दशैंलाई खसीबोकाको अनलाइन बुकिङ खुल्यो

नुवाकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष दशैंलाई लक्षित गरी खसी, बोका र च्याङ्ग्र्राको अनलाइन अग्रिम बुकिङ सुरु गरेको छ ।

कम्पनीका अनुसार अनलाइन बुकिङ मंगलबारदेखि खुला भई भदौ ३० गतेसम्म बुकिङ गर्न सकिनेछ ।
उपभोक्ताले कम्पनीको अनलाइन पोर्टलमार्फत चाहिएको पशु छनोट गरी अग्रिम भुक्तानी गरेर बुकिङ गर्न सक्नेछन् । खसी वा बोकाका लागि ४ हजार रुपियाँ र च्याङ्ग्राका लागि ५ हजार रुपियाँ अग्रिम शुल्क तिर्नुपर्ने व्यवस्था छ । अन्तिम मूल्य भने पशुको तौलअनुसार निर्धारण हुनेछ । कम्पनीले गत वर्षकै हाराहारीमा मूल्य रहने जनाएको छ ।
कम्पनीले २० देखि ४० किलो तौलका समूहमा पशु छनोट गर्ने विकल्प उपलब्ध गराएको छ । घटस्थापनादेखि सप्तमीसम्म बुकिङ गरिएको पशु तोकिएको मितिमा उपभोक्ताले कम्पनीको बिक्री केन्द्रबाट प्राप्त गर्न सक्नेछन् । बुकिङ पुष्टि भएपछि उपभोक्तालाई एसएमएसमार्फत कोड नम्बर पठाइनेछ, जसको आधारमा पशु बुझिलिन सकिने कम्पनीले जनाएको छ ।
यस वर्ष कम्पनीले १ हजार ८ सय खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने लक्ष्य राखेको छ । यसमध्ये खसीबोका १ हजार ५ सय र च्याङ्ग्रा ३०० रहेको कम्पनीले जनाएको छ । कम्पनीले उपलब्ध गराउने खसी बोका तथा च्याङ्ग्राहरू स्वास्थ्यदायी र मापदण्डअनुरूपका हुनेछन् । तर, विशेष जात वा रङको सुनिश्चितता गर्न नसकिने कम्पनीले जनाएको छ ।
अनलाइन बुकिङमा खसी–बोका मात्र नभई चामल, दाल, तेल, गेडागुडी र कर्णालीका विशेष उत्पादनलगायत दैनिक उपभोग्य वस्तु पनि समावेश छन । यी सामग्री काठमाडौंको चक्रपथभित्र निःशुल्क डेलिभरी गरिने व्यवस्था गरिएको छ । उता दशैँ लक्षित झण्डै १५ हजार भेडाच्याङ्ग्र्रा यस वर्ष मुस्ताङबाट निकासी हुने भएको छ । जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार यो संख्या गत वर्षको तुलनामा दोब्बर हो ।
गत वर्ष मुस्ताङबाट ८ हजार र डोल्पाबाट मुस्ताङ हुँदै ४ हजार भेडाच्याङ्ग्र्रा निकासी भएका थिए । यस वर्ष डोल्पाबाट मात्र ५ हजारभन्दा बढी भेडाच्याङ्ग्र्रा आउने अनुमान छ । यसरी मुस्ताङ र डोल्पाको उत्पादन मिलाएर करिब २० हजार भेडाच्याङ्ग्र्रा जोमसोम हुँदै म्याग्दी र घाँसतर्फ जाने प्रक्षेपण गरिएको छ ।
वार्षिक तथ्यांकअनुसार मुस्ताङका पाँच पालिकामा हाल ६४ हजार ४०८ भेडाच्याङ्ग्र्र्र्रा र बाख्रा छन् । गत वर्ष भेडाच्याङ्ग्र्रा प्रतिगोटा २८ देखि ३५ हजार रुपियाँसम्ममा बिक्री भएको थियो । यस वर्ष पनि माग उच्च हुने अपेक्षा गरिएको छ । यससँगै मुस्ताङ भन्सार कार्यालयले आवश्यक प्रक्रिया पूरा भए तिब्बतबाट भेडाच्याङ्ग्र्रा आयात गर्न कुनै समस्या नहुने जनाएको छ । व्यापारीले चीनको क्वारेन्टाइन प्रमाणपत्र ल्याएपछि लोमान्थाङ गाउँपालिकाको पशु शाखाले स्वास्थ्य परीक्षण गरी भन्सारले राजस्व काट्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।
यसैबीच दशैं, तिहार र छठ पर्व लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भदौ ३० गतेदेखि देशभर १५१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका छन् ।
खाद्य कम्पनीले ४५ जिल्लाका १११ स्थानमा पसल सञ्चालन गर्नेछ भने साल्ट ट्रेडिङले देशभर न्यूनतम ४० स्थानमा बिक्री केन्द्र राख्नेछ । ती पसलमार्फत चामल, दाल, गहुँ, गेडागुडी, तेल, आटा, मैदा, चिउरा, नुन, चिनी लगायत उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराइनेछ ।
साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा मात्र कालीमाटी, जाउलाखेल, कोटेश्वर, कपन, बालाजुलगायत स्थानमा बिक्री केन्द्र सञ्चालन गर्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया