प्रदर्शनकारी विमानस्थलमै छिरेपछि हङकङमा सबै उडान रद्द

विदुर खबर २०७६ साउन २७ गते १७:२१

Timure Yatayat Bus

Advertisement

एजेन्सी,हङकङमा सुपुर्दगीसम्बन्धी विधेयकविरुद्ध लामो समयदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारी हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा छिरेपछि सबै उडान रद्द गरिएका छन्।

चार दिनदेखि लगातार प्रदर्शन गरिरहेका प्रदर्शनकारी विमानस्थलको मुख्य टर्मिनलमा छिरेपछि विमानस्थलले सोमबारका सबै उडान रद्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विमानस्थल प्रशासन अधिकारीले आगमन र प्रस्थान उडान प्रदर्शनकारी विमानस्थलको आगमन कक्षमा प्रवेश गरेपछि रद्द गर्नुपरेको बताएका छन्। ‘प्रस्थानका लागि ‘चेक इन’ प्रक्रिया पूरा गरिसकेका र आगमनका लागि हङकङतर्फ उडिसकेका उडानबाहेक आजका सबै उडान रद्द गरिएको छ,’ विमानस्थल अधिकारीले आफ्नो वक्तव्यमा भनेका छन्।

Advertisement

हङकङ विमानस्थल संसारकै व्यस्त विमानस्थलमध्येमा पर्छ। सुपुर्दगीसम्बन्धी एउटा विधेयकलाई लिएर हङकङमा लामो समयदेखि विरोध प्रदर्शन चर्किएको छ। उक्त विधेयकका आलोचकहरूले कानुनमा गरिने परिवर्तनपछि हत्या र बलात्कारजस्ता आपराधिक आरोप लागेका अभियुक्त आफूसमक्ष सुपुर्दगी गर्न चीन, ताइवान र मकाउका अधिकारीहरूले आग्रह गर्न सक्ने भन्दै विरोध गरिरहेका छन्। हङकङका अधिकारीहरूले आन्दोलनकारीको मागअनुसार सुपुर्दगी गर्ने अनुमति दिने वा राजनीतिक वा धार्मिक अपराधका सन्दिग्धलाई सुपुर्दगी नगर्ने अन्तिम अधिकार हङकङको अदालतमा रहेको बताएका छन्।

सरकारले भने कम्तीमा ७ वर्षको जेल सजाय पाएर भागेकालाई मात्रै सुपुर्दगी गर्ने भन्दै सर्वसाधारणलाई आश्वस्त पार्न खोजेको छ। गत वर्षको फेब्रुअरीमा हङकङका १९ वर्षीय युवामाथि ताइवानमा बिदा मनाउन सँगै गएकी आफ्नी २० वर्षीया गर्भवती प्रेमिकाको हत्या गरेको अभियोगपछि कानुन संशोधनको उक्त प्रस्ताव आएको छ। ती युवा ताइवानबाट भागेर हङकङ फर्किएका थिए। ताइवानका अधिकारीहरूले उनलाई सुपुर्दगी गर्न हङकङका अधिकारीहरूलाई आग्रह गरेका थिए। तर, ताइवानसँगको सुपुर्दगी सम्झौताको अभावका कारण त्यसो गर्न नसकिने जवाफ हङकङका अधिकारीहरूको उठाएका थिए। कुनै बेला बेलायतको उपनिवेश रहेको हङकङ सन् १९९७ मा चीनलाई फिर्ता गरिएयता ‘एक देश दुई प्रणाली’को सिद्धान्तअन्तर्गत अर्धस्वायत्त छ।

Advertisement

प्रतिक्रिया