ठेकेदारको लावरवाहीले गेर्खुमा यातायात ठप्प, स्थानिय मर्कामा

विदुर खबर २०७६ साउन ९ गते १०:३०

गेर्खु । विदुर नगरपालिका वडा नम्बर १० र ११ को गेर्खुमा सडक निर्माणका कारण यातायातको साधन ठप्प भएको छ । यातायातका साधन ठप्प भएसँगै स्थनिय सर्वसाधारण मर्कामा परेका छन ।

Advertisement

विदुर नगरपालिकाको वडा नं १० फुलबारीदेखि वडा नं ११ को गेर्खु हुँदै सुर्यगढी गाउँपालिकाको बागेश्वरीसम्म जोड्न लागेको गेर्खु–चोगते सडकखण्डको निर्माणका कारण सडकको हरिविजोक अवस्था हुँदा वडा नम्बर १० को गेर्खुटार,गैरीखर्क,माझगाउँ वडा नम्बर ११ को गेर्खु, माझगेर्खु लगायतका स्थानमा यातायातका साधन ठप्प भएका छन । गाउँमा यातायातका साधन नचल्दा आफुहरु मर्कामा परेको वडा नम्बर ११ का राजन प्याकुरेलले जानकारी दिए । गाउँमा यातायातको साधन ठप्प हुँदा पुरै वडावासी नै प्रभावित भएको उनले बताए । सडकको अवस्था दयनिय भएपछि स्थानियवासी सडक निर्माण कम्पनिसँग रुष्ट भएका छन । २०७५ साल असार २२ गते सम्झौता भएको सडक निर्माणको लागि सम्झौता भएपनि निर्माण कम्पनिले सडकको संवेदनशीलतालाई ध्यान नदिएको गैरीखर्कका स्थानिय श्याम थापाले बताए । सो सडकको ठेक्का संघिय सांसद वहादुरसिंह लामको हिमडुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालिललाई परेको अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार जिल्ला कार्यान्वयन एकाई नुवाकोटले जनाएको छ । लामो समयदेखि सडक निर्माण हुन नसक्दा त्यहाँका स्थानियले ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य भएका छन ।

वडा नम्बर ११ मा बाटोको खराव अवस्थाको कारणले कोही विरामी परेको अवस्थामा समेत एम्बुलेन्स नै जाँनै नसकक्ने अवस्था छ । बाटोको नराम्रो अवस्थाको वारेमा निर्माण कम्पनिलाई जानकारी गराउँदा समेत सुनुवाई नभएको वडाअध्यक्ष तोयानाथ तिमिल्सेनाले बताए । सडक मर्मत संहारको लागि निरन्तर पहल गरिरहेको छु तर निर्माण कम्पनिले त्यति चासो दिएको छैन उनले भने । यसैविच गेर्खुटार र गेर्खुको बाटोको अवस्थाको विषयमा सामाजिक संजाल फेसबुकमा चर्काे विरोध भइरहेको छ । फेसबुकमा वडा नम्बर १० का वडाअध्यक्ष गणेश नेपाल र ११ का वडाअध्यक्ष तोयानाथ तिमिल्सेनासँग समेत स्थानियबासीलेसडक सुधारका लागि पहल नगरेको भन्दै असन्तुष्टि पोखेका छन । गेर्खुटार स्थानियवासीले एक महिनाअघि सडक सुधारको लागि ज्ञापनपत्र र मौखिक जानकारी गराउदा निर्माण कम्पनी बेवास्ता गरिरहेको छ ।

Advertisement

स्थानियवासीले बर्खा अगाडि नै ग्रावेल गरी हिडडुल गर्न सहज बनाईदिन आग्रह गरेपनि मागको सुनुवाई नभएको गेर्खुटारका रामप्रसाद प्याकुरेलले बताए । उनले गाउँमा रातोमाटो भएको र पानी परेपछी मोटर त परैको कुरो मानिस समेत हिड्न नसक्ने अवस्था रहेको बताए । सदरमुकाम विदुरबाट मात्र ५÷६ किलोमिटरको दुरीमा रहेको साविकको गेर्खु गाविस सडक संजाल राम्रो नभएकै कारणले विकट मानिएको छ । विना पुर्वाधार नगरपालिका बनेको यस क्षेत्रले नगरपालिका भएको महसुस समेत गर्न सकेको छैन । २४ महिनाको अवधिमा निर्माण सम्पन्न सक्नुपर्ने सो सडकको लागत २६ करोड ४५ लाख २ हजार २ सय ५३ रुपैयाँ ८९ पैसा रहेको छ ।

प्रतिक्रिया