रसुवागढी जोड्ने मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु

विदुर खबर २०७६ भदौ २८ गते १७:२९

रसुवा । रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु भएको छ। पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे सडक अवरुद्ध भएपछि शनिबारदेखि मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु गरिएको हो।

रसुवाको कालिका गाउँपालिका–१, नागर्दुन क्षेत्रमा पहिरो सडक लगेपछि चार दिनदेखि नाका जोड्ने सडक अवरुद्ध भएको छ। यो सडक खुलाउन धेरै समय लाग्ने भएकाले छोटो दूरीको सडक खुलाउन लागिएको हो। सडकको मैलुङ तथा छोक्कल दुवैर्फबाट सडक खुलाउने काम सुरु गरिएको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए। ‘सडक खुलाउनका लागि ब्लाष्टिङ गर्नु पर्दैन, उनले भने, यसकारण यो सडक छिटै खुल्छ।’

‘पहिरो हटाउनका लागि समस्या छ, उनले भने, जति फाल्यो उति आउने खालको छ।’ त्रिशूली खोला नजिकै रहेको खोल्चो पुरेर बाटो बनाएको कारण बाटो सबै बगाएको छ भने त्रिशूली खोलामा राखिएको हिमपाइप पनि बगाएको छ। सडक सञ्चालनमा ल्याउनका लागि सडक विभाग, गोसाइँकुण्ड, उत्तरगया र आमाछोदिङ्मो गाउँपालिका, रसुवागढी जलविद्युत् आयोजनालगायतले सडक खुलाउने काम गरिरहेका छन्। २०७२ वैशाख १ गतेदेखि निर्माण कार्य सुरु भएको मैलुङ स्याफ्रु सडकको २०७५ जेठ ६ गते ट्रयाक खोल्ने कार्य सम्पन्न भएको थियो।

यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो। राष्ट्रिय योजना आयोगको मध्यकालिन खर्च संरचना (२०७५÷७६–०७७÷७८) मा उल्लेख भए अनुसार आर्थिक वर्ष २०६१÷६२ सालदेखि निर्माण सुरु भएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजना २०७५÷७६ भित्र निर्माण तथा स्तरोन्नति भएको हुने उल्लेख छ।

प्रतिक्रिया