रसुवागढी नाकाबाट भित्रने पर्यटकको स्वास्थ्य परीक्षण गर्ने तयारी

विदुर खबर २०७६ माघ ९ गते १०:०९

रसुवा । रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने चिनियाँ तथा तेस्रो देशका पर्यटकको स्वास्थ्य परीक्षण हुने भएको छ।

नाकाबाट नेपाल आउने पर्यटकबाट चीनमा फैलिएको कोरोना भाइरस भित्रन सक्ने भएकाले स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको हो। जिल्ला सुरक्षा समितिको बैठकले नाकामा तीन दिनभित्र आवश्यक उपकरणसहित जनशक्ति व्यवस्थापन गर्नका लागि जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको हो। यो नाकाबाट पर्यटकको आगमन बढ्दै गएको कारण सतर्कता अपनाउन आवश्यक भएकाले उक्त निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। चीनमा पछिल्लो समय महामारीको रूपमा कोरोना भाइरस फैलिएको गएको छ।

नाकामा रहेको हेल्थ डेक्सबाट तत्काल सेवा सुरु गर्न सकिने अवस्था नरहेको स्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताए। ‘अहिले सामान्य परीक्षण गर्न सक्ने अवस्था मात्र छ’, उनले भने, ‘नयाँ भाइरसको परीक्षणका लागि उपकरण तथा जनशक्ति छैन।’ सम्भावित लक्षण देखिएको व्यक्ति आएको खण्डमा उसको स्याम्पल लिएर बाहिर पठाउनु पर्ने अवस्था छ।

प्रतिक्रिया