रसुवामा निजि स्वामित्वका रुख प्रयोग गर्न सहज

विदुर खबर २०७६ असोज ९ गते ७:३६

रसुवा । आफ्नो खेतबारी र जग्गाधनी प्रमाण पूर्जा कायम रहेको निजी स्वामित्वभित्रका जमीनमा आफूले संरक्षण गरेका रूख सहजरूपले उपयोग गर्न पाइने भएको छ ।

Advertisement

निजी जग्गामा रहेका रूख घरेलु प्रयोजनका लागि सहजरूपले उपयोग गर्न पाउनुपर्ने जनप्रतिनिधिको मागलाई सम्बोधन गर्दै लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले निजी स्वामित्वमा रहेका रूख प्रयोग गर्न नजिकको निकुञ्ज चौकीलाई जानकारी दिइ कटानी तथा उपभोगमा सहज पारिएको जानकारी दिनुभयो । आफ्नो बारीको बनस्पति रूख कटान गर्न जमीनको नक्सा, जग्गाधनी प्रमाण पूर्जाको फोटोकपीसहित लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा रु १० टिकट टासी निवेदन दिएर वन प्राविधिकद्वारा स्थलगतरूपमा परीक्षण गर्नुपर्ने झण्झटिलो परिपाटी अन्तः गर्दै निकुञ्ज प्रमुखले गरेको घोषणा स्वागतयोग्य भएको नागरिक समाजले जनाएको छ ।

खेतबारीको बहानामा जङ्गलको रूख कटानी हुनसक्ने आशङ्कामा कार्यालयको आन्तरिक हिसाबले राखेको प्रावधान हटाइएको र घर गोठ बनाउनबाहेक बिक्री वितरणका लागि पठाइने हो भने मूल्य अभिवृद्वि कर भ्याट अनिवार्य तिर्नुपर्ने प्रमुख संरक्षण अधिकृत रानाले बताउनुभयो । जङ्गली जनावरको आक्रमण रोकी किसानले लगाएका अन्नबाली कसरी संरक्षण गर्ने भन्ने एक अन्तरक्रियामार्फत जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्ट, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, उत्तरगयाका उपेन्द्र लम्साल, कालिकाका सीतादेवी पौडेल, नौकुण्डका नुर्पु साङ्बो घले, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, जिल्ला समन्वय सदस्यसमेतको रोहवरमा प्रमुख संरक्षण अधिकृत रानाले आवादी जमीनको रूख सहजरूपले उपभोग गर्न पाउने बताउनुभएको थियो ।

Advertisement

प्रतिक्रिया