रसुवामा आकस्मिक प्रसूति सेवा सञ्चालनकाे तयारी

विदुर खबर २०७६ माघ ५ गते १८:१८

रसुवा । रसुवामा आकस्मिक प्रसूति सेवा सञ्चालन गरिने भएको छ। जिल्ला अस्पताल, रसुवाले सघन आकस्मिक प्रसूति सेवा तथा नवजात शिशु सेवा (सिइओएनसी) सञ्चालनमा ल्याउन लागेको हो।

सेवा सञ्चालनमा ल्याएपछि मातृ तथा नवजात शिशुको मृत्युदरमा कमी आउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनिलकुमार खरेलले बताए। उनका अनुसार सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिसकिएको छ। सेवा सञ्चालनका लागि तीन वर्षदेखि बजेट आइरहेको छ। तर, सेवा सञ्चालन नहुँदा तीन वर्षदेखि रकम फ्रिज हुँदै आएको छ। ‘सेवा सुरु गर्नका लागि भौतिक पूर्वाधारको कमी छैन’, उनले भने, ‘सेवा सुरु गर्नका लागि एक चरण छलफल पनि गरिसकेका छौं।’ १५ दिनभित्र जिल्लास्थित सबै सरोकारवालासँग छलफल गरेर सेवा सुरु गर्ने तथा यसको दिगोपनाको विषयमा छलफल गरिने उनले बताए। दुई महिनाभित्र सेवा सञ्चालनमा आइसक्ने अस्पतालले जनाएको छ। सेवा सञ्चालनका लागि जनशक्ति व्यवस्थापन गर्न बजेटको व्यवस्था भइसकेको छ।

जिल्ला अस्पतालमा रेफर हुन्छ भन्ने मानसिकताका कारण संस्थागत रूपमा सुत्केरी हुन आउनेको संख्या अझै बढेको छैन। अहिले सेवा सञ्चालन नहुँदा शल्यक्रिया गर्नुपर्ने अवस्था आएमा रिफर गर्ने गरिएको सूचना अधिकारी शान्ति श्रेष्ठले बताइन्। ‘सबै सुत्केरी सामान्य अवस्थामा आउँछन् भन्ने छैन,’ उनले भनिन्, ‘जटिल खालका केस आयो भने तत्काल अप्रसेन गरेर बच्चा निकाल्नुपर्ने हुन्छ।’

अहिले अस्पतालमा सेवा सञ्चालन नहुँदा जटिल केस आएमा रेफर गर्नुको विकल्प छैन। संस्थागत सुत्केरीका लागि मासिक १२ जनासम्म आउने गरेका छन्। तीमध्ये दुई जनासम्म रिफर हुने गरेका अस्पतालले जनाएको छ। दुर्गम पहाडी तथा हिमाली क्षेत्रमा सघन आकस्मिक प्रसूति सेवा एंव नवजात शिशु सेवा नहुँदा बर्सेनि गर्भवती, सुत्केरी तथा नवजात शिशुको ज्यान जाने गरेको छ।

जिल्ला अस्पतालमा पछिल्लो समय सेवा थप गर्दै लगिएको छ। अघिल्लो महिनादेखि अस्पतालले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। त्यसैगरी भिडियो एक्सरे सेवा (युएसजी) सुरु भएपछि भिडियो एक्सरे गराउन नुवाकोट जानुपर्ने बाध्यता हटेको छ।

प्रतिक्रिया