शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका प्रमुख अर्जुन श्रेष्ठको चरम लापरवाही, कार्यालयमै विद्यालयका फाईल थन्कदा समेत वेखबर

विदुर खबर २०७६ साउन ५ गते १६:४८

नुवाकोट साउन ५, शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका प्रमुख अर्जुन श्रेष्ठको चरम लापरवाहकिा कारण नुवाकोटका विद्यालयहरु नमुना विद्यालयको रुपमा छनोट हुन असफल भएका छन । कार्यालयमै रहेको फाईलको विषयमा बेखबर रहेका श्रेष्ठको लापरवाहीले नुवाकोट ४ विद्यालयहरु मर्कामा परेका छन ।

विद्यालयको गुणस्तर सुधार गरी शिक्षामा रूपान्तरणको गतिलाई तीव्रता दिने उद्देश्यले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले गत असार २९ गते नमुना विद्यालय छनोट गरेर सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएको तथ्यांकअनुसार ६९ जिल्लाका विभिन्न स्थानीय तहका विद्यालयमध्ये ८४ वटा विद्यालय नमुना विद्यालयको रूपमा छनोटमा परेका छन्। तर नुवाकोटका एउटा पनि विद्यालय छनोटमा परेनन्, कारण विद्यालयले दिएको आवेदन शिक्षा विकास तथा समन्वय एकाइको कार्यालय विदुरमै थन्किनु।

नमुना विद्यालय सञ्चालनको आवश्यक पूर्वाधार रहेको भन्दै जिल्लाका चारवटा विद्यालयले आवश्यक कागजातसहितको फाइल शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयलाई बुझाएका थिए। सो फाइल शिक्षा विकास तथा समन्वय इकाइको कार्यालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा नबुझाइदिँदा आफ्नो विद्यालय छनोटबाट वञ्चित भएको भन्दै तादी गाउँपालिका–३ खरानीटारस्थित अमरज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र अधिकारीले दुःखेसो गरे। ‘नमुना विद्यालय छनोटमा पर्न तोकिएको मापदण्ड हाम्रो विद्यालयमा पर्याप्त थियो। त्यसैको आधारमा मागअनुसारका कागजात र निर्णयका प्रतिलिपि शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमा बुझाएका थियौं। तर कार्यालयले फाइल पेन्डिङमा राख्दा अन्यायको महसुस भएको छ,’ अधिकारीले भने, ‘अनुगमनका लागि केन्द्रबाट मान्छे आउला आउला भन्दाभन्दै नमुनामा परेका विद्यालय सार्वजनिक भयो। नुवाकोटका कुनै विद्यालयको नाम छैन। सोधखोज गर्दा थाहा भयो, हाम्रो कागजपत्र जिल्लामै रहेछ।’

तादीको अमरज्योतिसँगै विदुर नगरपालिकास्थित च्वाडी पब्लिक मावि, म्याघङ गाउँपालिकास्थित भूमेदेवी मावि र पञ्चकन्या गाउँपालिकास्थित कालिका माविले बुझाएको फाइल शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका तत्कालीन प्रमुख मदनकुमार थापाले प्रमाणित गरेका थिए।

समन्वय इकाइले प्रमाणित गरेको फाइल शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट अनुगमन गर्न आउँदा लैजाने भनेर जिल्लामा अड्किएको रहेछ र यसबारे खास जानकारी नभएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका प्रमुख अर्जुन श्रेष्ठले बताए।

‘मैले यताको पदभार सम्हालेको धेरै भएको छैन। जिल्लाका विद्यालय अनुगमन गर्न आउँदा फाइल लैजाने भन्ने जानकारी केन्द्रबाट आएकाले उता पेस नगरिएको भन्ने जानकारी छ,’ श्रेष्ठले भने, ‘कसको कहाँ कमजोरी भयो यसै भन्न सक्दिनँ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलसँग नमुना विद्यालय छनोटबारे बुझ्दा फाइल प्राप्त नभएका कारण अनुगमन गर्न नुवाकोट नआएको र नमुना विद्यालयको रूपमा छनोटमा पार्न नसकिएको भन्ने जानकारी दिएको विद्यालयहरूले जनाएका छन्।

Advertisement

 

प्रतिक्रिया