कोठी चलाउने वडाअध्यक्षलाई सफाइ, सिरिया र भारतमा चेली बेच्नेलाई २० वर्ष कैद

विदुर खबर २०७६ साउन २ गते ९:४७

नुवाकोट साउन २, मानव बेचबिखन गम्भीर अपराध हो। प्रमाण र साक्षी राखेर यस्ता कार्य नहुने भएकाले पीडितको बयान नै प्रमुख मानेर मुद्दा दायर हुनेदेखि अदालतले फैसला गर्ने गर्दछ।

Advertisement

मानव बेचबिखनका मुद्दाका अदालतले पनि अधिकत सजाय गर्ने गरेको छ। नेपालमा हुने मानव बेचबिखनमा  पछिल्ला दिनमा फरक शैली अवलम्बन हुँदै आएका छन्। पछिल्लो समयमा अफ्रिकादेखि चीन र कोरियासम्म नेपाली युवतीको तस्करी हुन थालेको छ।  पछिल्लो समय वैदेशिक रोजगारीका नाममा मानव तस्करी बढ्दै गइरहेको विभिन्न प्रतिवेदनले देखाएको छ। पहिला पहिला विवाह र कामको लोभ देखाएर भारतमा महिला बेचबिखन हुँदै आएको थियो।  तर पछिल्लो समयमा पासपोर्ट बनाएर अफ्रिकाको डान्सबारमा समेत नेपाली युवती बिक्री हुँदै आएको खुलासा हुदै आएको छ। मानव बेचबिखन यसरी विस्तार भईरहेको समयमा उच्च अदालतको दुई फैसला सार्वजनिक भएका छन्।  सोमबार र मंगलबार भएका दुई फैसला उच्च अदालतका ४ न्यायाधीशले गरेका हुन्।

भारतका विभिन्न ठाउँमा कोठीमा सञ्चालन गरेको आरोपमा तीन जना बेचिएका महिलाहरुको जाहेरी र बयानपछि मुद्दा लागेका नुवाकोटका वडाअध्यक्ष सुनबहादुर तमाङले सफाइ पाए।  जिल्ला अदालत नुवाकोटले तीन जना बेचबिखनमा परेका नेपाली युवतीको बयानका आधारमा ३७ वर्ष जेल सजाय हुने फैसला सुनाएको थियो। उच्च अदालतका न्यायाधीशद्वय रमेशबहादुर थापा र हरिप्रसाद केसीको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै तामाङलाई सफाइ दिने फैसला गरेको हो। उच्च अदालतले सोमबार सुनबहादुरलाई सफाइ दिँदै दाबी पुग्ने सजायसमेत स्थगित गर्न भनेको छ। जिल्ला अदालतको फैसलाविरुद्ध सुनबहादुरले २०७५ जेठ २४ गते उच्च अदालतमा पुनरावेदन गरेका थिए। उनीबाहेक सरकारी वकिलको तर्फबाट ३७ (नाम परिवर्तन) ले समेत पुनरावेदन गरेका थिए। उक्त पुनरावेदनमा कसैको पनि दाबी नपुग्ने फैसला उच्च अदालतले गरेको हो।

Advertisement

नुवाकोट जिल्ला अदालतले २०७४ चैत ७ गते सुनबहादुरलाई दोषी ठहर गर्दै ३७ वर्ष ६ महिना कैद र २ लाख ५० हजार जरिवाना हुने फैसला गरेको थियो। तामाङ नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ मा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष हुन्।

५३ सालमा चार महिलासहित पक्राउ गर्न खोज्दा फरार 

Advertisement

सुन बहादुर २०५३ सालमै ४ जना महिला भारत लैजादै गर्दा पक्राउ पर्नबाट बचेका थिए। नुवाकोटकै युवतीलाई झापाको काँकडभिट्टामा प्रहरी सोधपुछ गर्दा शंका लागेपछि नियन्त्रणमा लिएको थियो।  नुवाकोट घ्याङफेदीका ४ नेपाली युवतीलाई काँकडभिट्टा हुँदै भारत लैजाँदै गर्दा त्यसबेला नै उनीहरु प्रहरीको घेराबन्दीमा परेका थिए। सुनबहादुरसहित तीनजना प्रहरीको आँखा छलेर फरार हुन सफल भएका थिए। प्रहरीले सुनबहादुरको समुहका निमा लामा तामाङलाई पक्राउ गरेको थियो।

ती महिलाले सुनबहादुरले भारत लाने र राम्रो काम लगाई दिने भनेकाले जान लागेको बयान दिएका थिए। बयानपछि प्रहरीको अनुसन्धानमा सुनबहादुर बिक्री गर्ने दलाल मात्र नभई कोठी सञ्चालक नै रहेको निष्कर्षमा पुग्यो। भारतीय प्रहरीको सहयोगमा भएको अनुसन्धान सुनबहादुरको परिवार नै कोठी संचालनमा संलग्न रहेको निष्कर्ष निकालेको थियो। उनका श्रीमती र छोरासमेत यही काममा लागेको प्रहरीले पत्ता लगाएपछि अदालतको आदेशबाट निमा पुर्पक्षका लागि थुनामा गएका थिए। चार जनालाई बेचबिखनमा लाने प्रयास गरेको तर सिमा नकटाएको मुद्दामा नुवाकोट जिल्ला अदालतले २०६८  असोज २६ गते सुनबहादुरलाई ६ वर्ष कैद हुने फैसला सुनाएको थियो। जिल्ला अदालतको फैसला पनि केही समय उनी फरार नै रहे।

यही बीचमा नुवाकोट घ्याङफेदीकै बेचिएकामध्ये दुई युवती दिल्लीस्थित कोठीबाट भागेर नेपाल फर्के। उनीहरूले ०७१ जेठमा नुवाकोट जिल्ला प्रहरी कार्यालयमा सुनबहादुरबिरुद्ध उजुरी गरे। प्रहरीले उनलाई पक्राउ गर्‍यो। तर सुनबहादुर अदालतबाट पाँच लाख रुपैयाँ धरौटीमा छुटे। त्यसबेला उनले मुद्दा कमजोर बनाउन पीडितलाई अदालतमै उपस्थित हुन दिएका थिएनन्।सुनबहादुरले अदालतमा उपस्थित भए पीडितको परिवार नै समाप्त गर्नेसम्मको धम्की दिएका थिए। यसबीचमा उनी नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भए। २०७४ बैशाख ३० गते स्थानीय निकायको लागि भएको निर्वाचनमा उनले बडाअध्यक्षको टिकट पाए। उनी उक्त निर्वाचनमा विजयी हुन सफल भए।

वडा अध्यक्षको रुपमा निर्वाचित भएपछि पुन सुनबहादुर विरुद्ध २०७४ पुसमा थप पीडित महिलाले प्रहरीमा उजुरी गरे। गाउँमा राजनीतिक पहुँचको आधारमा धम्की दिदै आएपछि उनीहरुले सिआइबीमा उजुरी गरेका थिए। बेचविखन विरुद्ध काम गरिरहेका संघ संस्थाको सहयोगमा उनीहरुले प्रहरीकोमा उजुरी गरेका थिए। उक्त उजुरीपछि  उनलाई वडा कार्यालयबाटै सिबिआईको टोलीले पक्राउ गर्‍र्यो।  त्यसपछि उनी उच्च अदालत हुँदै सर्वोच्चसम्म धरौटीमा छुट्नका लागि शक्तिकेन्द्र धाए। सर्वोच्चले एक पटक उनलाई बाबु र बडा नम्वर फरक परेको भन्दै थुनामुक्त गर्न समेत आदेश दियो। सर्वोच्चको उक्त आदेशले छुटे लगत्तै उनी अर्को मुद्दाको फैसला कार्यान्वनयका लागि समातिए। जिल्ला अदालत नुवाकोटले ३७ वर्ष कैदको फैसला सुनाएपछि उनी रिहा भए।

जिल्ला अदालत नुवाकोटले तामाङसहित उनका सहयोगीहरु सोही स्थानका शुकमान लामालाई ३२ वर्ष तीन महिना २३ दिन कैद र टीकाराम तामाङलाई ३० वर्ष कैदसहित जनही रु दुई लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो।  तर उच्चले सुनबहादुरलाई सफाइ दिएको छ।  त्यस्तै मंगलबार उच्च अदालतले मानव बेचबिखनको अर्को एक मुद्दामा तीन प्रतिवादीलाई जनही २० वर्ष कैद र २ लाख क्षतिपुर्ति भराउने फैसला सुनाएको छ। उच्च अदालतका न्यायाधीशद्वय यज्ञराज भट्ट र टेकनारायण कुँवरको इजलासले ‘’सिस्ने हिमाल’’ (नाम परिर्वतन)लाई सिरिया र भारतमा बिक्री गर्ने कार्य गरेको अभियोगमा दोषी ठहर गरेका हो।  रुकुमकी उनलाई वैदेशिक रोजगारीका लागि सिरिया पठाउनु पर्नेमा बिक्री गरेका थिए। भारतको बाटो हुँदै सिरियामा यौन व्यवसायमा लगाएको र त्यहाँबाट फर्काएर भारतमा समेत यौन पेशामा जबर्जस्ती संलग्न गराएको भन्दै उच्चले अदालतले मानव बेचबिखन विरुद्धको ऐन अनुसार अधिकतम सजाय गरेको हो।

जिल्ला अदालतले सफाई दिएकासहित उच्चले ‘सिस्ने हिमाल’लाई बिक्री गर्ने श्यामलाल डंगोल,ज्ञानेन्द्र चनहरा र सुनिता मुरमुरलाई २० वर्ष र क्षतिपूर्ति भराउने फैसला सुनाएको हो।  उच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आएपछि सर्वोच्च पुनरावेदन गर्ने सरकारी बकिलले बताए। उच्च अदालतले सफाई दिएको जानकारीसम्म पाएको र त्यसको फैसला पाएपछि सर्वोच्चमा पुनरावेदनको लागि लेखी पठाउने उच्च अदालत सरकारी बकिल कार्यालयका एक अधिकृतले बताए।  मानव बेचविखन जस्तो गम्भीर मुद्दामा सफाई दिने भनी भएको फैसला सर्वोच्चबाटै किनारा हुनुपर्ने उनको तर्क छ।

प्रतिक्रिया