नाैबिसे-कलंकी सडकखण्डको जाम हटाउन गृहमन्त्रीको निर्देशन

विदुर खबर २०७६ असोज १२ गते ९:४६

नुवाकोट । गृहमन्त्री रामबहादुर थापाले नाैबिसे-कलंकी सडकखण्डमा भइरहेको सवारी जाम हटाउन आवश्यक सबै व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

Advertisement

उनले ट्राफिक जाम अत्याधिक बढेकाे जनगुनासाे आएको भन्दै तत्काल जनताले महसुस हुनेगरी जाम हटाउन सम्बद्ध सरकारी अधिकारीहरुलाई आज निर्देशन दिएका हुन्। गृहमन्त्री थापाले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेस थापा क्षेत्री, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम ढकाललाई आज मन्त्रालयमा बाेलाएर जाम हटाउन आवश्यक पहलकदमी लिन निर्देशन दिए।

उनले जाम भएका क्षेत्रमा ट्राफिक प्रहरीकाे जनशक्ति बढाउन, व्यस्त समयमा ठूला तथा मालबाहक सवारीसाधनको आवागमनमा राेक लगाउन, बिग्रिएका सवारीसाधन हटाउन, आवश्यक क्रेनकाे व्यवस्था मिलाउन समेत भनेका छन्। जाममा परेका बिमारीहरुकाे आवश्यकताअनुसार उद्धारका सबै उपाय अपनाउन समेत उनले निर्देशन दिए। चाडपर्वकाे माैका छाेपी हुनसक्ने कालाेबजारी तथा यात्रुहरुलाई आवश्यक टिकट वितरणमा समेत केही जनगुनासाे आएकाे भन्दै निगरानी र कारबाही अघि बढाउन सचेत गराएका छन्।

Advertisement

उनले सडक सुरक्षा तथा मर्मतका सम्बन्धमा भाैतिक पूर्वाधार मन्त्रालयसँग समेत समन्वय भइरहेको जानकारी दिए। बैठकमा सरकारी अधिकारीहरुले बिहीबारको तुलनामा शुक्रबार केही सहज रहेकाे जानकारी दिँदै थप सहजताका लागि प्रयास भइरहेकाे जानकारी दिएका थिए। यस्तै, गृह मन्त्रालयले धादिङका सम्बन्धित सरकारी अधिकारीहरुलाई समेत जाम खुलाउन आवश्यक पहल गर्न निर्देशन दिएकाे छ।

प्रतिक्रिया