बागमतीमा १० लाखका योजना पनि ठेक्काबाट

नुवाकोट ।बागमती प्रदेश सरकारले १० लाख वा १० लाखभन्दा बढीका योजनाहरु ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने भएको छ ।

यस सम्बन्धी निर्णय मन्त्रीस्तरबाट भइसकेको र अब यसलाई मन्त्रिपरिषदबाट अनुमोदन गराउने तयारीमा रहेको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बताए ।
‘मंगलबारको मन्त्रीस्तरीय निर्णयबाट प्रदेशमा पहिलो पटक यो निर्णय लिइएको छ,’ मन्त्री तामाङले भने, ‘प्रदेश सरकारको आगामी मन्त्रिपरिषद्को बैठकबाट पनि निर्णय भएपछि कार्यान्वयनमा लगिने छ ।’
बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले केही दिनअघि निर्माण व्यवसायी संघ मकवानपुरको सार्वजनिक कार्यक्रममा नै १० लाख माथिका योजना ठेक्काबाट कार्यान्वयन गर्ने घोषणा गरेका थिए ।
मन्त्री तामाङले बजेटमा बिचौलियाको प्रवेश भएको गुनासो प्रदेशसभा बैठकमा जोडले उठेको विषयको सम्बोधन र ठेक्का प्रक्रियामा जाँदा बजेटको संचिती पनि हुने दुई मुख्य कारणले १० लाखमाथिका योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने निर्णय लिएको बताए ।
‘हामीले बजेट तर्जुमा गर्दाको र कार्यान्वयनको अवस्था, आगामी बजेट निर्माणमा मार्गनिर्देशनका रुपमा र धेरै पक्षको मूल्यांकन गरेर यो निर्णय लिएका छौं,’ उनले भने, ‘आगामी मन्त्रिपरिषद्मा अनुमोदनका लागि पेश गर्ने निर्णय पनि भएको छ ।’
उनले थपे, ‘हामीलाई थाहा छ, सुरुमा यसले केही चुनौतीहरु ल्याउँछन् । तर प्रदेशका लागि महत्वपूर्ण निर्णय हुनेछ ।’ बागमती सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो । प्रदेश सरकारसँग २४ हजार वटा योजना छन् ।
चालुतर्फ ३८ दशमलव ६ प्रतिशत अर्थात २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ ६१ दशमलव ४ प्रतिशत अर्थात ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार विनियोजन भएको छ ।
खानेपानी, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव इन्द्रदेव भट्टले १० लाख वा १० लाख माथिका योजना ठेक्का प्रक्रियाबाट गर्न समस्या नभएको बताए । ‘कर्णालीमा ३० लाख माथिका योजना ठेक्काबाट हुन्छ । यहाँकै भौतिक मन्त्रालयले पहिल्यैदेखि ठेक्काबाट कार्यान्वयन गरिरहेको रहेछ । सरकारले चाहे कार्यान्वयनमा समस्या हुँदैन,’ उनले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया