नेकपा रसुवाद्वारा समाचारको खण्डन

विदुर खबर २०७६ भदौ १६ गते १९:५३

रसुवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाले कालिका गाउँपालिकाका अध्यक्ष सिता कुमारी पौडेलका सम्बन्धमा गत शनिबार प्रकाशित समाचार नियोजित, भ्रामक र तथ्यहीन भन्दै उक्त समाचारको खण्डन गरेको छ । समाचारको खण्डन गर्दै नेकपाको लोकप्रियताबाट अत्तालिएका केही प्रतिक्रियावादी तत्वहरुले फैल्याएको नियोजित हल्ला भएकाले भ्रममा नपर्न सो पार्टीले आमसमुदायलाई अनुरोध गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै नेकपाले गत शनिबार  एक अनलाइनमा प्रकाशित उक्त समाचारले गाउँपालिकाका अध्यक्षलाई भ्रष्टाचारको आरोप लगाएर फसाउने नियोजित षड्यन्त्र गरेको भन्दै भर्त्सना गरेको छ । जारी विज्ञप्तिमा गाउँपालिकाले गरेका राम्रा कामका विरुद्ध केही प्रतिक्रियावादी, जनविरोधी तत्वहरु योजनावद्ध रुपमा लागेको दावी गरिएको छ ।

Advertisement

‘गाउँपालिकाले शिक्षा, स्वास्थ्य, रोजगार, विकास निर्माण लगायतका धेरै काम गरेको सर्वविदितै छ । गाउँपालिकाले बिकृति, विसंगति र भ्रष्टाचार विरुद्ध चलाएको अभियानले सुशासन र पारदर्शितालाई स्थापित गरेको छ । तर, गाउँपालिकाले गरेका राम्रा कामका विरुद्ध प्रतिक्रियावादी, जनविरोधी तत्व र शक्तिहरु न्वारन देखिको बल लगाएर भ्रम छर्न र असफल पार्न लागिरहेको तथ्य प्रष्ट हुन् आएको छ ।’ विज्ञप्तिमा भनिएको छ । अध्यक्ष कर्न्याल लामाद्वारा हस्ताक्षेरित विज्ञप्तिमा ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय नारा कार्यान्वयन गर्न सबै तहका सरकार लागिरहेको सन्दर्भमा गाउँपालिकाले गरेका उल्लेखनीय कामलाई असफल बनाउने प्रयासस्वरुप सुनियोजित ढंगले भ्रामक समाचार प्रकाशन गरिएको बताइएको छ ।विज्ञप्तिमा तथ्यहीन र स्रोतहीन झुट्टा समाचारको भ्रममा नपर्न अनुरोध गर्दै उक्त अनलाइनमा प्रकाशित समाचारको स्रोतको छानविन गरि सत्यतथ्य बाहिर ल्याउने प्रतिवद्धतासमेत व्यक्त गरिएको छ ।

प्रतिक्रिया