नुवाकोटमा नियम मिच्दै नदी दोहन तिव्र, रमिते बन्दै प्रशासन

नुवाकोटमा ३६ वटा एक्साभेटरले राति नदीजन्य पदार्थ झिक्ने र उज्यालो भएपछि ती उपकरण लुकाउने गरिएको छ
नुवाकोट, नियमविपरीत नुवाकोटका नदी/खोलाको दोहन भइरहेको छ । नदीजन्य पदार्थ झिक्ने कार्य धमाधम भइरहेका छन् । त्रिशूली, तादी, लिखु, फलाखु, सलाखुलगायतका नदी र खोलामा स्काभेटर लगाएर ढुंगा, गिटी र बालुवा निकाल्ने कार्य भइरहेको हो ।
नवीकरण नभएका अवैध क्रसरले नदीजन्य पदार्थ उपकरण लगाएर झिकिरहेको छ । कतिपय स्थानमा दिउँसो मजदुर लगाएर झिक्ने र राति हेभी इक्विमेन्ट प्रयोग गरी सिधै नदीबाट बालुवा निकाल्ने गरेका छन् । जिल्ला अनुगमन तथा समन्वय समितिले मजदुरले बालुवा झिके तापनि झिकेकै स्थानमा गाडी लैजान निषेध गरिएको छ । तर, नदी किनारमै गाडीमा बालुवा लोड भइरहेको समितिले जनायो । समितिका प्रमुख तथा संयोजक सन्तमान तामाङले अवैध कार्य रोक्न बैठक डाकेर अघि बढ्ने बताए ।
बेलकोटगढी नगरपालिका ५ को कोल्पुखोला, सोही खोला र त्रिशूली बग्ने दोभान, केउरेनी, बेनपा ७ रातोमाटे, महादेवफाँट, काशीटारलगायत स्थानमा वडा १० को धनसारमा दिउँसो मजदुर र राति एक्जाभेटरले दोहन भइरहेको हो । त्यसैगरी, विनपा २ शेरा, ५ देवीघाट, ६ को चण्डीपोखरी, ८ को सामरी खोलामा पनि दोहन भइरहेको छ । किस्पाङ ५ मनकामना, सलाखु खोलालगायतमा दोहन जारी छ । यसैगरी एक्जाभेटर प्रयोग गरेर तादीखोला र लिखु खोलाको अधिकांश स्थानमा बालुवा झिक्ने कार्य भइरहेको छ । यहाँका नदीबाटबालुवा झिक्न बाहिर जिल्लाका ५ सय मजदुर खटिएका छन् ।
प्रतिक्रिया