एनसेलविरुद्ध विप्वल माओवादी आक्रामक,३५ टावरमा आगजनी

विदुर खबर २०७६ साउन १७ गते ७:५७

Timure Yatayat Busनुवाकोट, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एनसेलविरुद्ध आक्रामक भएको छ। नेकपाका कार्यकर्ताले देशभरका विभिन्न २१ जिल्लामा एनसेलको टावरमा आक्रमण गरेका छन्।

Advertisement

आफ्नो दलका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाउनुको एउटा कारण एनसेल पनि भएकाले कारबाहीस्वरूप टावरमाथि आक्रमण गरेको विप्वल समूहका नेताले बताएका छन्। टावरमा बुधबार राति र बिहीबार बिहान भएको आक्रमणपछि कतिपय स्थानमा टेलिफोन सेवा अवरुद्ध भएको छ। नेकपाले भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ ओख्रेको डाँडाखर्कमा रहेको एनसेलको टावरको सोलार प्यानल तोडफोड गरेको छ।

विप्लवका सेती महाकाली ब्युरो सदस्य विपिनले एनसेलले सरकारलाई ७३ अर्ब रुपैयाँ कर नतिरेकाले ध्वस्त बनाउने नीति लिएको बताए। उनले पार्टीको केन्द्रीय सर्कुर अनुसार उनले देशैभर एनसेलका टावर ध्वस्त पार्ने चेतावनी दिए। ‘हामीले ‘नो ट्याक्स नो एनसेल’ अभियान सञ्चालन गरेका छौं। पहिलो चरणमा प्रचारात्मक रूपमा एनसेलका सिम जलाइयो। तर पनि एनसेलले कुनै चासो राखेन, अब उसको सबै नेटवर्क ध्वस्त पार्ने योजना छ’, विपिनले भने। उनले सुदूरपश्चिमभर १६ वटा टावर ध्वस्त पारिएको बताए।

Advertisement

विप्लवका एक केन्द्रीय सदस्यले ‘एनसेल टावरमा प्रतीकात्मक कारबाही गरिएको बताए। एनसेलमाथि जनताले कारबाही गरेका छन्। हामीमाथि प्रतिबन्ध लगाउनुको कारण पनि एनसेलमाथि कारबाही हुनु नै थियो।’ उनले करछली, मानव तस्करी, भ्रष्टाचार गर्नेलाई पार्टीले कारबाही गर्ने नीति लिएको बताए।

नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले बुधबार राति र बिहीबार बिहान मुलुकका विभिन्न जिल्लामा रहेका एनसेल टावरमाथि आक्रमण भएको बताए। उनले केही ठाउँमा विप्लव कार्यकर्ताले आगजनी गरेको पुष्टि भए पनि केही ठाउँमा भने पुष्टि भइनसकेको बताए। उनले भने, ‘भौतिक संरचना नष्ट गर्नेलाई पक्राउ गरी आवश्यक कारबाही गर्नेछौं।’

Advertisement

अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया