रसुवागढी भन्सार कार्यालयमा उत्साहजनक राजश्व संकलन

विदुर खबर २०७६ पुष १० गते १९:२३

रसुवा ।  रसुवागढी भन्सार कार्यालयले मंसिर महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । मंसिरमा ९३ करोड ५७ लाख ८३ हजार रुपयाँ लक्ष्य राखेकोमा १ अर्बभन्दा बढी राजस्व संकलन गरेको हो ।

Advertisement

मंसिरमा १ अर्ब ९१ लाख ९१ हजार राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । यो लक्ष्यभन्दा ७.८४ प्रतिशत बढी हो । कार्यालयले पाँच महिनामा वार्षिक लक्ष्यको ६९.५७ प्रतिशत राजस्व संकलन गरिसकेको छ ।

कार्यालयले साउनमा १ अर्ब ३ करोड ५ लाख ४८ हजार रुपयाँ , भदौमा १ अर्ब ५१ करोड २६ लाख ९० हजार, असोजमा १ अर्ब ३८ करोड ८० लाख ३२ हजार र कार्तिकमा १ अर्ब ४७ करोड १ लाख ११ हजार रुपयाँ राजस्व संकलन गरेको हो ।

Advertisement

पाँच महिनामा लक्ष्यको तुलनामा धेरै राजस्व उठिसकेको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए । ‘नाकाबाट सामग्री आयात बढेको छ’, उनले भने, ‘यसकारण राजस्व संकलन पनि निरन्तर बढ्दै गएको हो ।’

यो वर्ष ९ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । जसमा ६ अर्ब ५१ करोड ५ लाख ७५ हजार राजस्व संकलन भइसकेको छ । गत आर्थिक वर्षमा ९ अर्ब ५० करोड ६२ लाख ६२ हजार रुपयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखिएकोमा १० अर्ब ६० करोड २४ लाख १९ हजार रुपयाँ राजस्व संकलन भएको थियो ।

Advertisement

आर्थिक वर्ष २०७२÷७३ मा २ अर्ब ४ करोड ४६ लाख ८७ हजार ७ सय ४४, आर्थिक वर्ष २०७३÷७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आथिर्क वर्ष २०७४÷७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार राजस्व उठेको कार्यालयको तथ्याङ्क छ ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात भइरहेको छ भने बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात भइरहेको छ । भाषाका समस्याका कारण पाँच महिनादेखि खाद्यवस्तुको आयात तथा निर्यात भने रोकिएको छ ।

प्रतिक्रिया