धादिङमा सिमेन्ट उद्योग स्थापना, दैनिक ३० हजार टन सिमेन्ट उत्पादन गर्ने

विदुर खबर २०७६ असार २१ गते १४:००
फाईल फोटो

                                                                                                     फाईल फोटो

नुवाकोट असार २१, उद्योगहरु स्थापनासँगै बिक्री मूल्यमा कमी आउँदै गर्दा राजधानीको छिमेकी जिल्ला धादिङमा ठूलो परिमाणमा सिमेन्ट उत्पादन गर्ने गरी हुवासिन सिमेन्ट उद्योग स्थापनाको काम तीब्र भएको छ ।

Advertisement

धादिङको मलेखु बजारदेखि ११ किलोमीटर दक्षिण तर्फ खोला किनारको पानी खर्क क्षेत्रमा सिमेन्ट उद्योगले आफ्नो पुर्वाधार निर्माण गरिरहेको छ । उद्योगको लागि मलेखु खोला किनार हुँदै चौडा बाटो निर्माण लगभग सकिएको छ भने सोही बाटो हुँदै उद्योगको पुर्वाधारका लागि सामग्री ढुवानी गर्ने ठूला ट्रक र कन्टेनरहरु ओहोर दोहोर गर्दा गजुरी र बेनिघाट रोराङ गाउँपालिकाका छिमेकी बस्तिहरुमा पनि आर्थिक कृयाकलाप तीब्र हुन थालेको छ । चीनको हुवासिन समूहले नेपालका ब्यवसायी सुरज बैद्यलगायतसँग मिलेर उद्योग स्थापना गरिरहेको हो । दैनिक ३० हजार टन सिमेन्ट उत्पादन गर्ने उद्योगमा हुवासिनले १४ अर्ब ४० करोड रुपैयाँ लगानी गर्दैछ । उद्योगले स्थानीयबासीसहित गरी एक हजार जनालाई रोजगारी उपलब्ध गराउने लक्ष्य लिएको छ ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको बेला २०७५ सालको असार ६ गते बेईजिड.मा लगानी बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारी र हुवासिज समूहका अध्यक्ष सु गाड.ले सम्झौता हस्ताक्षर गरेका थिए । उद्योगको मुख्य संरचना निर्माणस्थल आसपास धादिड. र मकवानपुर क्षेत्रमा बर्षौसम्मलाई पुग्ने गुणस्तरीय चुनढुंगा रहेकाले यसबाट उत्पादन हुने सिमेन्ट गुणस्तरीय हुने बताईएको छ । राजधानी काठमाडौबाट ८० किलोमीटरको दुरीमा रहेको यस उद्योगले प्रदेश नम्बर ३ को पुर्वाधार निर्माणमा गुणस्तरीय सिमेन्ट सस्तो मूल्यमा उपलब्ध गराउने अपेक्षा गरिएको छ । मलेखु खोला हुँदै चितवनको भण्डारा निस्कने चेपाड. मार्ग समेत निर्माणको चरणमा रहेकाले छोटो बाटोबाट सिमेन्ट चितवन निकासी गर्ने संभावना पनि रहेको छ । उद्योगले यस बर्षको अन्त्यसम्ममा सिमेन्ट उत्पादन थाल्ने लक्ष्य लिएको छ ।

Advertisement

उद्योग निर्माणका लागि अहिले स्थानीयहरुले धेरै रोजगारी पाएका छैनन्, अधिकांश निर्माण मजदुरहरु पश्चिम तराईका छन् तर उद्योगले हालै ३० जना चालकसहित २ सय ४ जना नयाँ कर्मचारी मागेकाले स्थानीयले अवसर पाउने आशा गरिएको छ । कम्पनीले माद्यामिक तहदेखि स्नातकोत्तर गरेका कर्मचारीहरु मागेको छ र चिनियाँ भाषा जान्नेलाई प्राथमिकतामा राखेको छ । बन्दै गरेको उद्योगले स्थानीय जनतामा नौलो उत्साह जगाएको पाईएको छ । बेनिघाट रोराड.का दल बहादुर लामा भन्छन्, पहिले विहानै उठेर मलेखुमा माछा सुकाउँन जानु पर्दथ्यो, अहिले त उद्योगमै काम पाईएको छ, हामीलाई धेरै राम्रो भएको छ । त्रिशुली नदीमा माछा पाईन छाडेको र यहाँ मारिने माछा स्थानीयहरु आफैले खान उपयोग गरिने हुँदा राजमार्गमा यात्रा गर्नेहरुको माग धान्न भारतबाट ल्याईएका माछा बेचिने गरेको बताईन्छ । यसरी माछा ब्यापार गर्दै आएकाहरु सिमेन्ट उद्योेगसँग सम्बन्धित ब्यवसाय र रोजगारीतर्फ लाग्दा फाईदा हुने देखेर पेशा बदल्न थालेका छन् । उद्योग आसपास पसल ब्यवसाय गर्ने र कृषि उत्पादन बढाउने कृयाकलापहरु पनि फैलिन थालेका छन् । स्थानीय बुद्ध सार्कीले आफुहरुका लागि यसभन्दा अघि सबैभन्दा ठूलो समस्या बाटोको रहेकोमा अब उद्योग नै आएर फराकिलो बाटो बनाईदिएकाले तरकारी उत्पादन गरी राजधानी ढुवानी गर्न र अरु ब्यवसाय गर्न सजिलो भएको बताए । तर बाटोको उपयोग र उद्योगबाट हुने लाभको बिषयलाई लिएर गजुरी र बेनिघाट रोराङ. तर्फका स्थानीयहरुहरुमा मतभेद भने बेला ( बेलामा देखिने गरेको बताईन्छ ।

प्रतिक्रिया