रसुवामा चिज उत्पादनमा बृद्धि

विदुर खबर २०७६ कार्तिक १३ गते १६:०४

रसुवा । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६, पाङ्लेखर्कमा रहेको चीज उत्पादन केन्द्रले चीज उत्पादन बढाउँदै लगेको छ । वार्षिक १० हजार केजी उत्पादन क्षमता रहेको केन्द्रले क्षमताभन्दा बढी चीज उत्पादन गर्दै आएको छ ।

Advertisement

केन्द्रका अनुसार यो वर्ष ११ हजार केजीभन्दा बढी चीज उत्पादन भएको छ । यो वर्ष ११ हजार ३ सय ८० केजी चीज र ३ हजार ९ सय ५३ केजी मखन उत्पादन भएको केन्द्रले जनाएको छ । यही अवधिमा गत वर्ष ११ हजार ६० केजी चीज र ३ हजार ८ सय ५८ केजी मख्खन उत्पादन गरेको थियो ।यो वर्ष ८७ लाख ५० हजार ५ सय ६५ रुपयाँ मूल्य बराबरको चीज तथा मखन उत्पादन भएको केन्द्र प्रमुख जीतबहादुर जिरेलले बताउनुभयो । गत वर्ष ६३ लाख २८ हजार २ सय ७७ रुपयाँ मूल्य बराबरको चीज तथा मखन उत्पादन गरेको थियो ।

चौरी पाल्ने कृषक बढ्दै गएको कारण उत्पादन पनि बढ्दै गएको उहाँको भनाइ छ । ‘उत्पादन क्षेत्रमा चौरी पाल्ने कृषक बढेका छन्’, उहाँले भन्नुभयो, ‘यसकारण दुध सङ्कलन पनि बढ्दै गएको छ ।’ पहिले कृषक आफैंले छुर्पी बनाएर बेच्थे । पछिल्लो समय केन्द्रले दुधको मूल्य बढाएका कारण वरिपरि रहेका सबै कृषकले केन्द्रलाई दुध उपलब्ध गराउँछन् । जिल्लामा पछिल्लो समय चीज उत्पादन केन्द्र समेत बढेको छ । पहिले चारवटा केन्द्र रहेकोमा अहिले सातवटा पुगेको छ । दुग्ध विकास संस्थानअन्तर्गत छवटा र निजी एउटा सञ्चालनमा छ ।

Advertisement

प्रतिक्रिया