कांग्रेसका ‘निकम्मा’ संगठन : वर्षौंसम्म भएन महाधिवेशन

विदुर खबर २०७६ भदौ ९ गते २१:२०

नुवाकोट, नेपाली कांग्रेसको पहिलो जागरण अभियान सकिएसँगै आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दोश्रो जागरण अभियान सुरु गर्नुअघि नै सबै भातृ संस्थाको नेतृत्व चयन हुने बताएका थिए। दोश्रो चरणको अभियान सुरु हुन १५ दिन बाँकी रहँदासम्म भातृ संस्थाको महाधिवेशन गर्न तथा पूर्णता दिनलाई पार्टीले पहल गरेको छैन। जारी केन्द्रीय समितिको बैठकमा भातृ संस्थाको महाधिवेसन तथा पूर्णताका विषयमा छलफल हुन सकेको छैन।

Advertisement

पार्टीको तल्लो तहमा संगठन निर्माणका लागि बल्लतल्ल निर्देशिका बनाएको नेपाली कांग्रेसले भातृ संस्था र शुभेच्छुक संगठनको महाधिवेशन गराउन पहल गरेको छैन। पार्टीको मेरुदण्डका रूपमा चिनिने नेपाल विद्यार्थी संघको केन्द्रीय समिति भंग गरिएको छ। पूर्ण कार्यसमिति नबन्दै तरुण दलको कार्यकाल सकिन लागेको छ। नेपाल दलित संघ, नेपाल किसान संघले महाधिवेशन गर्नै सकेका छैनन्। कांग्रेस निकट पत्रकारहरूको संगठन प्रेस युनियनको कार्यकाल सकिएपनि महाधिवेशनको टुंगो छैन।

‘नर्सरी’ संगठन ६ महिनादेखि नेतृत्वविहीन
नेपाली कांग्रेसका नेता उत्पादनका लागि मुख्य संगठनका रुपमा परिचित नेविसंघलाई भंग गरी निष्क्रिय बनाइएको छ। नियमित समयमा १२औं महाविधेशन गर्न नसकेका निर्वतमान अध्यक्ष नैनसिंह महरले गत फागुनमा राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहीन बनेको छ। उनले राजीनामा दिएसँगै विद्यार्थी संगठन नेतृत्वविहीन बनेको ६ महिना पुगिसकेको छ।

Advertisement

दुई पटक गरी ५ महिना थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि महरले राजीनामा दिन बाध्य भएका थिए। गत माघ २ मा थपिएको ५ महिना पूरा भएको थियो। अतिरिक्त समयमा डेढ दर्जन जिल्लामा अधिवेसन सकिएको थियो। केन्द्रीय महाधिवेशन महर नेतृत्वको कार्यसमितिले गर्न सकेन।

संघको नेतृत्वमा उमेर हदबन्दी कायम गरिनुपर्ने र हटाउनुपर्ने दुई धारमा विभाजित भएपछि विद्यार्थी नेता तथा पार्टी नेतृत्व विभाजित हुन पुगेको थियो। बहुमतका आधारमा उमेरको हदबन्दी कायम गरिएपनि महाधिवेशन गर्ने माहोल भने बन्न सकेन। महरको राजीनामासँगै तदर्थ समिति बनाउन तयारी गरेको पार्टीमा गुटका स्वार्थ अघि आएपछि तदर्थ समिति गठन हुन सकेको छैन। पछिल्लो समय संघको नेतृत्व चयनका विषयमा पार्टीमा कुनै छलफलसमेत हुन छोडेको नेता अर्जुनरसिंह केसीले बताए।

Advertisement

संस्थापन र इतर समूहका नेताबीच तदर्थ समितिको नेतृत्वमा आ-आफ्नो व्यक्ति अघि सार्ने होडबाजी नै चलेको छ। नेतृत्वमा चयन हुने व्यक्तिका विषयमा एकमत हुन नसकेपछि नेविसंघ भुमिकाविहीन छ। संस्थापन पक्षबाट ऋषिकेश शाह, सरोज थापा र प्रेमराज जोशीले तदर्थ समितिको नेतृत्वमा दाबी गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ११औं महाधिवेशनमा अध्यक्षमा पराजित भएका मनोजमणि आचार्यलाई तदर्थ समितिको जिम्मेवारी दिनुपर्ने पक्षमा छ। सोही समूहबाट तदर्थ समितिमा उमेर हद लागू भए शिव बस्याल, जीवन परियार अध्यक्षको लाइनमा छन्।

पार्टीको निर्वाचन समितिलाई जिम्मेवारी दिएर संघको महाधिवेशन गर्न केही नेताले नेतृत्वलाई सुझाएका छन्। नेता डा रामशरण महत र अर्जुननरसिंह केसीले निर्वाचन समितिले महाधिवेशन गर्ने गरी जिम्मेवारी दिनुपर्ने आवाज अघि बढाएका छन्।

पार्टीका भातृसंस्थाका नेतृत्व भंग गर्न एक भएका नेताहरू नयाँ नेतृत्व चयन गर्ने बेला गुटको स्वार्थमा लागेकाले संघले नेतृत्व पाउन नसकेको निर्वतमान केन्द्रीय सदस्य सुशील भट्टले बताए। उनले भने, ‘भंग गर्न आतुर गरे। संगठनको माया होइन, गुटको माया देखियो।’ अन्य भातृ संस्थाको महाधिवेसन वर्षौ नहुँदा पनि चुप लागेको पार्टी नेविसंघलाई नेतृत्वविहीन बनाएको भन्दै नेतृत्वप्रति गुनासो गरे।

चार जनामा सीमित तरुण दल
कार्यकाल सकिनै लागेको तरुण दलको नेतृत्वमा चार जना मात्रै छन्। गुटगत भागबन्डाका आधारमा चयन भएको वर्तमान नेतृत्वको देउवापक्षीय जितजंग बस्नेतलाई अध्यक्ष, नेता कृष्णप्रसाद सिटौला समूहका उत्तम चापागाईँ उपाध्यक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका भुपेन्द्रजंग शाही महासचिव र कोषाध्यक्ष पदमा स्व खुमबहादुर खड्का निकट विद्वान गुरुङ छन्। पार्टीका चार गुटलाई एक/एक जना भागबन्डा गरिएको थियो।

पूर्णता नपाउँदै तरुण दलको कार्यकाल सकिन लागेको छ। वर्तमान कार्यसमितिको समय कार्तिकमा सकिदैंछ। तरुण दललाई पूर्णता दिन पटकपटक आग्रह गरे पनि सुनुवाई नभएको महासचिव भुपेन्द्रजंग शाहीले दुखेसो पोखे। उनले भने, ‘नेतृत्वले सुनेन। महासचिव भुमिकाले पूर्णता दिन आफैं अघि सर्छु।’

प्रेस युनियनले महाधिवेशन गर्नै सकेन
कार्यकाल सकिएको प्रेस युनियनले नियमित समयमा महाधिवेशन गर्न सकेको छैन।  नियमित कार्यकाल तीन वर्ष रहेको प्रेस युनियनको विशेष व्यवस्थाका कारण भन्दै विधानतः एक वर्ष थपिएको थियो। २०७१ भदौमा महाधिवेशन गरेको प्रेस युनियनको थपिएको एक वर्ष २०७५ भदौमा सकिएको थियो। सोलुखुम्बु, महोत्तरी, काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, तनहुँ, बाँके र अछाममा जिल्ला अधिवेसन हुन सकेको छैन। अधिवेशन हुन नसकेका जिल्लाले भदौभित्र अधिवेशन गर्न नसके महाधिवेशनमा प्रतिनिधित्व नगराउने प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले बताए। उनले भने, ‘महाधिवेशन गर्ने छाँटकाँट ती जिल्लाले देखाएका छैनन्।’

युनियनले मंसिरको २८ र २९ मा महाधिवेशन गर्ने मिति तय गरिएको छ।

वर्षौं महाधिवेशन नगर्ने आधा दर्जन
नेपाल दलित संघ नियमित महाधिवेसन नगर्ने कांग्रेसको अग्रणी भगिनी संस्था हो। २०६९ मा महाधिवेशन भएको दलित संघको कार्यकाल २०७२ फागुनमा सकिएको हो।

तीन वर्ष कार्यकाल रहेको दलित संघको वर्तमान कार्यसमितिले थप चार वर्ष गुजारेको छ। मीन विश्वकर्माको नेतृत्वमा रहेको दलित संघले वर्तमान कार्यसमितिले ७ वर्ष कटाएको छ। पार्टीले विधान उपलब्ध नगराएकाले महाधिवेशन हुन नसकेको दलित संघकी महासचिव लक्ष्मी परियारले बताइन्।

प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ, नेपाल किसान संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल ठाकुर समाज, तामाङ संघलगायतका भातृ संस्थाले वर्षौं महाधिवेशन गर्न सकेका छैनन्।

प्रतिक्रिया