ट्राउट माछाको ट्रान्जिट बन्दै नुवाकोट, ४० वटा व्यावसायिक फार्म संचालनमा

विदुर खबर २०७६ असार २५ गते १२:०५

नुवाकोट असार २५, नुवाकोट सदरमुकाम विदुरबाट ३० किलोमिटर दूरीमा छ किम्ताङ गाउँ । दुई दाजुभाइ पूर्णबहादुर र कमलबहादुर तामाङले सुरु गरेको माछापालन व्यवसायले यो गाउँलाई अहिले विशेष बनाइदिएको छ ।

Advertisement

लहरै खेतका गरा जसरी सङ्लो पानी भरिएका पोखरीमा सल्बलाइरहने रेन्बो ट्राउट माछाले अहिले धेरैको ध्यान खिचेको छ । १६ वर्ष भारतीय सेनामा बिताएका कमल जागिर सकिएपछि २०६६ सालमा सुरक्षागार्डका रूपमा अफगानिस्तान जान ठिक्क परेका थिए । २०५५ सालदेखि ककनीमा गोपाल लामाले सुरु भएको ट्राउट माछापालनबारे उनले भारतमै रहँदा सुनेका थिए ।ट्राउटबाट प्रशस्त आम्दानी भएको सुनेपछि उनको योजना बदलियो । उनले जिल्लाका माछा फार्महरू चहारे । ट्राउट माछापालन विधिबारे सिके । कोदो, पिँडालु, आलु रोप्दै आएको कुन्दुल खोलाको सिंगम दोभानको आफ्नै जग्गालाई उनले माछाको नयाँ घर बनाउने निर्णय गरे ।

मत्स्य अनुसन्धान केन्द्र त्रिशूलीबाट प्राविधिक टोली लगेर ठाउँ देखाए । माछाका लागि उपयुक्त ठहरियो तर सडक समस्याका रूपमा देखा पर्‍यो । ३ लाख लगानीमा आफैंले म्यागङ भन्ज्याङबाट तार्सिङसम्म साढे २ किमि सडक खनेर फार्मसम्म पुर्‍याए । २०६७ सालबाट माछापालन सुरु भयो । उनका अहिले १४ वटा पोखरी छन् । पहिलो वर्ष १० हजार भुरा हाले । माछापालन राम्रै भयो तर बजारको समस्या देखियो । महँगोमा माछा पालेर सस्तोमा बिक्री गर्नुपर्ने अवस्था आयो । उनकै सिको गर्दै दाइ पूर्णबहादुरले यो पेसा अँगालेपछि भने बजारको समस्या सल्टियो ।

१२ वर्षको उमेरदेखि २५ वर्षसम्म भेडा गोठालोका रूपमा काम गरेका पूर्णबहादुर त्यसपछि वैदेशिक रोजगारीमा गए । १६ वर्ष ६ महिना साउदी बसेर फर्किएका पूर्णबहादुर युरोप जाने तयारीमा थिए । दलाललाई पैसा बुझाएर ३ वर्षसम्म भिसा कुरेर बसे । नआएपछि माछापालनलाई आम्दानीको स्रोत बनाउन कस्सिए । साउदीबाट ल्याएको पैसाले किनेको विदुर नगरपालिकाको घडेरी बेचे । घडेरीको पैसा २३ लाख ४० हजार लगानी गरेर माछापालन थाले । सिंगम दोभानमै पोखरी बनाउन थाले ।

Advertisement

उनलाई सिकाउन र सघाउन भाइ छँदै थिए । ‘सुरुमा १६ हजार भुरा हालेकोमा ४ हजार ५ सय मात्र बाँचे,’ उनले भने, ‘पछि ३० हजार भुरा हाल्दा २५ हजार बाँचे ।’ दाना किनेर ल्याउँदा महँगो पर्ने भएकाले उनले आफैं दाना बनाउन ३ लाख हालेरमेसिन किने ।

माछा तयार भए पनि उनलाई बजारको समस्या उस्तै थियो । जिल्लाका होटलमा माछा लिइदिन बिन्ती गरे । ड्रममा माछा हालेर उधारोमा बेच्न रसुवाको भार्कुसम्म पुगे । ठूलो बजार खोज्दै पोखरा पनि पुर्‍याए । तर, अक्सिजन नपुगेर माछा बाटैमा मरे । अनेक उपाय असफल भएपछि उनी पुगे, मत्स्य अनुसन्धान केन्द्र त्रिशूली । केन्द्रका कर्मचारीले सल्लाह दिए, माछाको परिकार बनाएर बेच्ने रेस्टुरेन्ट खोल्ने । केन्द्रकै आडमा उनको जग्गा थियो । त्यहीं रेस्टुरेन्ट खोले । छेवैमा जिउँदा ट्राउट राख्ने पोखरी पनि बनाए । जेठो छोरा लाक्पाले रेस्टुरेन्टको जिम्मा लिए । ‘रेस्टुरेन्ट खोलेपछि माछा बिक्री गर्न भ्याइनभ्याइ छ,’ पूर्णबहादुरले भने, ‘अहिले परिवारका दसै जना रोजगार भएका छन् ।’ टाढा–टाढाबाट माछाको स्वाद चाख्न पारखीको भीड लाग्छ । कोही परिवारसहित त कोही कार्यक्रमको सिलसिलामा आउँदा ट्राउटको स्वाद नलिई फर्कंदैनन् ।

माछा राखेको १० महिनामा बिक्री गर्न सकिन्छ । उनले अहिले काँचो प्रतिकेजी १ हजार २ सयका दरले बिक्री गर्दै आएका छन् । पाकेको माछाको स्वाद लिने धेरै हुन्छन् । पकाएको माछा प्रतिकेजी १ हजार ६ सय रुपैयाँमा बिक्री गर्छन् । भाइ कमलबहादुरको पोखरीका माछा पनि दाइ पूर्णबहादुरकै रेस्टुरेन्टमा बिक्री हुने गरेको छ । कमलबहादुर अहिले जनप्रतिनिधि बनेका छन् । ‘सबैले जनप्रतिनिधि बन्न आग्रह गर्नुभयो,’ उनले भने, ‘अटेर गर्न सकिनँ ।’ उनी म्यागङ गाउँपालिका(४ का वडाध्यक्ष हुन् । माछाको हेरविचार श्रीमती प्रेममाया गर्छिन् । ‘शनिबार कतै जान्नँ, दिनभर फार्ममै बिताउँछु,’ उनले भने, ‘पोखरीको सफाइ र माछालाई चारो हाल्दैमा दिन बित्छ ।’

Advertisement

माछा पालनसँगै रेस्टुरेन्ट

मत्स्य अनुसन्धान केन्द्र त्रिशूलीका वैज्ञानिक महेन्द्रप्रसाद भण्डारीका अनुसार जिल्लाभर ४० वटा व्यावसायिक ट्राउट फार्म छन् । ट्राउट पाल्नेले अनिवार्यजस्तै रेस्टुरेन्ट खोलेका छन् । रेस्टुरेन्ट चल्ने मुख्य आधार ट्राउट बनेको छ । अधिकांशले ट्राउट चाख्ने गन्तव्य काठमाडौंबाट करिब ३० किमि टाढाको ककनीलाई बनाउँदै आएका छन् ।

ककनी गाउँपालिका ४, दोभानका ३८ वर्षीय मदन लामालाई शुक्रबार र शनिबार बोल्ने पनि फुर्सद हुँदैन । त्यो दिन काठमाडौं आसपासबाट स्वाद लिन आउनेको घुइँचो लाग्छ । उनको फल एन्ड ट्राउट भिलेज फिस फार्ममा निजी सवारीसाधन लिएर परिवारसँग रमाउन आउने धेरै हुन्छन् । उनका ६ वटा पोखरी छन् । त्यसमा माछा हाल्ने तयारीमा छन् । ‘दुइटा पोखरीबाट सुरु गरेको थिएँ,’ उनले भने, ‘अहिले ६ वटा छन्, यसको संख्या बढाउँदै लग्ने सोच छ ।’ उनको रेस्टुरेन्टमा आफ्नै उत्पादनले मात्र पुग्दैन । माग धेरै हुने भएकाले गाउँबाट समेत ल्याउने गरेका छन् । बेलकोटगढी नगरपालिका १३, बेतिनीका ३५ वर्षीय तिलकबहादुर लामा यो पेसामा लागेको दशक नाघ्यो । आठवटा पोखरीबाट सुरु गरेका उनले अहिले २३ वटा पुर्‍याए । १८ वटामा माछा छन् । थप ५ वटामा राख्ने तयारीमा छन् । पोखरी वरपर फूल रोपेर बगैंचा बनाएका छन् ।

घाम लागेको दिन पोखरीका माछा टल्किन्छन् । इन्द्रेणी परेजस्तो देखिन्छन् । पहिला काठमाडौंका हायात, र्‍याडिसन होटलमा यो माछाको अर्डर हुन्थ्यो । उनी पुर्‍याउन जान्थे । अहिले रेस्टुरेन्ट चलाउन थालेपछि आफैंलाई पुग्दैन । अहिले उनका पोखरीमा २५ हजार भुरा हुर्कंदै छन् । पोखरीमा राखेको ९ महिना भयो । एक वर्ष पुगेपछि एउटा माछा २ सय ग्रामको हुन्छ । त्यसपछि निकाल्न थाल्ने उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममार्फत समेत सहयोग पाए । त्यसैले नयाँ पोखरी थपे । पोखरीबाट निस्कने पानीलाई खपत गर्दै ३ दशमलव ५ किलोवाट बिजुली निकाल्ने उनको तयारी छ । ‘यो जोखिमको पेसा हो,’ उनले भने, ‘जोखिम मोल्न सके आम्दानी राम्रो छ ।’ माछाको रेखदेखमा दम्पती खटिन्छन् । उनका अनुसार बिहान ७ बजे, मध्याह्न १२ बजे र अपराह्न ५ बजे दाना दिनुपर्छ । बेला–बेला माछाको दिसा पाइप लगाएर सफा गर्नुपर्छ । ‘वर्षाको पानी देखेर मात्र यो पेसामा लाग्नु भएन,’ उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘हिउँदमा पनि पानी नसुक्ने ठाउँमा मात्र पाल्नुपर्छ ।’

प्रतिक्रिया