रसुवामा एक हप्ताको लागि दाउरा संकलन गर्न दिइने

विदुर खबर २०७६ पुष १९ गते २०:११

रसुवा । रसुवामा एक हप्ताको लागि सुकेको दाउरा संकलन गर्न दिइने भएको छ ।

Advertisement

जिल्लाको माथिल्लो क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर हुने भएकाले एक हप्ताको प्याकेज बनाएर दाउरा संकलन गर्न दिन लागिएको हो । शुक्रबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रभावित क्षेत्रका बासिन्दालाई दाउरा संकलन गर्न दिनका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयलाई विशेष अनुरोध गर्ने निर्णय गरेको छ ।

‘चिसोको कारण कोही नागरिकको मृत्यु नहोस्’ भन्ने धारणालाई मध्यनजर गर्दै यो निर्णय गरिएको समितिका संयोजक एंव प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । जिल्लाको माथिल्लो क्षेत्रमा हिमपातबाट प्रभावित हुनसक्ने घरपरिवारलाई जाडोको समयमा आगो ताप्नका लागि सुकेको दाउरा संकलन गर्न दिन लागिएको हो । यस क्षेत्रमा कार्तिक अन्तिमबाट जाडो सुरु भएर फागुन अन्तिमसम्म रहन्छ ।

Advertisement

जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको दाहालफेदी, मेन्दो गाउँ, नागथली, लिङलिङ, घुम्बाचौर, शेर्पा गाउँ, भञ्ज्याङ, लाङटाङ, क्यान्जिन, मुण्डु, गोसाइँकुण्ड क्षेत्र, लौरीविना, चोलाङपाटी, नागुङ र ठाडेमा हिमपात हुने गरेको छ । यस्तै आमाछोदिङमोको ठुलोहाकु, नेसिङ, पेल्दुडाँडा, गोल्जुङ, गत्लाङ, पार्वतीकुण्ड, तातोपानी, गोङगाङ, सिम्बु, कालिकाको राम्चे, उत्तरगयाको तिरु, करुम याङ र नौकुण्डको सिम्बन्दी, साङग्युल, बच्चा, दोक्लाङ, यार्सा र युब्रा हिमपातको प्रभावित क्षेत्र हो।

जिल्लामा हिमपातबाट ९ सय ७९ परिवार प्रभावित  भएको समितिले जनाएको छ । यसैगरी समितिले माघ २  गते भूकम्प दिवस बनाउने, विस्थापितको व्यवस्थापन गर्नका लागि जिल्ला आयोजना कार्यान्वयन इकाइ (जिमाली) लाई अनुरोध गर्नेभएको छ । मनसुनको समयमा पहिरोले घरजग्गा तथा बालीमा क्षति भएका परिवारलाई राहतको समर्थन गर्ने लगायतका निर्णय समितिले गरेको छ ।

Advertisement

उज्यालोबाट 

प्रतिक्रिया