चिलिमे-त्रिशूली प्रसारण लाइनको काम ४५ प्रतिशत सम्पन्न

विदुर खबर २०७६ असोज २७ गते ९:२९

रसुवा । चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणको ४५ प्रतिशत काम सकिएको छ । रसुवाको माथिल्लो क्षेत्रमा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणमा जोड्नका लागि लाइन निर्माण गरिएको हो ।

Advertisement

आयोजनाका अनुसार अहिले जग्गा अधिग्रहण, मुआब्जा वितरण गर्ने काम सकिएको छ भने प्रसारण लाइनको डिजाइनको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाको हाकु र तिरुमा १५ वटा टावरको उत्खननको काम सकिएको आयोजना प्रमुख सुभारम्भ विक्रम शाहले बताउनुभयो । गोल्जुङदेखि मैलुङसम्म २२० केभी डबल सर्किट र मैलुङदेखि त्रिशूली थ्रीबीको हबसम्म ‘फोर सर्किट’ प्रसारण लाइन निर्माण हुने छ । गोल्जुङदेखि थ्रीबी हबसम्म ७८ वटा टावर रहने बताइएको छ ।

२०१७ डिसेम्बर २० देखि प्रसारण लाइन निर्माण सुरु भएको आयोजनाको २०१९ जुन १३ मा निर्माण सम्पन्न गर्ने कार्ययोजना रहेको थियो । सम्झौता अनुसार काम गर्न नसकेपछि आयोजनाले निर्माणको म्याद थपेको छ । थपिएको समय सीमा अनुसार २०२० फेब्रुअरी २९ मा निर्माण सम्पन्न गरिसक्नु पर्छ । भौगोलिक विकटता, सडकको पहुँच नपुगेको, डिजाइनमा धेरै समय लागेको कारण निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ । प्रसारण लाइनको दूरी साढे २७ किलोमिटर रहेको छ ।

Advertisement

प्रतिक्रिया