आज नाग पञ्चमी, किन टाँसिन्छ घरको ढोकामा नागको तस्बिर

विदुर खबर २०७६ साउन २० गते ८:०१

Timure Yatayat Busनुवाकोट, श्रावण शुक्ल पञ्चमीका अवसरमा आज नाग पञ्चमी मनाइँदै छ ।

Advertisement

प्रत्येक वर्ष श्रावण शुक्लपञ्चमीका दिन नागपञ्चमीलाई पर्वका रूपमा लिँदै नागलाई देवताका रूपमा पूजा गर्ने प्रचलन छ ।घरको मूलद्वारमा नागको चित्रमा दही, दूबो, लावासहित चन्दन, अक्षता, नैवेद्य, धुपदीप गरी विधिपूर्वक पूजा गर्ने चलन छ । यसरी घरघरमा नागका तस्बिर टाँस्नाले मेघ, सर्प र अग्निको भय नहुने विश्वास छ ।नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको पूजा आजकै दिन गरिन्छ । नागपञ्चमीका अवसरमा काठमाडौं नक्सालको नागपोखरी, कर्कोटक नागको वासस्थानका रूपमा परिचित काठमाडौंकै टौदह, ललितपुर धापाखेलको नागदह, भक्तपुरको सिद्धपोखरी, पनौतीलगायत मन्दिरहरूमा पूजा गर्न भक्तजन पुग्ने गर्दछन् । नाग जलस्रोतका संरक्षक हुन् । त्यति मात्र कहाँ हो र † घर, इनार, कुवा, पोखरी, बनाउँदा नागनागिनीको प्रतिमा राखी पूजा गर्ने चलन छ । नागको पूजाअर्चना गर्नाले सर्प र चट्याङको भय नहुने अनि देशमा सुख शान्ति एवं समृद्धिको वर्षा हुने पनि धार्मिक विश्वास छ । हिन्दू धर्ममा नागलाई सर्पहरूका राजा भनिन्छ ।

नागपञ्चमीमा त्यही नागहरूको आराधना गरिन्छ । नागलाई शिव र विष्णुका रूपमा पनि पूजा गर्ने गरिन्छ । आजको दिनदेखि वर्षायाम समाप्त भई हिउँद सुरु हुने विश्वास गरिन्छ । ज्योतिषशास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने सम्भावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिँदैन । नागपञ्चमीमा नाग देवताका निमित्त ब्रत लिने गरिन्छ । यस व्रतमा पुरै दिन व्रत बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर प्रसाद पकाई, त्यसलाई सर्वप्रथम नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी (भोग लगाई) प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्ने गरिन्छ ।

Advertisement

भविष्योत्तर पुराणमा उल्लेख भएअनुसार कुनै समयमा एक जना किसानको घरमा उसको दुईवटा छोरा र एउटी छोरी थिई । एक दिन त्यो किसानले खेतमा खनजोत गर्दा नागको तीनवटा बच्चा मरेकाले नाग देवता रिसाई किसानको घरमा गएर किसानसहित उसको परिवारलाई नै डस्यो तर उसकी छोरी छिमेकीको घरमा भएकीले बाँची । भोलिपल्ट किसानकी छोरीलाई पनि डस्न भनी जाँदा किसानको छोरीले नाग देवताको पूजा गरी दूध चढाई । त्यो देखेपछि नाग देवता प्रसन्न भएर किसानसहित उसको परिवारलाई बचाइदिएकाले यसै दिनदेखि नागपञ्चमी पर्व मनाउन थालिएको किम्वदन्ती छ । शिवले नागको माला लगाएका छन् भने विष्णु जलमाथि शेष नागको शøयामा नागको शिरको छाता ओढी सुतेका छन् । गणेशको एक हातमा नागवाण छ । कृष्णका दाजु बलराम र रामका भाइ लक्ष्मण शेषनागका अवतार भन्ने धर्मग्रन्थमा उल्लेख छ । कृष्णले बाल्यकालमै कालीय नागको दमन गरेको प्रसंग भागवत पुराणमा उल्लेख छ ।

बुद्धमूर्तिको शिरमा मुकुटका आकारको सर्पका आकृति छन् । जैन तीर्थङ्करहरूका शिरमा सर्पाकार मुकुट हुन्छन् । पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नाग कन्यासँग विवाह गरेका थिए । मत्स्येन्द्रनाथको घाटीमा कर्कोटक नागको माला छ । जुन घरमा नागको वास हुन्छ, त्यो घरमा लक्ष्मीको निवास हुन्छ भत्रे विश्वास गरिन्छ । नागको शिरमा बहुमूल्य मणि हुन्छ ।

Advertisement

प्रतिक्रिया