माथिल्लो त्रिशूली ‘थ्री बी’को निर्माण धमाधम

विदुर खबर २०७६ साउन २३ गते १२:४५
Timure Yatayat Bus
नुवाकोट, नुवाकोट  र रसुवामा निर्माणाधीन ३७ मेगावाटकोे माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत आयोजनाको काम धमाधम भइरहेको छ ।
३ वर्ष निर्माण अवधि रहेको आयोजनाको २०७७ साल फागुन २९ गते भित्र सक्ने लक्ष्यका साथ काम भइरहेको हो । निर्माण पूर्वका सम्पूर्ण तयारी पूरा गरी गत चैतबाट निर्माण सुरु भएको आयोजनाको अहिलेसम्म ३५ प्रतिशत काम सकिएको छ । आयोजनाको ३.८ किलोमिटर मुख्य सुरुङमध्ये ७२४ मिटर खनिएको छ । मुख्य सुरुङ चार ठाउँबाट खन्ने काम भइरहेको छ ।
नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत आयोजनाको क्यास्केड भएकाले त्रिशूली ‘थ्रि बी’ले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्नेछैन । थ्री ए’को विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजना निर्माण कार्यक्रममा चासो दिंदै नियमित रुपमा प्रगतिको जानकारी लिने गरेका छन् । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका अध्यक्ष कुलमान घिसिङले केही दिनअघि निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएका छन् । घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिसँग आयोजनास्थलमै छलफल गरी गुणस्तर र सुरक्षामा विशेष ध्यान दिंदै निर्धारित समयमै काम सक्न निर्देशन दिएका छन् । ‘जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सर्वसाधारणबाट पैसा उठाएर निर्माण अगाडि बढाएको यस आयोजनामा प्रधानमन्त्री, ऊर्जा मन्त्री लगायत सबैको निर्माण कहिले सकिन्छ भन्नेमा चासो छ । त्यसैले सबै पक्ष निर्माणमा गम्भीर भएर लाग्नु पर्छ’, उनले भने ।
जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, ऊर्जामन्त्री वर्षमान पुन लगायतको आयोजनामा २०–२० कित्ता सेयर छ । कम्पनीले सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता सेयर निष्कासन गर्दा प्रधानमन्त्री, ऊर्जा मन्त्रीलगायतले पनि खरिद गरेका थिए । सेयरको बाँडफाँट गर्दा प्रधानमन्त्री, उर्जामन्त्री लगायत आवेदन दिएकाले न्यूनतम २० र अधिकतम ३० कित्ता सेयर पाएका थिए ।

बर्खायाम सकिएपछि विद्युत गृह, सर्ज ट्याङ, पेनस्टक लगायतका संरचनाको निर्माण सुरु हुने त्रिशूली जलविद्युत कम्पनीका प्रवन्ध–संचालक मोहनप्रसाद गौतमले बताए । ‘पेन स्टक पाइप, गेट लगायतका हाइड्रोमेकानिकल र टर्वाइन, रनर, जेनरेटर लगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरुको उत्पादन सुरु भइसकेको छ’ गौतमले भने ।

Advertisement

इन्जिनियरिङ, खरिद तथा निर्माण (इपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग २०७४ माघ २९ मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार, ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण तथा जडान गर्नेछ ।

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०–३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहनेछ ।
Advertisement

अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड) बाट लगानी जुटाइएको छ । आयोजनाबाट सुख्खायाममा (मंसिर १६ देखि जेष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेष्ठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादन हुने विद्युत खरिद–बिक्रीका लागि प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेको छ । विद्युत् बिक्रीबाट वार्षिक करिब १ अर्ब ८९ करोड रुपैयाँ आम्दानी हुने गौतमले बताए । आयोजनाको विद्युत गृहबाट करिव ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली थ्रिबी हब सबस्टेसनमा विद्युत् जडान गरी राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ ।

Advertisement

प्रतिक्रिया