रसुवाका ग्रामीण सडक दसैंअघि सञ्चालनमा आउने

विदुर खबर २०७६ असोज २ गते १९:१२

                                                                                       फाईल फोटो

रसुवा । रसुवाका ग्रामीण सडक दसैंअघि नै सञ्चालनमा आउने भएका छन्।

वर्षाले अवरुद्ध भएका जिल्लाका पाँचवटै गाउँपालिकाका सडक सञ्चालनमा आउने तयारीमा छन्। स्थानीय सरकार आएपछि खोलिएका नयाँ ट्र्याक र पुराना सडक दुवै अवरुद्ध भएका थिए। जिल्लाको नौकुण्ड गाउँपालिकाको केन्द्र पारच्याङ जोड्ने तथा अन्य बस्ती जोड्ने सडक सञ्चालनमा ल्याउन योजना बनाइएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकहरि थापाले गाउँपालिका जोड्ने चारवटा सडकमध्ये दुईवटा सञ्चालनमा आएको बताए। ‘गाउँपालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध भएको छ,’ उनले भने, ‘केन्द्रसम्म सवारी नआए पनि पाटीखर्क र भोर्लेसम्म सवारी सञ्चालन सुरु भएको छ।’ लोकिल–लाङ्बु तथा जीवजीवे–पारच्याङ सडक दसैंसम्ममा सञ्चालनमा आउने उनको भनाइ छ। यसका लागि रसुवा र बेत्रावती हाइड्रोले जिम्मेवारी लिएका छन्। जिल्लाको कालिका गाउँपालिकाले पुल नभएका क्षेत्रमा वर्षा रोकिएपछि मात्रै सडक मर्मतको काम सुरु गर्ने जनाएको छ।

खोलामा पुल भएको सडक पाँच दिनभन्दा बढी अवरुद्ध हुन नदिएको गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए। उनका अनुसार रुप्सेपानी–धारापानी सडक सञ्चालनमा छ भने अन्य ग्रामीण सडक सञ्चालित छैनन्। ‘खोलामा पानीको बहाव उच्च भएकाले ग्रामीण सडक मर्मत गरेर सञ्चालनमा ल्याउन सकिएको छैन,’ उपाध्यक्ष न्यौपानेले भने, ‘वर्षा हुन छाडेपछि सडक मर्मतको काम सुरु हुनेछ।’ यो गाउँपालिकासँग एउटा जेसिभी र एउटा टिपर रहेको छ।

त्यस्तै गोसाइँकुण्ड गाउँपालिकाको रोङ्गा–थुमन सडकखण्ड अवरुद्ध छ। सो सडक सञ्चालनमा ल्याउन प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए। यस्तै आमाछोदिङ्मो गाउँपालिकाका ग्रामीण सडकमध्ये एउटा सडक मात्रै अवरुद्ध भएको छ। रोङ्गा–चिलिमे सडक अवरुद्ध भएको भए पनि यसले ठूलो प्रभाव नपारेको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताए। ‘सडक खुलाउन हामीले काम थालेका थियौं,’ उनले भने, ‘तर खोला तर्न नसक्ने भएकाले सकेनौं।’

जिल्लाको उत्तरगया गाउँपालिकाले भने चारवटै वडाका सडक एउटैलाई मर्मत गर्न दिने गरी टेन्डर निकाल्ने तयारी गरेको छ। गाउँपालिका–५ बाहेक अरू वडामा सवारी सञ्चालन हुन सकेको छैन। प्रतिकूल मौसमका कारण काम गर्न नसकिएको गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले बताइन्। गत वर्ष पनि जिल्लामा रहेका ग्रामीण सडक दसैंअघि नै सञ्चालनमा ल्याइएको थियो।

प्रतिक्रिया