रसुवामा सिजनल भाइरलका बिरामी बढे

विदुर खबर २०७८ असोज २६ गते २१:४३

नुवाकोट । कोरोना भाइरसको महामारी केही मत्थर भए पनि रसुवामा सिजनल भाइरलका बिरामी बढेका छन् ।

Advertisement

जिल्लाका नवजात शिशुदेखि बृद्धबृद्धहरूसम्ममा सिजनल प्mलू देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । उनीहरूमा एन्टिजेनमार्फत गरिएको कोरोना परीक्षणमा भने नेगेटिभ पाइएको छ । जिल्लाको जिबजिबे ग्रामीण अस्पताल, रसुवा अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूमा सिजनल प्mलूका बिरामीहरू बढेका छन् । 

कडा खालको ज्वरो आउने, खोकी लाग्ने, निमोनिया देखिने, सास फेर्न गाह्रो हुने, घाँटी दुख्ने, बान्ता हुनेलगायत समस्या देखिएका बिरामीहरू आउने गरेको जिल्लाका स्वास्थ्य संस्थाहरूले बताएका छन् । यस्ता समस्या लिएर अस्पताल आउनेमा अधिकांश बालबालिका रहेको बताइएको छ । 

Advertisement

अस्पतालका डाक्टर कौशिक सापकोटाका अनुसार १७ दिनको शिशुसमेत सास फेर्न गाह्रो हुने, खोकी लाग्नेलगायतको समस्याले अस्पताल भर्ना भएका छन् । ती शिशुको तीन दिनदेखि अक्सिजन दिई उपचार भइरहेको उनले बताए । अहिले दुई वर्षसम्मका बालबालिका ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या देखिएको भन्दै अस्पतालमा आइरहेको उनले बताए ।  

जिबजिबे ग्रामीण अस्पताल जिबजिबेमा पनि कडा खालको ज्वरो तथा खोकी, निमोनियालगायतको समस्याका बिरामी आउने क्रम बढेको अस्पतालका हेल्थ असिस्टेन्ट उत्सव पौडेलले बताए । एक सय ४ डिग्रीदेखि एक सय ६ डिग्रीसम्म ज्वरोका बिरामीहरू आइरहेको उनले बताए । जसमा बालबालिका धेरै रहेको उनले जानकारी दिए । यस्ता समस्या देखिएका बालबालिका मात्रै दैनिक १५ जनाभन्दा बढी अस्पतालमा आइरहेको उनले बताए । अन्य व्यक्तिहरू भने दैनिक १० जनाभन्दा बढी आइरहेको उनको भनाइ छ । 

Advertisement

स्वास्थ्य समस्या देखिएका उनीहरूमा कोरोनाको परीक्षणको क्रममा भने नेगेटिभ आएको उनले बताए । ‘धेरै समस्या भएर आएका बच्चाहरूमा कोरोना भए नभएको एन्टिजेन परीक्षण गर्ने गरिएको छ तर नेगेटिभ आएको छ, समस्या देखिएकाहरूमा एक सातासम्म लगातार कडा ज्वरो, खोकीलगायतको समस्या देखिएको छ, समस्या लिएर अस्पताल आएकाहरूलाई औषधी दिएर पठाउने गरेका छौँ, निरन्तर समन्वय पनि गरिरहनुभएको हुन्छ, कडा ज्वरो, कडा खोकीलगायतको समस्या भएको एक–दुई दिनमा अस्पताल आउने गरेको पाइएको छ ।’ 
 
सिजलन प्mलू भाइरलका बिरामीहरूको अवस्था जटिल भए जिल्लामा उपकरण नहुँदा उपचारमा समस्या हुने रसुवा अस्पतालका डाक्टर सापकोटाले बताए । ‘सिजलन प्mलू भाइरसका लक्षण देखिएका बालबालिकामा धेरै गाह्रो भएको अवस्थामा रिफर गर्नुपर्ने हुन्छ, किनभने बालबालिकाको केस सेन्सेटिभ हुन्छ, धेरै गाह्रो भएको बच्चाहरू आउँदा जिल्लामा आइसियू छैन्, सिटिस्क्यान छैन यस्तो बच्चाहरूमा रेफर गर्नुपर्ने हुन्छ ।’ 

अहिले जिल्लामा श्वासप्रश्वासको नली खुलाउन प्रयोग हुने औषधीको अभाव रहेकोसमेत सापकोटाले बताए ।  जिल्लामा आइसियू, भेन्टिलेटरलगायतका अत्यावश्यक उपकरणको सुविधा नहुँदा जटिल प्रकृतिका बिरामीको उपचारका लागि जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ । 

प्रतिक्रिया