उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुदै

विदुर खबर २०७६ भदौ १४ गते ८:३९

नुवाकोट ।  पाँचौ संस्करणको साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि आज (शनिबार) नेपाल र भारतबीच प्रतिस्पर्धा हुदैछ । कोलकत्तास्थित कल्याणीमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

Advertisement

नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । पाँच राष्ट्र सम्मिलित प्रतियोगिताको दोस्रो स्थानमा रहदै नेपाल फाईनल पुगेको हो ।अघिल्ला दुई संस्करणमा उपाधि नजिक पुगेको नेपाल फाइनलमा भारतसँग पराजित हुँदै असफल बन्दै आएको थियो । नेपाली टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले भारतीय टिमलाई रोक्दै इतिहास रच्न रणनीतिका साथ मैदान उत्रने बताउँछन् ।‘भारतीय टिम निकैनै बलियो छ । उसका विङ्गर धेरै बलिया छन् ।’ फाइनल अघि श्रेष्ठले भने, ‘हाम्रो पनि खेल सुधार भईरहेको छ । खेलाडी पनि फिट छन् । विपक्षीको खेल अध्ययन गरेका छौं । त्यसै अनुसार खेल्छौं ।’ बलियो भारतलाई उसैको मैदानमा रोक्न नेपाललाई कठिन हुनेछ । भारत प्रतियोगितामा शतप्रतिशत जित निकाल्ने एक्लो टिम हो । पहिलो खेलमा भारतले नेपाललाई हराएको थियो । नेपाल पहिलो खेलमा भारतसँग व्यहोरेको हारको बदला समेत लिन चाहन्छ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाललाई भारतले ५–० गोल अन्तरले पराजित गरेको थियो । त्यसपछि भने नेपालले लगातार जित निकाल्दै फाईनल पुगेको हो । नेपालले दोस्रो खेलमा श्रीलंकालाई २–०, तेस्रो खेलमा बंगलादेशलाई ४–१ र अन्तिम खेलमा भुटानलाई ६–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो । यता, भारत भने उपाधिमा ह्याट्रिक गर्ने दाउमा छ । भारतले सन् २०१३ र २०१७ मा उपाधि जित्दा दुवै पटक नेपाललाई फाइनलमा हराएको थियो । भारतीय प्रशिक्षक विविआनो फर्नान्डेजले आफ्नो खेलाडी निकै मिहेनत गरिरहेको र फाइनलमा पनि अघिल्ला प्रदर्शनलाई कायम राख्नेमा विश्वस्त रहेको बताएका छन् ।

Advertisement

‘खेलाडीले राम्रो गरिरहेका छन् । फाइनल खेलमा पनि सोहि प्रदर्शन दोहर्याउनेमा विश्वस्त छु,’ नेपालसँगको खेलअघि फर्नान्डेजले भने । पहिलो खेलमै नेपाललाई सजिलै पराजित गरेको भारतले दोस्रो खेलमा भुटान, तेस्रो खेलमा श्रीलंका र अन्तिम खेलमा साविकको विजेता बंगलादेशलाई पराजित गरेको थियो ।

प्रतिक्रिया