले बाँदरलाई लखेट्न आँट नपुग्ने भएबाट अहिले त्यस क्षेत्रका सयौँ किसान हिउँदे प्रमुख बाली जोगाउन सामूहिक पहरा दिइरहेका र पहरा दिँदा दिँदै पनि खेतीमा रहेका आधाभन्दा बढी बिरुवा नोक्सान भइसकेको किसान बताएका छन् । सयाँै हेक्टरमा लागाइएका आलुको बिरूवाले उत्पादन दिन थालिसकेको र फल दिइरहेका बिरुवा रातको समयमा समेत उखलेर बाँदरले खान थालेको बताइएको छ ।

विगतका समयमा बाँदरले कुनै पनि चीज बिहान सूर्यदयोपछि खाने र सूर्यअस्तपछि खान बन्द गर्ने विषेशता थियो । पछिल्लो समयमा बाँदरको खाने बानीमा परिवर्तन आउँदा पछिल्लो पुस्तालाई अन्न तथा फलफूल जोगाइ खान समस्या पर्दै गएको बुढापाकाले बताएका छन् । रसुवाको प्रत्येक गाउँ क्षेत्रमा बाँदरको सङ्ख्या बढ्दै जाँदा कृषि उपज कसरी जोगाउने भन्ने विषयमा अध्ययन गराई बाँदर व्यवस्थापनको पहल कदमी चालिदिन सरकारसामु किसानले विनम्रतापूर्वक आग्रह गरिरहेका समाजसेवी देवकोटाले बताउनुभयो । बाँदरको सङ्ख्या ह्वात्तै बढ्दै गएपछि खेतबारीको अलावा घरमा भण्डारण गरिराखेको अन्नपातसमेत घरको धुरीबाट बाँदरले लाने गरेको र घरमा बाँदर पस्न छालेपछि ससाना बालबालिका डराउन थालेको दक्षिणी रसुवाका बासिन्दाले बताएका छन् ।

Advertisement

प्रतिक्रिया